रुपन्देहीमा राजदूतको स्वागत

रुपन्देहीमा राजदूतको स्वागत


8 PR Rupandehi

सिद्धार्थनगर (रुपन्देही) स्थित प्रतिमान–नीमा मेमोरियल भोकेसनल ट्रेनिङ इन्स्टिच्युटको नवनिर्मित क्याम्पस भवनको श्रम, रोजगार एवम् वाणिज्यमन्त्री दीपक बोहरा र नेपालका लागि भारतीय राजदूत रनजित रायले एक भव्य समारोहबीच संयुक्त रूपमा उद्घाटन गरेका छन् । उक्त भवन छिमेकी मित्रराष्ट्र भारतको चार करोड ४३ लाख पचास हजार आर्थिक सहयोगमा निर्माण भएको हो । अठार कोठासहितको दुईतले उक्त भवनमा रिसेप्सन, पुस्तकालय हल, भिजिटर रुमका साथै पुरुष र महिलाका निम्ति अलग–अलग शौचालयलगायतको सुविधा रहेको छ ।

नेपालका प्रजातन्त्र सेनानी प्रतिमानचन्द्र बोहराको सम्झनामा गैरनाफामूलक संस्थाको रूपमा प्रतिमान–नीमा मेमोरियल भोकेसनल ट्रेनिङ इन्स्टिच्युट स्थापना भएको हो । इन्स्टिच्युटले सीटीईभीटीसँगको सहकार्यमा ल्याब–टेक्निसियन, ल्याब–असिस्टेन्टका कोर्सहरू सञ्चालन गर्दै आएको छ । क्याम्पसको नवनिर्मित भवनले पढाइ–सिकाई एवम् विद्यार्थीको क्षमता अभिवृद्धिमा अहम् योगदान पुग्ने सरोकारवालाहरूको विश्वास छ ।

प्रतिमान–नीमा मेमोरियल भोकेसनल ट्रेनिङ इन्स्टिच्युटको उद्घाटन भएकै दिन राजदूत रायले रुपन्देहीको भगवापुरमा एक करोड सात लाख सत्तरी हजार भारतीय सहयोगमा निर्मित ग्रामीण विद्युतीकरण कार्य (सातवटा ट्रान्सफर्मर, तीन सय एकतीसवटा पोललगायत)को पनि उद्घाटन गर्नुभयो । यसबाट सो गाविसका सात गाउँमा विद्युत् प्रसारणमा सहजता आई गाउँ उज्यालो हुने भएको छ । उद्घाटन समारोहमा स्थानीयले राजदूत रायको भव्य स्वागत गरेका थिए ।

यसैबीच हुम्लास्थित श्री सरस्वती माध्यामिक विद्यालयको भवनपरिसरमा एक पुस्तकालय भवन निर्माणका लागि मित्रराष्ट्र भारतले दुई करोड पन्ध्र लाख आर्थिक अनुदान उपलब्ध गराउने भएको छ । दूतावासका प्रथम सचिव प्रणय गणेश र हुम्लाका स्थानीय विकास अधिकारी बलदेव जोशीबीच सहयोग आदानप्रदानसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । भारत–नेपाल आर्थिक सहयोग कार्यक्रमअन्तर्गत साना विकास परियोजनाका लागि मित्रराष्ट्र भारतबाट उक्त सहयोग उपलब्ध हुन लागेको हो ।

अत्यन्त दुर्गम जिल्लाका रूपमा परिचित हुम्लाका सीमान्तकृत नागरिकले भोग्दै आएको अशिक्षाको दूरवस्थाबाट मुक्तिका लागि पुस्तकालय भवन निर्माणले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ । हुम्लामा भारत सरकारको सहयोगमा निर्माण हुन लागेको यो पहिलो परियोजना हो । भावी दिनमा यस जिल्लाका लागि अन्य विभिन्न परियोजना सञ्चालन गरी नेपाल सरकारलाई सहयोग गर्न भारत सरकार तयार रहेको पनि बताइएको छ ।