भ्रमण स्थगित गरेर सत्ताको खेलमा प्रचण्ड

भ्रमण स्थगित गरेर सत्ताको खेलमा प्रचण्ड


बजेट पारित भएलगत्तै माओवादीले विशेष निर्णय लिने

प्रचण्ड अष्ट्रेलिया भ्रमणमा जानुहुने समाचार सार्वजनिक भएपछि कुनै मन्दिरा शर्मा नामक मानवअधिकारकर्मीले अष्ट्रेलियाका प्रधानमन्त्रीलाई इमेल गरी प्रचण्डबाट भएका मानवअधिकार उल्लङ्घन र मानवताविरोधी ज्यादतिबारे जानकारी गराउँदै आवश्यक कारबाहीका निम्ति आग्रह गरेकी थिइन् । बेलायतमा कर्णेल कुमार लामालाई कारबाहीका निम्ति गिरफ्तार गराउन सफल भएपछि उत्साही बनेकी एमालेसमर्थक मन्दिरा यसपटक अस्टेलियामा प्रचण्डलाई पक्राउ गराउन सकिनेमा विश्वस्त थिइन् । मन्दिराले अष्ट्रेलियन प्रधानमन्त्रीलाई पठाएको इमेलबारे आवश्यक अध्ययन गरी निर्णय लिन उनले आफ्ना गृहमन्त्रीलाई ‘फरवर्ड’ गरेपछि मामिला केही गम्भीर बनेको थियो र प्रचण्डमाथि कारबाही हुनेमा उनी विश्वस्त बनेकी थिइन् ।

Prachanda

विमान चढ्नुभन्दा ठीक दुई घन्टाअघि मात्र अष्ट्रेलियाको भ्रमण स्थगित गर्नुहुने माओवादी अध्यक्ष प्रचण्डले आगामी दुई साताभित्र महत्त्वपूर्ण राजनीतिक निर्णय लिनुहुने सम्भावना छ । उहाँको निर्णयले प्रधानमन्त्री खड्गप्रसाद ओलीको सङ्कट बढाउने निश्चित मानिएको छ । अध्यक्ष प्रचण्डले नेपालमा विकसित राजनीतिक घटनाक्रमका कारण आफ्नो अस्ट्ेरलिया भ्रमण स्थगित गर्नुपरेको बताउँदै आउनुभएको छ । कांग्रेस सभापति शेरबहादुरसँगको विशेष वार्तालापपछि प्रचण्ड उत्साहित बन्नुभएको छ र बजेट पारित भएलगत्तै खड्गप्रसाद ओली नेतृत्वको सरकार छोड्ने निष्कर्षमा उहाँ पुग्नुभएको छ । तर, प्रचण्डले सरकार छोडेपछि त्यसपछि बन्ने सरकारको नेतृत्व कसको हुने भन्ने यकिन भइसकेको छैन । तथापि, शेरबहादुर देउवा या प्रचण्ड दुईमध्ये एकले प्रधानमन्त्री बन्न अवसर पाउने निश्चितप्राय: छ । यद्यपि संविधानको सङ्क्रमणकालीन प्रावधानअनुसार गठन भएको वर्तमान सरकारलाई अविश्वास प्रस्तावमार्फत विस्थापित गरे पनि नयाँ सरकार गठन गर्न केही वैधानिक जटिलताहरू रहेका छन् ।

सङ्क्रमणकालीन प्रावधानमा नयाँ सरकार गठनसम्बन्धी व्यवस्था नभएकोले ओली नेतृत्वको सरकार अविश्वासको प्रस्ताव पारित भएर वा विश्वासको मत पारित नभएर ढलेछ भने पनि आगामी संसदीय निर्वाचन नभएसम्म ओली सरकारले नै निरन्तरता पाइरहन्छ भन्ने केही संविधानवेत्ताहरूको भनाइ छ । तर, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्ड संविधानविज्ञका ‘यस्ता’ तर्कप्रति सहमत हुनुहुन्न । संसद्मा जसको बहुमत पुग्छ उसैले सरकार गठन गर्न पाउनुपर्छ भन्ने प्रचलित संसदीय प्रजातान्त्रिक मान्यताअनुरूप नयाँ सरकार गठन हुन सक्छ भन्ने विश्वास देउवा र प्रचण्डको छ । त्यसैले संविधान र संविधानविद्का कुराले उहाँहरूलाई आकर्षित गरिरहेको छैन । बरु ओलीलाई हटाएर को प्रधानमन्त्री बन्ने भन्ने विषयमा भने दुई नेताबीच मतैक्य भइनसकेको बुझिन्छ । गत वैशाखमा बनेको सहमतिअनुरूप आलोपालो प्रधानमन्त्री बन्ने र पहिले आफू प्रधानमन्त्री बन्न पाउनुपर्ने प्रस्ताव प्रचण्डको छ । कांग्रेस सभापति देउवा त्यसबेलाको सहमति असान्दर्भिक भइसकेकोले आफ्नो नेतृत्वलाई माओवादीले समर्थन गरिदिँदा पनि हुन्छ भन्दै हुनुहुन्छ । एकले अर्कोलाई प्रधानमन्त्री बन्न सघाउने समझदारी बनिसकेकोले को पहिले बन्ने भन्नेबारेमा मात्र टुङ्गो लाग्न बाँकी रहेको देखिन्छ । दुई साताभित्र यो विषयमा पनि सहमति बनिसक्ने विश्वास दुवै पक्षका नेताहरूले गरेका छन् । त्यसैले दुई साताभित्र बजेट पारित भएलगत्तै माओवादीले वर्तमान सरकारको नेतृत्वलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिने सम्भावना प्रबल भएको छ ।

