बढ्दो बजेट, फस्टाउँदो भ्रष्टाचार !

बढ्दो बजेट, फस्टाउँदो भ्रष्टाचार !


– मुक्तिनाथ भुसाल

Mukti

अर्घाखाँची जिल्ला विकास निर्माणको क्रममा तीव्रताका साथ अगाडि बढिरहेको छ । जिल्लाको क्षेत्र नम्बर एकबाट वर्तमान उपप्रधान तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझी विजयी बनेयता प्रसस्तै बजेट अर्घाखाँचीमा भित्रिएको बुझिन्छ । माओवादी द्वन्द्वकालमा आफ्नै हातबाट जलाइएको सदरमुकाम सन्धिखर्कका पुराना भवनहरू हाल नयाँमा परिणत भइसकेका छन् । हालसम्म, पश्चिम नेपालकै सबैभन्दा ठूलो सभाहल पनि अर्घाखाँचीमा निर्मित छ ।

सालझन्डी–सन्धिखर्क–ढोरपाटन सडकमा करिब सात वर्षदेखि काम चलिरहेको छ र अर्घाखाँचीवासीलाई आकाशमा उडाउनका लागि गत साता अर्घाभगवती विमानस्थलको पनि उपप्रधानमन्त्री रायमाझीको हातबाट शिलान्यास भइसकेको छ । गाउँगाउँमा सरकारी भवन बन्ने क्रमको निरन्तरतासँगै विभिन्न नामका सडकको निर्माणले अबका केही वर्षभित्र अर्घाखाँचीवासीले सपना–विपना हरदम गाडीका आवाजको अनुभूति गर्ने भएका छन् । त्यसो त अर्घाखाँचीको हरेक गाविसमा कच्ची मोटरबाटो सञ्चालनमा आइसकेको छ भने कतिपय सडकहरू यसपालिबाट कालोपत्रे गर्ने काम भइरहेको विमानस्थल शिलन्यासका क्रममा मन्त्री रायमाझीबाट जानकारी मिलेको छ । उनका अनुसार जोसजाँगर बोकेका जिल्ला प्राविधिक र सालझन्डी–सन्धिखर्क–ढोरपाटनका प्रमुखहरूले अबको केही वर्षभित्रै जिल्लाको मुहार फेर्नेसमेत बुझिएको छ ।

मन्त्री रायमाझी आँटिला, जोसिला र जिल्लालाई असाध्यै माया गर्ने व्यक्ति हुन् भन्ने कुरामा दुईमत छैन तापनि उनको लक्ष्यअनुसारका कामहरू अर्घाखाँचीमा इमानदारीपूर्वक भएका छैनन् । उनले करोडौँ रुपैयाँ भित्र्याएर सम्पन्न भएको सभाहल भित्रभित्रै चर्किएर हेर्न पनि लाजलाग्दो भइसकेको छ । घरेलु कार्यालयका कर्मचारी वर्षात्को समयमा भित्रै छाता ओढेर बस्नुपर्ने स्थिति कतै छिपेको छैन । सदरमुकाममा निर्माण सम्पन्न भइसकेका जे–जति कार्यालय छन् ती अधिकांश कार्यालयमा गुणस्तरीयताको कमी नै देखिन्छ । टुँडिखेलको सामान्य पर्खाल पनि कुनै बेलाका झिल्केहरूले पटक–पटक बनाएका र बनाएको ६ महिनाभित्रै भत्किएर रहेको छ ।

सालझन्डी–सन्धिखर्क–ढोरपाटन सडकमा प्राय: हिउँदमा भन्दा वर्षात्मा बढी काम हुने कारण स्थानीयको उठीबासले तीव्रता लिएको छ । चिवेक खोलामा सम्पन्न पुलले पनि सो सडकलाई दीर्घकालसम्म धान्ने कुरामा विश्वास गर्न सकिँदैन । सडक प्रसङ्गमा भन्नुपर्दा राष्ट्रिय ग्रामीण यातायात सुदृढीकरण कार्यक्रम जिल्ला प्राविधिक कार्यालय अर्घाखाँचीको मातहतमा सञ्चालन भएको छ । गत आवमा सन्धिखर्क–कुर–नुवाकोट हुँदै प्युठान जोड्ने सडक करिब चार करोडमा र सन्धिखर्क–अर्घा–धरमपानी मैदान सडक पनि करिब चार करोडमा स्तरोन्नति तथा ग्राभेलका लागि ठेक्का भएको थियो । उल्लेखित सडकको बाँकी खण्ड ग्राभेलका लागि चालू आवमा ‘एसएनआरआईपी’ले करिब १० करोडमा ठेक्का दिई थप बजेटबाट कालोपत्रे पनि गर्ने बुझिएको छ । महत्त्वपूर्ण कुरा ग्राभेल हुने सडकको चौडाइ जम्मा तीन दशमलब ७५ मिटर मात्रै हुनेछ । यहाँनेर सवाल उठ्छ कि ३ दशमलव ७५ मिटर चौडाइको सडकले के साँच्चै यात्रु तथा सवारीसाधनहरू सुरक्षित बन्न सक्लान् ? सम्बन्धित पक्षले पुनर्विचार गर्नु बुद्धिमानी देखिन्छ ।

