धर्मनिरपेक्ष नेपालको विडम्बनापूर्ण शासनप्रणाली

धर्मनिरपेक्ष नेपालको विडम्बनापूर्ण शासनप्रणाली


व्यक्ति, समाज र देशका लागि यथाशक्य बोझ उठाउने र समाजसेवी, बुद्धिजीवी तथा शिक्षाको ज्योति फैलाएर विश्वसामु असल नेपाली नागरिक बनाउने जिम्मा लिएर विद्यालय खोली अवसरबाट वञ्चित तथा आवश्यकतामा परेका नागरिकलाई बिनासर्त सेवा गर्ने कर्मठ नेपालीमाथिको भर्खरै गरिएको साङ्घातिक र सुनियोजित आक्रमणले नेपालमा भएका अल्पसङ्ख्यक नागरिकले आफूलाई असुरक्षित महसुस गरिसकेका छन् र हामी यो देशमा किन जन्म्यौँ होला भनी बडो ठूलो सोचमा परेका छन् । सत्जनमाथिको सुनियोजित हस्तक्षेप र कमजोरमाथिको सशस्त्र हस्तक्षेपले नेपालमा न्याय, प्रशासन तथा प्रशासनिक निकायहरूप्रति सबै जनताको चासो र निगरानी अब बढेको छ ।

दोलखाकै पुरानो तथा ०४१ सालमा चरिकोटमा माउन्ट भ्याली नामक आवासीय अङ्ग्रेजी विद्यालय (बोर्डिङ स्कुल) स्थापना गरेर सयौँ व्यक्तिलाई विद्वान् बनाएर देशका सच्चा सेवक तयार गरिसक्नुभएका श्रष्टा तथा समाजसेवी प्रकाश प्रधानलाई अनि ०६१ सालमा स्थापना भएर विभिन्न नेपाली किशोरकिशोरीलाई देशभक्ति र चरित्र निर्माणको शिक्षा दिएर विद्वान् बनाई व्यक्ति, समाज र देश विकासमा टेवा पुर्‍याउन २०६१ सालमा स्थापित मोडर्न नेपाल स्कुल नामक शिक्षण संस्थाहरूबाट सेवा दिइरहेका नम्र सेवक विमल शाहीहरूमाथिको साङ्घातिक आक्रमण सरासर लज्जास्पद र पक्षपातपूर्ण छ । यो असह्य भएको छ अनि सबैले यसको घोर भत्र्सना गरेका छन् । सोसियल मिडियाहरूबाट यी मर्माहत आठ व्यक्तिको र समग्र इसाईका विरुद्धमा लेखिएका विभिन्न टीका–टिप्पणी आपत्तिपूर्ण छन् ।

काठमाडौंको शिक्षण नेपाल नामक संस्थाले ‘चिल्ड्रेन ब्यक टू द स्कुल’ नामक भूकम्पको कारणले मानसिक रूपमा पीडित भएका बालबालिकालाई केही गद्यहरू तथा गीतहरू गाएर सुनाएपछि बालबालिकाहरूलाई नयाँ नेपाल अब कसरी निर्माण गर्न सकिन्छ भनी प्रस्तुति गर्न लगाएका थिए । यो ०७३ असार २६ मा माउन्ट भ्याली बोर्डिङमा यो कार्यक्रम गरिएको थियो । तर, २७ गते विद्यालयको वार्षिकोत्सव भएकाले विद्यालय बन्द थियो । त्यस विद्यालयमा जतिजना विद्यार्थी आएका थिए त्यतिलाई र २७ गतेचाहिँ नेपाल बन्दको कारणले विद्यालय बन्द भएको बेला जतिजना विद्यार्थी आउन सक्छन्, त्यतिलाई मोडर्न नेपाल स्कुलमा भएको थियो । यसरी कार्यक्रमपश्चात् सबैलाई एउटा–एउटा रूमाल र एउटा एउटा महान् कथा नामक पुस्तिका दिइएको थियो ।

