कांग्रेसमा तत्काल पदाधिकारी चयन नहुने

कांग्रेसमा तत्काल पदाधिकारी चयन नहुने


सङ्गठन सुदृढीकरणमा सभापति केन्द्रित

Deuwa 2jpg

नेपाली कांग्रेस सत्ताको खेलबाट मुक्तप्राय: रहँदै आन्तरिक सङ्गठन सुदृढीकरणमा केन्द्रित भएको छ । गत वैशाखमा सरकार परिवर्तन गर्न भएको प्रयास प्रचण्डले धोखा दिएका कारण सफल नभएपछि सभापति शेरबहादुर देउवा सङ्गठन सबलीकरणमा केन्द्रित हुनुभएको हो । उहाँ यतिबेला रिक्त केन्द्रीय सदस्यको पदपूर्ति र भ्रातृ सङ्गठनहरूको सम्मेलन गरी नेतृत्व चयन गराउन लागिपर्नुभएको छ । यसबीचमा देउवाले थप तीन केन्द्रीय सदस्यहरू नियुक्त गरिसक्नुभएको छ भने बाँकी एघार सदस्य नियुक्तिका निम्ति गृहकार्यमा जुट्नुभएको छ । आगामी एक महिनाभित्र केन्द्रीय समितिलाई पूर्णता दिएपछि मात्र देउवाले पदाधिकारी चयन गर्नुहुने बुझिएको छ ।

मनोनयनद्वारा पूर्ति गर्नुपर्ने उपसभापति, महामन्त्री र सहमहामन्त्रीको चयन गर्न सभापति देउवाले अझै केही समय लिनुहुने भएको छ । प्राप्त जानकारीअनुसार देउवाले आगामी तीन महिनाभित्रै पार्टीको पदाधिकारी चयन गर्नुहुने बताइएको छ । पदाधिकारीमा नेताहरू खुमबहादुर खड्का, विमलेन्द्र निधि, पूर्णबहादुर खड्का, गोपालमान श्रेष्ठ, डा. प्रकाशशरण महत, ज्ञानेन्द्रबहादुर कार्की र बालकृष्ण खाणमध्येबाट चयन हुनसक्ने सम्भावना छ । पदाधिकारी नियुक्त गर्दा पार्टीभित्रको अर्को पक्षलाई पनि स्थान दिइनुपर्ने धारणा कतिपयले अगाडि सारेका छन् । पहिले सुशील कोइराला सभापति रहँदा पूर्णबहादुर खड्कालाई सहमहामन्त्री चयन गरेर अर्को पक्षलाई पनि समेटेको हुनाले देउवाबाट पनि त्यस्तै व्यवहार हुनुपर्ने उनीहरूको तर्क छ । तर, बाह्रौँ महाधिवेशनमा सभापति र महामन्त्री पदमा कोइराला पक्ष विजयी भएकोले देउवा पक्षलाई समेत पदाधिकारी बनाएर समेट्नुपर्ने अवस्था थियो । तेह्रौँ महाधिवेशनमा तीन पदाधिकारीका निम्ति भएको निर्वाचनमा महामन्त्री र कोषाध्यक्ष कोइराला पक्षबाट नै निर्वाचित भएको हुँदा नेतृत्वमा दुवै पक्ष स्वत: समेटिएका छन् । त्यसैले कोइराला पक्षलाई समेट्न देउवाले विशेष चिन्ता लिनुपर्ने अवस्था नरहेको ठानिन्छ । यस्तो अवस्थामा सभापति देउवा पदाधिकारी चयन गर्न ज्यादा स्वतन्त्र रहनुभएको छ । महाधिवेशनले नै अर्को पक्षलाई समेटिसकेको हुनाले पदाधिकारी नियुक्त गर्न देउवालाई सहज परिस्थिति निर्माण भएको हो ।

केन्द्रीय समितिको बाँकी एघार सदस्य नियुक्त गर्दा सकेसम्म निर्वाचनमा उम्मेदवार बनेर पराजित भएकाहरूलाई प्राथमिकता नदिइने भएको छ । तर, पद्मनारायण चौधरी र महालक्ष्मी डिना उपाध्यायलाई समेट्ने बाध्यतामा भने देउवा रहनुभएको बुझिन्छ । बाँकी सदस्यहरूमा विभिन्न क्षेत्रका अनुभवप्राप्त व्यक्ति तथा पिछडिएको समुदायका व्यक्तिलाई प्राथमिकता दिने सोच देउवाले बनाउनुभएको छ । यसबाहेक पार्टी काममा योगदान पुर्‍याउन सक्ने जुझारु व्यक्तिलाई प्राथमिकता दिने मानसिकतामा देउवा रहनुभएको छ । केन्द्रीय समितिमा समेट्नुपर्ने कतिपयलाई एघारजनाभित्र पार्न नसकिएको अवस्थामा तत्काल महासमितिको बैठक बोलाएर विधान संशोधन गरी सङ्ख्या थप गर्ने सोच पनि देउवाले बनाउनुभएको छ । हाल कांग्रेसको केन्द्रीय समिति पचासीजनाको रहेको छ । समितिको आकार बढाउनुपर्ने आवश्यकता बोध कांग्रेस नेतृत्वले गरिसकेको छ र कम्तीमा ११५ देखि बढीमा १३५ सदस्यीय केन्द्रीय कार्यसमिति निर्माण गर्नेबारे नेतृत्वमा छलफलसमेत भइसकेको बताइन्छ । यस आधारमा निकट भविष्यमै केन्द्रीय समितिमा तीसदेखि पचासजनासम्म अटाउने गरी समितिको आकार बढाइन सक्ने सम्भावना देखिएको छ ।