ओलीको जाल, दाहालको पासो र देउवाको दुवाली

ओलीको जाल, दाहालको पासो र देउवाको दुवाली


Mahendra Parajuli

– ई. महेन्द्र पराजुली

अमेरिकी संस्था पिस फण्डले आर्थिक, सामाजिक, राजनीतिकलगायत शीर्षकमा विभिन्न १२ वटा सूचाङ्कको आधारमा अध्ययन गरी हालसालै जारी गरेको ‘नाजुक देशको सूचीमा नेपाल ३३औँ स्थानमा परेको छ । अघिल्लो वर्ष नेपाल ३६औँ स्थानमा थियो भने क. केपी शर्मा ओलीले सरकारको कमान सम्हालेपछि नेपाल ३३औँ स्थानमा चढेको हो । सन् २०१६ को विश्वव्यापी मानव बेचबिखनसम्बन्धी वार्षिक प्रतिवेदनमा नेपालले आधुनिक दासता उन्मूलनका लागि पूरा गर्नुपर्ने न्यूनतम मापदण्ड पूर्ण पालना नगरी आधुनिक दासताविरुद्ध सन् २०१५ भित्र प्रगति गर्न नसकेको अमेरिकी विदेश मन्त्रालयले २०७३/०३/१६ मा सार्वजनिक गरेको छ । मानव तस्करका लागि नेपाल स्रोत, ट्रान्जिट र गन्तव्य भएको अमेरिकी विदेश मन्त्रालयले हालै सार्वजनिक गरेको मानव बेचबिखनसम्बन्धी वार्षिक प्रतिवेदन ‘ट्राफिकिङ इन पर्सन्स’ रिपोर्ट २०१६ मा उल्लेख छ । २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पपछि मानवतस्करले नेपालीलाई तेस्रो मुलुक पुर्‍याई जबर्जस्ती काम र यौनधन्दामा लगाउने क्रम बढेकोसमेत जनाएको छ ।

नेपालमा अझै पनि कुल जनसङ्ख्याको २५.५ प्रतिशत जनसङ्ख्या गरिबीको रेखामुनि छ । गरिबी निवारणका लागि रेमिट्यान्सले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ । कुल (जीडीपी) मा रेमिट्यान्सको हिस्सा ३० प्रतिशत रहेको विश्व बैंकले गरिबीबारे सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । सारा नेपालीलाई देशभित्रै रोजगारी दिलाउँछु भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले खोकिरहँदा विदेशमा आतङ्ककारीको निसानामा परी निर्दाेष १३ जना नेपाली नागरिकले अनाहकमा ०७३/०३/०६ मा अफगानिस्तानको काबुलमा ज्यान गुमाए । वैदेशिक रोजगारमा जाने नेपाली युवाको हरेक दिन कम्तीमा पनि तीनजनाको शव कफिनमा नेपाल आउँछ । गत साउनदेखि पुससम्म ६ महिनाको अवधिमा वैदेशिक रोजगारीमा गएका ४ सय ६३ नेपालीको मृत्यु भएको वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको तथ्याङ्क छ ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले जनाएअनुसार ओलीले नेतृत्व गरेको सरकारको पालामा आयात ३.८, निर्यात २३.१ प्रतिशतले घटेको छ । आयातको हिस्सा ९१.८ र निर्यात हिस्सा ८.२ प्रतिशत रहेको छ । भारततर्फ निर्यात र आयात दुवै घटेको छ भने चीनतर्फ आयात बढेको र निर्यात घटेको छ । इटली, इन्डोनेसिया, लिबियापछि डेनमार्कले सन् २०१६ को अन्त्यसम्ममा काठमाडौंस्थित आफ्नो दूतावास बन्द गर्ने घोषणा गरेको छ । भूकम्पपीडितलाई राहतका लागि विदेशबाट सहयोगस्वरूप नेपाल सरकारलाई प्राप्त चामल कुहिएर गएको छ । कुहिएको चामल सरकारले बिक्री गरिरहेको छ जनताको स्वास्थ्यमा खेलबाड गर्दै । अन्य धेरै खाद्यलगायत जिन्सी सामग्री सडेर गलेर नष्ट भएको छ । भूकम्पपीडितका लागि न्युजिल्यान्ड, अस्ट्ेरलिया, अमेरिकालगायत अन्य मुलुकबाट आएको राहत सामग्री भूकम्प गएको १५ महिना बितिसक्दा पनि राहत सामग्री कोलकाता बन्दरगाहमा अलपत्र अवस्थामा छ । यसबाट पुष्टि हुन्छ ओली सरकार भूकम्पपीडितप्रति कति संवेदनशील छ ।

