मनाइयो ओलम्पिक डे

मनाइयो ओलम्पिक डे


Olmp Day

नेपाल ओलम्पिक कमिटीअन्तर्गतको स्पोर्टस् फर अल कमिसनले लगनखेलस्थित नेपाल आर्मी खेलकुद तथा शारीरिक तालिम केन्द्रमा विभिन्न कार्यक्रम आयोजना गरी ओलम्पिक डे– २०१६ मनाएको छ । सो अवसरमा ओलम्पियनहरू पुष्पराज ओझा, विमला राना मगर, देवु थापा, संगीना वैद्य, जितबहादुर केसी, अमिरी यादव, उमेश मास्के, प्रवीण तुलाधर र मुकुन्द श्रेष्ठ ट्रयाकमा दौडेका थिए । टोलीको नेतृत्व गरेका केसीले ओलम्पिक गेम्स सूचक ओलम्पिक टर्च बोकेका थिए । उक्त टर्च केसीले कमिसनका अध्यक्ष विष्णुगोपाल श्रेष्ठलाई हस्तान्तरण गरेका थिए । लगत्तै सो टर्च श्रेष्ठले एनओसी अध्यक्ष जीवनराम श्रेष्ठलाई हस्तान्तरण गरे । विभिन्न विद्यालयका विद्यार्थीले नृत्य प्रस्तुत गरेका थिए भने गायक सत्यराज आचार्य र कुन्ती मोक्तानले गीत प्रस्तुत गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मण्डलले ओलम्पियनहरू राष्ट्रको गौरव भएकाले उनीहरूलाई सम्मान गर्नुपर्ने बताउँदै खेलकुद र खेलाडीविरोधीविरुद्ध सबै एकजुट भएर लड्नुपर्ने आवश्यकता औँल्याए । एनओसी अध्यक्ष श्रेष्ठले ओलम्पिकको मूल्य र मान्यतालाई सबै माझ पुर्‍याउन सके खेलकुदको गरिमा अझ बढ्ने बताउँदै ओलम्पिक डे सम्पूर्ण खेलाडीको उत्सव भएको धारणा व्यक्त गरे । कमिसनका अध्यक्ष श्रेष्ठ र राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्षसमेत रहेका एनओसीका महासचिव लामा टेन्डी शेर्पाले ओलम्पिकको शुरुआत र महत्त्वबारे चर्चा गरेका थिए । ओलम्पिक डेमा साताव्यापी कार्यक्रम आयोजना गर्ने क्रममा यसपटक विभिन्न राष्ट्रिय खेलकुद सङ्घ र विभिन्न संस्थाले खेलकुदलगायत विभिन्न ५७ कार्यक्रम आयोजना गरेका थिए ।