कर्मचारीले गुनासो गरेपछि मन्त्री बोहराको मलेसिया भ्रमण विवादमा

कर्मचारीले गुनासो गरेपछि मन्त्री बोहराको मलेसिया भ्रमण विवादमा


Minister for Labour and Employment Deepak Bohara

‘ब्रिफिङ’को क्रममा मन्त्री बोहराले मलेसियामा रहेका नेपाली कामदारसँग भेटघाट गरेको तर, सरकारले तोकेको १० हजार सेवा शुल्क रुपैयाँ मात्रै तिरेर गएका एउटा पनि नभेटिएको बताए । उनले म्यानपावरले फ्री भिसा र टिकटको निर्णय कार्यान्वयन नभएकोतर्फ संकेत गर्दै थपे- ‘कम्तिमा ५०-६० हजार त तिरेकै सुनियो ।’

मलेसियाको ६ दिवसीय भ्रमण सकेर स्वदेश फर्केका श्रममन्त्री दीपक बोहराले आफ्नो भ्रमण उपलब्धीमूलक दाबी गरिरहँदा उनको मलेसिया भ्रमण विवादित बन्न पुगेको छ । असार १३ देखि १८ गतेसम्म उनी मलेसिया भ्रमणमा थिए । बताइएअनुसार मन्त्रालयका सहसचिव गोविन्दमणि भुर्तेल र अन्य दुई अधिकृतसहित मन्त्री बोहराको मलेसिया भ्रमणमा वैदेशिक रोजगार व्यवसायी सङ्घका चार प्रतिनिधिलाई समेत समावेश गराइएको थियो । तर भ्रमणका क्रममा नेपाल र मलेसियाको द्विपक्षीय वार्तामा व्यवसायीलाई सहभागी नगराइपछि विवाद बढ्दै गएको हो ।

गत बिहीबार नेपाल फर्किएका व्यवसायीले फर्किएलगत्तै त्यही दिन पत्रकार सम्मेलन गरी आफूहरुको भ्रमणमा अपमान भएको बताए ।उनीहरुले केवल घुमाउन लगिए जस्तो टोलीमा सहभागी गरेर बिना उपलब्धि त्यसै फर्काइएको गुनासो गरे । व्यवसायीले छलफलमा सहभागी नराउने भए किन आफूहरुलाई लगिएको भन्दै मन्त्रालय र त्यहाँस्थित नेपाली दूतावासले छलछाम गरेको आरोप लगाए ।

शनिबार फर्किनुभएका मन्त्री बोहराले आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी आफ्नो बचाउ गरे । उनले भने, “ हामीले व्यवसायीलाई पनि छलफलमा सहभागी गराउन चाहेका हौँ तर मलेसियाली पक्ष नमानेपछि सकिएन ।” उनले वार्तामा व्यवसायीलाई सहभागी गराउनैपर्ने कुनै बाध्यकारी व्यवस्था नभएको तर्क गर्दै मलेसियाका तर्फबाट पनि वार्तामा कुनै व्यवसायी सहभागी नभएको स्पष्ट पारे ।

भ्रमणका क्रममा विवादको केन्द्रमा मलेसियास्थित नेपालका राजदूत निरञ्जनमान सिंह बस्न्यात रहन पुगे । व्यवसायीले पत्रकार सम्मेलनमा राजदूत बस्न्यात भिएलएन नेपाल, बायोमट्रिक प्रणालीजस्ता संस्थामार्फत भ्रष्टाचारमा संलग्न भएको आरोप लगाउँदै नेपाल फिर्ता बोलाउन माग गरेका थिए । त्यसलगत्तै मलेसियास्थित नेपाली राजदूतावासले प्रेस विज्ञप्ति जारी गर्दै त्यसमा आपत्ति जनायो ।

मन्त्री बोहरा मलेसिया भ्रमणका गएको समय त्यहाँका गृहमन्त्री रमदानका अवसरमा साउदी अरबको मक्कामा बिदा मनाउन गएकाले भिएलएन, बायोमेट्रिकजस्ता विवादास्पद विषयमा छलफल हुन सकेन । मलेसियाका मानव संसाधन मन्त्रीसँग मन्त्री बोहराले छलफल गरे तर उल्लेख्य कुनै सहमति हुन सकेन । मलेसियामा सबै रमदान पर्वमा व्यस्त भएकोे र बिनातयारी गलत समयमा भ्रमण भएको व्यवसायीले आरोप लगाएका छन् ।

यता, मन्त्री बोहराले मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा आफ्नो मलेसिया भ्रमण उपलब्धिमूलक भएको दाबी गरेका छन् । भ्रमणमा मलेसियाका मानव संसाधनमन्त्री दातो स्रि रिचार्ड राइट अनक जेइमसँगको द्विपक्षीय भेटवार्तामा नेपाल र मलेसियाबीच श्रम सम्झौताका विषयलाई प्राथमिकता दिएर छलफल गरिएको उनले बताए । भेटवार्तामा मलेसियामा कार्यरत नेपालीको सेवा र सुरक्षाका विषयमा समेत सकारात्मक छलफल भएको उनको दाबी छ ।

केही महिनादेखि मलेसियाले नेपाललगायत उसले कामदारले आपूर्ति गर्ने १६ मुलुकबाट कामदार लिन प्रतिबन्ध लगाएकामा नेपाललाई खुलाउने विषयमा भ्रमणमा सकारात्मक छलफल भएको उनले जानकारी दिए । मलेसियाको कारागार तथा कैद शिविर (डिटेन्सन क्याम्प)मा गरी ४६१ जना नेपाली रहेको र उनीहरुलाई कैदमुक्त गर्नेबारेमा छलफल भएको उनले बताए । ६ नेपालीको शव मलेसियामा रहेकाले त्यसलाई तत्काल नेपाल ल्याउन आफूले पहल गरेको उनको भनाई थियो ।

आफ्नै कार्यकक्षमा गरिएको ‘ब्रिफिङ’को क्रममा मन्त्री बोहराले मलेसियामा रहेका नेपाली कामदारसँग भेटघाट गरेको तर, सरकारले तोकेको १० हजार सेवा शुल्क रुपैयाँ मात्रै तिरेर गएका एउटा पनि नभेटिएको बताए । उनले म्यानपावरले फ्री भिसा र टिकटको निर्णय कार्यान्वयन नभएकोतर्फ संकेत गर्दै थपे- ‘कम्तिमा ५०-६० हजार त तिरेकै सुनियो ।’ भ्रमणका क्रममा कामदारको हितमा कदम चाल्न सकारात्मक पहल गरेको दावी गर्दै आफूले भेटेका कमदारलाई विदेश आउँदा धेरै शुल्क लिएकोबारे उजुरी गर्न आग्रह गरेको बताए । आफूले सामूहिक रुपमै त्यस्ता ठगी गर्नेविरुद्ध उजुरी गर्न आग्रह गरको उनको भनाई छ ।