‘काठमाडौंबाट रित्तो हात फर्किए वारपारको लडाइँ’

‘काठमाडौंबाट रित्तो हात फर्किए वारपारको लडाइँ’


ttt

संविधानमा असन्तुष्टि जनाउँदै आन्दोलनरत मधेसी मोर्चाले गरेको रिले अनशन जायज भएको नेपाली काङ्ग्रेसका नेता विमलेन्द्र निधिले बताइरहेकै बेला सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतोले ठीक विपरीत अभिव्यक्ति दिएका छन् । सङ्घीय गठबन्धनले शुरु गरेको रिले अनशनबाट मधेसीले अधिकार नपाउने उनको दाबी छ ।

‘माग पूरा गराउन शान्तिपूर्ण रिले अनशन बस्नु अधिकार नै हो, यसमा टिप्पणी गर्नुहुँदैन,’ नेता निधिको कथन छ । आन्दोलनरत पक्षले उठाएका सीमाङ्कन, जनसङ्ख्याको आधारमा निर्वाचन र नागरिकतालगायतको विषयमा सहमति खोज्न आफ्नो पार्टी नेपाली काङ्ग्रेसले पटक–पटक तदारुकता लिए पनि एमाले पार्टी बाधक भएको आरोप उनी लगाउँछन् । समस्याको निकास खोज्न सरकार जिम्मेवार नभएकाले गम्भीरता अपनाउनुपर्ने धारणा उनको छ । आन्दोलनकारीको माग जायज भए पनि यसबारे एमाले अध्यक्ष एवम् प्रधानमन्त्री खड्गप्रसाद ओलीको जिद्दीपन समाधानको बाधक बनेको नेता निधिले एक साक्षात्कारका क्रममा बताए । सो क्रममा उनले गठबन्धनले गरेको रिले अनशनको महत्त्व रहेको दाबी गरे ।

तर, आफूलाई मधेसी आन्दोलनको एक प्रखर, प्रमुख र अहम् नेता रहेको दाबी गर्ने महतोले सरकारको नियतमा नै बेइमानी रहेकाले जति दिन अनशन गरे पनि मधेसीको खोसिएको अधिकार सम्बोधन हुन नसक्ने ठोकुवा गरेका छन् । सभ्य सरकारले मात्रै अनशनको भाषा बुझ्ने र ओली सरकार सभ्य प्रकृतिको नभएकाले अनशन निस्फल हुने उनको तर्क छ । महतो भन्छन्, ‘मधेसीले आफ्नो अधिकारका लागि फेरि मधेसमै आन्दोलन गर्नुपर्ने अवस्थाको सिर्जना हुँदै छ ।’ फेरि पनि काठमाडौंबाट रित्तो हात मधेस फर्कनुपर्‍यो भने वारपारको लडाइँ अन्तिम र निर्णायक हुने चेतावनीसमेत उनले दिएका छन् ।