गत वर्षको भूकम्पबाट अति प्रभावित बासिन्दा खुला आकाशमा आश्रय लिन बाध्य छन् । उनीहरू पहिरोको उच्च जोखिममा परेपछि विस्थापित भएका छन् । पहाडमा पहिरो र तराईमा बाढीको कारण ठूलो धनजनको क्षति र डुबान भएको छ । पहिरोमा पुरिएर ज्यान गुमाउन बाध्य छन् निर्दोष जनता । गृह मन्त्रालयको तथ्याङ्कअनुसार बाढी र पहिरोका कारण हालसम्म पाँच दर्जन नागरिकले ज्यान गुमाएका छन् भने तीन दर्जन नागरिक बेपत्ता भएका छन् । मानो रोपेर मुरी उब्जाउने बेलामा कृषकले रासायनिक मल नपाएर धान रोपाइँ गर्न पाएनन् । एक घन्टामा पार गर्न सकिने अति व्यस्त महत्त्वपूर्ण नारायणघाट–मुग्लिङ सडक पाँच घन्टामा पनि पार गर्न नसकिने अवस्था छ । यात्रुले सकसपूर्ण कष्टकर यात्रा गर्न बाध्य हुनुपरेको छ । शान्तिसुरक्षाको स्थिति खस्कँदो छ । बालश्रम, चेलिबेटी बेचबिखन बढेकै छ । महँगीले आकाश छोएको छ । कालोबजारी, हत्या, हिंसा, चोरी, डकैती, तस्करी, बलात्कार बढेको छ, फस्टाएको छ । खानेपानी, विद्युत्, इन्धन, ग्यास, फोहोरमैला, वायु–प्रदूषण त धेरै टाढाको विषय बनेको छ, भुतो न भविष्य बोकेको ओली सरकारको पालामा ।

ओलीको अर्जुनदृष्टि संविधान कार्यान्वयन र देशका जल्दा–बल्दा समस्या समाधान गर्नभन्दा पनि कार्यान्वयनको झुटो आश्वासन दिएर जति सकिन्छ सत्ता लम्बयाउनेतर्फ नै केन्द्रित छ । सिद्धान्त, बोली र व्यवहारमा ओलीको एकरूपता छैन । ओली सरकारको राष्ट्रिय एजेण्डा नै छैन । देश आत्मानिर्भरताभन्दा पनि परनिरर्भतामा उन्मुख छ । ओलीको एक मात्र एजेण्डा भनेको भारतलाई गाली गर्नु मात्र हो । ओलीमा इमान होइन, बेइमानीको मात्रा धेरै छ । मौसमी राष्ट्रवादका प्रणेता क. केपी शर्मा ओलीको प्रचारको शैली गोयबल्स शैलीको जस्तो छ । ओली बेलगामको घोडा भए । नन्दीभृङ्गी, भूत, प्रेत, पिचासलाई साथमा लिएर ताण्डवनृत्य देखाइरहेका छन् ओली । जनतालाई धोका दिएर जनताको भावनासँग खेलवाड गर्दै छन् ओली ।

