‘डमरु’को फन्दामा ‘डन’ परेपछि…

‘डमरु’को फन्दामा ‘डन’ परेपछि…


Bikram-Manangeआफूलाई राजधानीको ‘डन’ भनाउन रुचाउने वास्तविक नाम राजीव गुरूङ रहेका चर्चित गुण्डा दीपक मनाङ्गे प्रहरी फन्दामा परेका छन् । विगतमा ज्यान मार्नेसम्मका अनेक प्रकृतिका अपराधमा संलग्न भएको अभियोगमा पटक–पटक प्रहरी हिरासत र जेलसमेत बसिसकेका मनाङ्गे पुनः आफ्ना भरौटे तथा चम्चाहरू प्रयोग गरी विभिन्न व्यक्ति, व्यवसायी, व्यापारी तथा उद्योगीहरूलाई धम्क्याएर रकम असुली गर्ने, अपहरण तथा शरीर बन्धक तुल्याउने, हातखुट्टा भाँचिदिनेजस्ता क्रियाकलापमा संलग्न रहेको सूचना पाएपछि महानगरीय प्रहरी परिसर काठमाडौंले मनाङेलाई गत बिहीबार राती गिरफ्तार गरेको हो ।

राजधानीमा कुनै पनि प्रकारका अवान्छित गतिविधि, गुण्डागिरी लगायतका अवैधानिक क्रियाकलाप हुन नदिन प्रतिबद्ध रहँदै आएका काठमाडौं प्रहरी प्रमुख एसएसपी विक्रमसिंह थापाको आगमनयता काठमाडौं उपत्यकामा शान्तिसुरक्षाको माहोल निकै सुदृढ रहँदै आएको सर्वसाधारण नागरिकले महसुस गर्दै आएका छन् । राजधानी शहरका सार्वजनिक स्थलमा धुम्रपान, मद्यपान, खैनी, गुट्काजस्ता पदार्थको सेवन गर्नमा समेत कडाइका साथ रोक लगाएर एसएसपी थापा सरोकारवाला सबै निकायबाट प्रशंसित बनिरहेका छन् । गुण्डागिरी जस्तो तुच्छ अपराधलाई ‘उद्योग’को रूपमा अपनाउन खोज्ने प्रवृत्ति पुनः मौलाउन नदिन आफू प्रतिबद्ध भएको वरिष्ठ प्रहरी उपरिक्षक थापाको भनाई छ ।

यस्तो परिवेशमा ठमेललाई आधार क्षेत्र तुल्याई आफ्ना विभिन्न व्यक्ति प्रयोग गरी सर्वसाधारणदेखि व्यवसायी, उद्यमीलगायतका नागरिकलाई अपहरण गर्ने र हातखुट्टा भाँची ज्यानसमेत लिने धम्की दिएर रकम माग गर्ने गरेको सूचना आएपछि गुङङलाई रंगेहात पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक शिद्धिविक्रम शाहले जानकारी दिए । दिपक मनाङ्गेका साथमा राजन कुमार सिंह नामका अर्का अभियुक्त समेत पक्राउ परेको र अन्य मतियारहरूको खोजी कार्य भइरहेको पनि डिएसपी शाहले बताए । मनाङ्गेको गिरफ्तारीबाट राजधानीका उद्यमी–व्यवसायीले ठूलो राहतको सास फेरेका छन् । आम पीडितजनले प्रहरीको यस कार्यको मुग्धकण्ठले प्रशंसा गरेका छन् । आफ्नो पहुँच उच्च राजनीतिक निकायसम्म रहेको धाक दिएर आपराधिक क्रियाकलाप सञ्चालन गर्दै आएका मनाङ्गेलाई पक्राउ गरेर विक्रमसिंह थापाले आफ्नो छबिलाई अझै उँचो तुल्याएको टिकाटिप्पणी सचेत तप्काबीच हुन थालेको छ ।

स्मरणीय छ, ‘म बाघको डमरु हुँ, सिनो खाने स्याल नसम्झ’ भन्ने वाणीलाई आफ्नो आदर्श मानेर कर्तव्य निर्वाह गर्दै आएका एसएसपी विक्रमसिंह थापा समाज वा राज्यमा भएका गुण्डागर्दी, अनियमितता, भ्रष्टाचारजस्ता ठुल्ठूला घटनालाई जरैदेखि उखेलेर फाल्न कटिबद्ध र सफल प्रहरी उच्चाधिकारीका रूपमा परिचित रहँदै आएका छन् ।