यसैगरी जिल्लाको क्षेत्र नम्बर २ अन्तर्गत सिमलपानी स्वास्थ्यचौकी बाहिरबाट हेर्दा गाविसकै एक आकर्षक भवनका रूपमा देखिन्छ, तर यसको आन्तरिक पाटो भने सोचेभन्दा फरक रहेको छ । स्वास्थ्यचौकी व्यवस्थापन समितिका सल्लाहकार तथा माओवादी केन्द्रका स्थानीय नेता टीका रेस्मीका अनुसार आजभन्दा दुई वर्षअगाडि सो भवन करिब तीन करोड रुपैयाँमा सम्पन्न भएको थियो । तर, सम्पन्न भएको एक वर्ष नपुग्दै भवन जीर्ण बन्न सुरु गर्‍यो । भवनको प्रवेशद्वारको भित्तोको सिमेन्ट तथा बालुवा सामान्य हावाले उडाएर उराठ बन्नुको साथै छतको प्लास्टरबाट पनि पानी बाहिर जानुको साटो भित्रै चुहिन्छ । स्वास्थ्यचौकी इन्चार्ज अर्जुन कुमालसहितका स्वास्थ्यकर्मीहरू भित्रै बसोबास गरे पनि वर्षात्को समयमा कागजातहरू जोगाउन तिनलाई हम्मेहम्मे परेको छ । भवनभित्र प्रयोग गरिएका वायरिङ पाइपदेखि शौचालयभित्र प्रयोग गरिएका धारा, बेसिन आदि पनि प्रयोग गर्न सक्ने अवस्थामा छैनन् । जब कि करोडौँको भवन सञ्चालनमा आएको दुई वर्ष मात्रै पूरा भएको छ । स्थानीय शिक्षक कमल ढकालका अनुसार ०४६ सालदेखि पाव्रा चाक्लाको सडकमा कागजी पन्नामा बजेट वर्षेनी परिरहेको भए पनि हालसम्म ०४६ सालको सडकमा कुनै पनि परिवर्तन आएको छैन ।

जिल्लामा बढीभन्दा बढी बजेट भित्रिनु सकारात्मक विषय हो, तर नागरिकले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा तिरेको कर सार्वजनिक निकायमा रहेका व्यक्तिहरूले इमानदारीपूर्वक सार्वजनिक र गुणस्तरमा ध्यान नदिनुचाहिँ विडम्बना हो । उपप्रधानमन्त्री रायमाझीले जिल्लालाई बजेट पारेको साँच्चै विकासका लागि हो वा सामान्य काम गरी तल्लो निकायका सीमित व्यक्तिहरूलाई धनी बनाउनका लागि ? यो सवाल यतिबेला महत्त्वपूर्ण बनेको छ । सरल भाषामा भन्नुपर्दा उपप्रधानमन्त्री रायमाझी संलग्न हुने कार्यक्रममा आफूलाई इमानदार प्रस्तुत गर्न सरकारी कार्यालयका प्रमुखहरू, व्यवसाय सञ्चालनका लागि होटेल सञ्चालक तथा निर्माण व्यवसायीहरू तथा उपभोक्ता समितिहरू धेरै नै सक्रिय रहेको पाइन्छ । यति मात्र रायमाझीका लागि पर्याप्त नभई जिल्लालाई औधी माया गर्ने रायमाझीले डाँडा–पखेरा खन्ने भवन बनाउने कामको अलावा रोजगारका लागि विदेश पलायन भएका युवाहरूलाई कसरी मुलुकभित्रै रोक्न सकिन्छ भनेर सोच्नु उपयुक्त देखिन्छ । विदेशको रेमिट्यान्सले सन्धिखर्क सदरमुकाममा घर बनाएर बसेकाहरू जिल्लामा कुनै पनि कलकारखाना र विशेष नयाँ केही नभएको कारण पसलेहरू बिहान अगरबत्ती घुमाउँदै र अन्य धेरैजसो महानुभाव मुसालाई साथी बनाएर मुस्कुराउन विवश बनेका छन् । खुला दिसामुक्त जिल्ला घोषणा गरिए पनि जलुके स्वास्थ्यचौकीले हालसम्म शौचालय बनाउन सकेको छैन । पञ्चायतकालमा सञ्चालनमा रहेका बुटवल धागो कारखाना, भृकुटी कागज, गोरखाली टायरलगायतका करिब दुई दर्जनभन्दा बढी कारखाना बन्द अवस्थामा रहेका छन् । कमसेकम दुई–चारवटा कारखाना अर्घाखाँची जिल्लामा भित्र्याउन सकेमा सन्धिखर्क बजारमा चहलपहल आउनुका साथै हजारौँ युवाले रायमाझी जिन्दावाद भन्दै नारा लगाउने थिए कि ?
22 Mukti 1