तमलोपाको नेतृत्व पुनः महन्थकै काँधमा

तमलोपाको नेतृत्व पुनः महन्थकै काँधमा


Mahantha

तराई–मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)को प्रथम राष्ट्रिय महाधिवेशनमा भएको निर्वाचन प्रक्रियाबाट पार्टीको नेतृत्वका लागि पुनः महन्थ ठाकुर नै अध्यक्ष चयन हुनुभएको छ । निर्वाचन समितिका अनुसार बुधबार भएको निर्वाचन प्रक्रियामा मनोनयन पत्र दर्ताको क्रममा अध्यक्ष पदमा ठाकुरको मात्र उम्मेदवारी दर्ता भएपछि आगामी नेतृत्व लिन ठाकुर एकल दावेदार हुनुभएको हो । पार्टीको पदाधिकारीतर्फ अहिलेसम्म अध्यक्ष ठाकुरसहित वरिष्ठ उपाध्यक्ष हृदेश त्रिपाठी, उपाध्यक्षमा वृजेशचन्द्र लाल निर्विरोध चयन हुनुभएको निर्वाचन समितिले जनाएको छ ।

बताइएअनुसार अहिलेसम्म एकजना अपाङ्गतातर्फको सदस्य, तीन जना दलिततर्फको सदस्य, चार जना मुस्लिमतर्फको सदस्य र पाँच जना आदिवासी जनजाति सदस्य निर्विरोध भएका छन् । पार्टीको अन्य पदाधिकारी र सदस्यहरु चयनको प्रक्रिया जारी छ रहेको बुझिएको छ ।

निर्वाचन हुने दुई महामन्त्री पदका लागि छ जना, एक कोषाध्यक्षका लागि तीन जना, दुई सहमहामन्त्रीका लागि १२ जनाको उम्मेदावारी परेको छ भने ३१ जना खुल्ला केन्द्रीय सदस्यका लागि ५० जनाको उम्मेवारी दर्ता भएको निर्वाचन समितिले जनाएको छ । तमलोपाले पार्टीको निर्वाचनअन्तर्गत पार्टीका सबै पदाधिकारी प्रत्यक्ष निर्वाचन पद्धतिबाट चुन्न लागेको छ । यसपटक निर्वाचित र मनोनित गरी ७५ सदस्यीय केन्द्रीय कार्य समिति चयन हुँदैछ ।