प्रचण्ड पहिले (गत वैशाखमा) पनि कांग्रेससँग गठबन्धन बनाउने पक्षमा हुनुहुन्थ्यो । पार्टीका केही नेता र मन्त्री बन्न पाएकाहरूको अवरोधका कारणले मात्र उहाँ त्यसबेला कांग्रेससँग भएको समझदारीबाट पछि हट्न बाध्य हुनुभएको हो । अहिले पनि माओवादीभित्रको एउटा ठूलै शक्ति वाम गठबन्धनका नाममा खड्गप्रसाद ओली नेतृत्वको सरकारलाई निरन्तरता दिनुपर्छ भन्ने पक्षमा रहेको छ । तर, प्रचण्डले कांग्रेससँगको गठबन्धनलाई प्राथमिकता दिनुको रहस्य खुलेका दिन माओवादी एकढिक्का भएर कांग्रेससँगको गठबन्धनका पक्षमा उभिने सम्भावना छ । प्रचण्ड ‘मानवअधिकार उल्लङ्घन’का निम्ति आफूलाई दोषी ठहर्‍याउँदै कुनै कारबाही हुने ठानेर त्राहिमाम हुनुभएको छ । पश्चिमा मुलुक र छिमेकी मित्रराष्ट्र भारतलाई चिढ्याउँदा अनपेक्षित ढङ्गले सङ्कट आइपर्न सक्ने ठम्याइ प्रचण्डको छ । निर्धारित अष्ट्रेलिया भ्रमण अन्तिम क्षणमा आएर स्थगित गर्नुको कारण बुझियो भने प्रचण्डलाई सबैभन्दा ठूलो डर कतापट्टिबाट रहेछ भन्ने पनि छर्लङ्गै बुझन् सकिन्छ ।

प्राप्त समाचारअनुसार प्रचण्ड अष्ट्रेलिया भ्रमणमा जानुहुने समाचार सार्वजनिक भएपछि कुनै मन्दिरा शर्मा नामक मानवअधिकारकर्मीले अष्ट्रेलियाका प्रधानमन्त्रीलाई इमेल गरी प्रचण्डबाट भएका मानवअधिकार उल्लङ्घन र मानवताविरोधी ज्यादतिबारे जानकारी गराउँदै आवश्यक कारबाहीका निम्ति आग्रह गरेकी थिइन् । बेलायतमा कर्णेल कुमार लामालाई कारबाहीका निम्ति गिरफ्तार गराउन सफल भएपछि उत्साही बनेकी एमालेसमर्थक मन्दिरा यसपटक अस्टेलियामा प्रचण्डलाई पक्राउ गराउन सकिनेमा विश्वस्त थिइन् । मन्दिराले अष्ट्रेलियन प्रधानमन्त्रीलाई पठाएको इमेलबारे आवश्यक अध्ययन गरी निर्णय लिन उनले आफ्ना गृहमन्त्रीलाई ‘फरवर्ड’ गरेपछि मामिला केही गम्भीर बनेको थियो र प्रचण्डमाथि कारबाही हुनेमा उनी विश्वस्त बनेकी थिइन् । अन्तिम अवस्थामा आएर प्रचण्डले विषयको गम्भीरता बुझेपछि भ्रमण स्थगित गर्नुभएको बुझिएको छ । तर, प्रचण्ड आफूले कसैको डरका कारण भ्रमण स्थगित गरेको स्वीकार गर्न तयार हुनुहुुन्न । देशको राजनीतिक अवस्थाका कारण भ्रमण स्थगित गर्न बाध्य भएको भन्ने उहाँको भनाइ छ ।

जे भए पनि प्रचण्ड अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरूको कोपभाजनमा पर्नबाट जोगिन कांग्रेससँग सत्ता गठबन्धन बनाउनु उपयुक्त हुन्छ भन्ने धारणा राख्नुहुन्छ र आफ्नो सुरक्षाका लागि पनि माओवादीले ओलीलाई छोडेर कांग्रेससँग गठबन्धन बनाउनुहुने विश्वास राजनीतिक वृत्तमा गरिएको छ ।