यसलाई सुनियोजित प्रकारले धर्मपरिवर्तन गर्ने–गराउने उद्योगअनुसारको मुद्दाको रूपमा कारबाही गराउन प्रहरीले काठमाडौंको शिक्षण नेपालबाट गएका पाँचजना (बनिता डङ्गोल, किरण दाहाल, फिलिप तामाङ, बालकृष्ण राई र भीमबहादुर तिवारी) अनि स्थानीय पास्टर शक्ति तामाङसहित दुवैवटा निजी विद्यालय सञ्चालकद्वय प्रकाश प्रधान र विमल शाहीसहित जम्मा आठजनालाई गैरकानुनी रूपमा पक्रिएर हिरासतमा आठ दिनसम्म राखियो । नियत खराब भएपछि मानिसले नीतिलाई बिर्संदोरहेछ, त्यसैले २८ गते पक्रउपुर्जीबिनै पहिले पक्रिएर लगेपछि भोलिपल्ट २९ गते मात्र पक्राउपुर्जी दिएर गैरकानुनी रूपमा रातारात मिसिल तयार गरेर भोलिपल्ट (२९ गते) बिहान पत्रकार सम्मेलन गर्दा यसलाई मुद्दाको रूपमा अदालतमा पनि पुर्‍याइयो । कानुनी रूपमा कुनै पनि अभियुक्तलाई उसले प्रमाण नष्ट गर्ने आधार र भागेर लुक्नुपर्ने सम्भावना छैन भने हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने जरुरी हुँदैन । त्यसैले यो पनि गैरकानुनी हो अनि प्रहरीका उच्चपदस्थ कर्मचारी तथा सोही जिल्लाको डीएसपीले बुट लगाएको लात्ताले धेरै हिर्काएर टाउकोमा भित्री चोट लागेको छ । केही दिनसम्म सुन्निएर कान सुन्न पनि गाह्रो भएको अनि नलीखुट्टामा डीएसपीको पिटाइले लड्दा सोफाको काठमा ठोक्किएर गम्भीर खत बसेको छ । यी कार्यले मानवअधिकार हनन गर्छन् कि गर्दैनन् ?

धार्मिक सहिष्णुताको देश भनी फोस्रो नारा लगाएर विश्वबाट मागी खाने अनि नेपालीमाथि यसरी दमन गरेर मानिसलाई दोस्रो दर्जाको नागरिकसरह गर्न पाइन्छ ? इसाई विश्वास प्रचारमाथि अत्याचारपूर्ण तरिकाले फौजदारी मुद्दा लगाइन्छ भने कमल थापाले हरेक ठाउँमा गएर इसाईहरू र येशू ख्रिष्टको विरुद्धमा बोलिरहनुहुन्छ, के त्यो धर्म प्रचार भएन ? उहाँलाई पक्रेको तथा फौजदारी मुद्दा लगाएको कसैलाई थाहा छैन त ? यो नेपालको विडम्बनापूर्ण प्रशासन हो । अहिलेसम्म नेपालमा भएका कुनै इसाईले देशको भलाइ गर्नमा अलिकति पनि कन्जुस्याइँ गरेका छैनन् । लगानी गरेका छन् । बिनासर्त स्कुल, कलेज, हस्पिटल तथा विभिन्न क्षेत्रबाट योगदान दिइरहेका छन्, जसलाई नेपालको प्रशासनले फौजदारी कानुन बनाएर तह लगाउन खोजिरहेको छ ।

हाल विभिन्न नियमहरू बनाएर संसद्ले अनुमोदन गर्न बाँकी नै छ । नियम, ऐन कानुन बनिइरहेको छ, तर यस्तो कानुन बनेको छ, कि लोकतान्त्रिक देश भनिन्छ, तर कुनै धर्म, सम्प्रदाय तथा जातिलाई यहाँ बाँच्ने अनुमति नै नहुने प्रकारको कानुन बनाइँदै छ, त्यसप्रति विश्वको चासो बढिरहेको बेला मानवअधिकारलाई मिच्दै अरूको आत्मा–अधिकारमाथि गरिएका दमनहरू बढिरहेका छन् हाम्रो नेपालमा, यो पनि नेपालको प्रशासनिक विडम्बना हो ।

समग्रमा, नेपालका सबै नेपालीले अब आफ्नो धर्मको अभ्यास, संरक्षण र प्रवद्र्धन गर्न पाउनुपर्छ अनि स्वनिर्णयलाई दमन गर्नु मानवअधिकार तथा आत्मा–अधिकार हनन हो । किनभने आत्मनिर्णय गर्नपाउनु जनताको अधिकार हो । राजनेता तथा सत्तामोहीहरूलाई अनि कानुन बनाउनेहरूलाई, भोलि आफूले खनेको खाडलमा आपैँm पस्नुपर्ने स्थिति नआउनेगरी नियमन गर्नका लागि हाम्रो खबरदारी छ ।
Saroj Magarati
– सरोजबन्धु मगराती