नेपाल भारत सम्बन्धलाई सन्तुलित तुल्याउन आग्रह

नेपाल भारत सम्बन्धलाई सन्तुलित तुल्याउन आग्रह


Dipkumar Upadhya

भारतका लागि पूर्व नेपाली राजदूत दीपकुमार उपाध्यायले नेपालले सबै दलको सहमतिमा छिटो परराष्ट्र नीति बनाएर अघि बढ्नुपर्ने बताउनुभएको छ । राजधानीमा आयोजित एक साक्षात्कारमा उहाँले कूटनीतिक सम्बन्धलाई सन्तुलित गरी नेपाललाई फाइदा हुने विदेश नीति ल्याउन सकेमा देशलाई लाभ हुने बताउनुभयो ।

लामो समयदेखि भारतसँगको धार्मिक, सांस्कृतिक तथा सहयोग आदानप्रदानको सम्बन्धका कारण दुई देशको मैत्री सम्बन्धलाई जनस्तरमा विस्तार गर्नुपर्नेमा जोड दिँदै उहाँले प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणपछि नेपाल र भारतको सम्बन्ध सुधारोन्मुख बन्दै गएको तर्क गर्नुभयो । भारतले नेपाललाई नजिकको छिमेकी राष्ट्रका रुपमा प्राथमिकता दिएको भन्दै एकै वर्ष दुईपटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाँच पटक विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमण भएको सन्दर्भ स्मरण गराउनुभयो ।

सोही कार्यक्रममा नेकपा (एमाले) का डा राजन भट्टराईले नेपाल–भारत सम्बन्धलाई समयसापेक्ष सुधार गरेर जानुपर्नेमा जोड दिँदै दुई मुलुकबीच अहिले सम्बन्ध राम्रो बन्दै गएको र दुवै देशका राष्ट्रपतिको एक अर्को देशमा भ्रमण गराउने गरी तयारी सुरु भइसकेको बताउनुभयो । उहाँले पछिल्लो समयमा दुई पक्षीय प्रशासनिक संयन्त्रको बैठक नियमितजसो भइरहेका कारणले हिजो सम्बन्धमा उत्पन्न समस्या कम हुँदै गएको बताउँदै दुवै देशलाई एकापसमा राम्रो सम्बन्धले फाइदा पु¥याउने र अबको सम्बन्ध २१औँ शताब्दीको उचाइमा कायम हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।