डलरको बलमा धर्मनिरपेक्षता लादिएको खुलासा

डलरको बलमा धर्मनिरपेक्षता लादिएको खुलासा


Bharat 555

नेपाली काङ्ग्रेसका महामन्त्री डा. शशांक कोइरालाले पचासी प्रतिशत नेपाली जनताको सुझाव लत्याउँदै केही नेताहरूले डलरको आडमा हिन्दुराष्ट्रविरुद्ध अडान लिएर संविधानमा धर्मनिरपेक्षता लादेको धारणा व्यक्त गर्नुभएको छ । जनताले हिन्दुराष्ट्रको पक्षमा दिएको सुझावलाई दबाएर जबर्जस्ती संविधान घोषणा गरिएको उहाँको कथन छ । नेपाली काङ्ग्रेसले अन्तिम समयसम्म जनताको भावनाअनुसार अडान लिए पनि कम्युनिष्टहरूले नमानेका कारण यस्तो अवस्था आएको उहाँले बताउनुभयो ।

छिमेकी मुलुक भारतको भोपालमा आयोजित नेपाली जनसम्पर्क समिति (भारत)को केन्द्रीय बैठक तथा प्रशिक्षण कार्यक्रममा मुख्य अतिथिका रूपमा गत साता सहभागी हुनुभएका नेता कोइरालाले भारत र चीन नेपालका घनिष्ठ मित्रराष्ट्र रहेको उल्लेख गर्दै दुबै छिमेकीसँग पारस्परिक मित्रता बढाएर अघि बढ्नुपर्नेमा ओली नेतृत्वको सरकारले उल्टो कदम चालेको टिप्पणी गर्नुभयो । बीपी कोइरालाले ०१६ सालमै महात्मा गान्धी र माओत्से तुङ जस्ता नेतासँग सौहाद्र्ध सम्बन्ध स्थापित गरी समाजवादी चिन्तन लागू गर्नुभएको भन्दै उहाँले प्रधानमन्त्री ओलीले जथाभावी अभिव्यक्ति दिएर छिमेकीहरूसँगको सम्बन्ध नै खल्बल्याउन खोजेको आरोप लगाउनुभयो । सरकारले हालै प्रस्तुत गरेको बजेट अस्वाभाविक रहेको टिप्पणी गर्दै उहाँले ओली सरकारका कदमहरूको खुलेर आलोचना गर्नुभयो । नेता शशांकले नेपाली जनसम्पर्क समितिका केन्द्र, क्षेत्र र आमन्त्रित प्रतिनिधिहरूलाई प्रशिक्षणसमेत दिनुभएको थियो ।

यस्तै, नेपाली जनसम्पर्क समिति (भारत) र मध्यभारत क्षेत्रले आयोजना गरेको विशेष खुल्ला सभामा केन्द्रीय अध्यक्ष बालकृष्ण पाण्डे र महामन्त्री नारायण भुसाललगायत भारतभरका राज्यमा रहेका केन्द्रीय पदाधिकारीहरूको ठूलो उपस्थिति रहेको थियो । मध्यभारत क्षेत्रका अध्यक्ष नरनारायन पन्तको अधयक्षतामा भएको खुल्ला सभालाई सम्बोधन गर्दै महामन्त्री कोइरालाले प्रवासमा रहेका नेपालीप्रति गर्व गर्दै हरेक लोकतान्त्रिक आन्दोलनमा प्रवासी नेपालीको ठूलो भूमिका रहेको स्मरण गर्नुभयो । प्रवासमा हुने अत्याचार, दमन, शोषण, हत्या–हिंसा र नारी बेचबिखनविरुद्ध नेपाली जनसम्पर्क समिति भारतको हरेक सकरात्मक कदममा आफूले पूर्ण साथ दिने प्रतिबद्धता जनाउँदै उहाँले संविधान कार्यान्वयनको जटिलता चिर्न नेपाली काङ्ग्रेस दृढ रहेको जानकारी दिनुभयो । सो अवसरमा भारतमा रहेका विभिन्न संगठन छोडी १ सय ५० जना नेपाली जनसम्पर्क समितिमा प्रवेश गरेका दिए । सो अवसरमा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्यद्वय डा. प्रकाशशरण महत र दीपक गिरीलगायतको समेत उपस्थिति थियो ।

Bharat

– योगेन्द्र गौतम (भारतबाट)