गोर्खा लाहुरेको झल्को दिने सालिक स्थापना

गोर्खा लाहुरेको झल्को दिने सालिक स्थापना


बुटवलमा लाहुरेको मुर्ति

बुटवल उपमहानगरपालिका–१५ नयाँगाउँ सालघारी चोकमा लाहुरेको झल्को दिलाउने गोर्खा सैनिकको पूर्णकदको प्रतिमा स्थापना गरिएको छ । पूर्वगोर्खासैनिकहरूको बाहुल्य रहेको सो क्षेत्रमा गोर्खा सैनिकको भूमिका स्मरण गराइराख्न र तिनको सम्मानार्थ सालिक स्थापना गरिएको हो । विश्वको इतिहासमा गोर्खा सैनिकले खेलेको बलिदानीपूर्ण भूमिका एवम् साहसिक नेपालीका गौरव र शानलाई उँचो राख्न सो मूर्ति निर्माण गरिएको नेपाल भूपू सैनिक सालघारी समाजले जनाएको छ ।
वरिष्ठ मूर्तिकार गोविन्द चौधरीले महिनौँ लगाएर एउटै ढुङ्गालाई कुँदेर बनाएको सो पूर्णकदको प्रस्तर मूर्ति नेपालका सम्पूर्ण भूपू सैनिक र तिनका परिवारलाई गौरवान्वित बनाएको पनि समाजले बताएको छ । करिब तीन लाख रुपैयाँको लागतमा सम्पन्न सो सालिकको भूपू सैनिक सालघारी समाजका संस्थापक वरिष्ठ समाजसेवी सुवेदार मानसिंह थापाले एक समारोहबीच उद्घाटन गरेका थिए ।

सो अवसरमा थापाले वीर गोर्खालीको नामले आफ्नो पहिचान बनाउन सफल नेपालीको योगदानलाई कदर गर्नर्ुपर्ने कुरामा जोड दिए भने सालघारी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष हितमान पुन, सैनिकपथ मर्मत समितिका अध्यक्ष बलबहादुर थापा, भारतीय पेन्सन क्याम्प फूलबारी बुटवलका सेक्रेटरी पदम जिसी, नेपाल मगर सङ्घका इकाइ अध्यक्ष दलबहादुर थापा, समाजसेवी विष्णुप्रसाद थापा, मूर्तिकार गोविन्द चौधरीलगायतले गोर्खा सैनिक, तिनका परिवार र भूपूसैनिकहरूले समाज निर्माणमा खेलेको भूमिकाबारे चर्चा गरेका थिए । समाजका अध्यक्ष खेमानसिंह काउचाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमबीच मूर्तिकार चौधरीलाई सम्मान गरिएको थियो ।
– चन्द्रकान्त खनाल