देशको स्थिति कहालीलाग्दो छ । विषम परिस्थिति छ देशमा । यस्तो तरल अवस्थामा पनि राष्ट्रिय मुद्दामा समेत दलहरू एकै ठाउँमा उभिन नसक्नु दु:खद् विषय बनेको छ । राष्ट्रिय राजनीतिमा विश्वासको सङ्कट छ । आकाशमा तुवाँलो लागेजस्तो भएको छ देशको राजनीति । यस्तो अवस्थामा पनि किन गम्भीर बन्दैनन् दलहरू । जनतालाई बन्धक बनाएर निषेधको राजनीति गरेका छन् । किन एक–अर्काको नेतृत्व स्वीकार गर्दैनन् । कहिले खुल्ने हो चेत दलहरूको । वैशाख दोस्रो सातादेखि सुरु भएको प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार गिराउने खेल जारी छ । वैशाखको तेस्रो साता सरकारबाट बाहिरिने धम्कीको पासो माओवादी केन्द्रका अध्यक्ष क. पुष्पकमल दाहाल (प्रचण्ड)ले प्रधानमन्त्री क. केपी शर्मा ओलीलाई थापे पनि क. प्रचण्ड उल्टै ओलीले फालेको नौबुँदे सहमति र तीनबुँदे भद्रसहमतिको जालमा फस्न पुगे । काङ्ग्रेस सभापति शेरबहादुर देउवा दुवाली थाप्न उपयुक्त अवसरको पर्खाइमा छन् । त्यसो त देउवाले पनि दुवाली थाप्न निकालिसकेका छन् । नेपालको राष्ट्रिय राजनीति वैशाखदेखि यता पासो, जाल र दुवालीकै सेरोफेरोमा घुमिरहेको छ । ओलीलाई प्रचण्डले जाल काटिदेलान् भन्ने डर, प्रचण्डलाई पासोमा सिकार नफस्ने हो कि भन्ने डर, देउवालाई दुवालीमा कत्रो र कुन जातको माछा पर्ने हो भन्ने चिन्ता छ । क. माधव नेपाल र क. झलनाथ खनाल दोबाटोमा क. ओलीलाई बाटो ढुकेर बसेका छन् । माओवादी केन्द्र र काङ्ग्रेसलाई भन्दा ओली सरकार गिराउन माधव र झलनाथलाई हतारो छ ।

संसदीय व्यवस्था भनेको बाख्राको टाउको झुन्ड्याएर कुकुरको मासु बेच्ने थलो हो भन्ने कम्युनिस्टहरू त्यही मासुको चोक्टामा छिनाझम्टी गरिरहेका छन् । सरकार गठनको क्रममा माओवादी एकता केन्द्र र एमाले दुई दलबीच आठबुँदे र वैशाखमा नौबुँदे लिखित सहमति भएको थियो । वैशाख २३ गते क. प्रचण्डले आफ्नो नेतृत्वमा सरकार बनाउने निर्णयसहितको वक्तव्य निकालेर काङ्ग्रेससँग सत्तासाझेदार गर्न तयार रहेका दाहाल अमुक शक्तिको निर्देशनमा अन्तिम समयमा पछि हटे । विज्ञप्तिको मसी सुक्न नपाउँदै माओवादी एकता केन्द्र र एमालेबीच नौबुँदे सहमति गरी भत्किसकेको दुई दलको गठबन्धन जोगिएको थियो । क. प्रचण्डले वक्तव्य जारी गर्नुअगाडि नै प्रचण्डलाई समर्थन गर्ने प्रतिबद्धता मात्र जनाएन नयाँ सरकारको नेतृत्व पुष्पकमल दाहाल (प्रचण्ड)लाई तमसुक गरी औँठाछाप लगाएर किस्तीमा टक्र्याउनसमेत तयार भयो काङ्ग्रेस । गठबन्धन सरकार निर्माणका लागि सातबुँदे सहमतिमा हस्ताक्षर गर्ने बेलामा काङ्ग्रेसलाई चक्मा र धोका दिएर एकैपल्ट ३६० डिग्रीमा यूटर्न गर्दै क. प्रचण्ड एमालेसँग नौबुँदे सहमति गर्दै लसिन पुगे । ठूलै सौदाबाजी र लेनदेनपछि विच्छेद हुन लागेको सम्बन्ध पुन: कायम गरे । यो खेलमा क. प्रचण्डले सम्भ्रान्त वेश्याको जस्तो चरित्र प्रदर्शन गरे ।

केपी ओलीले नेतृत्व गरेको सरकारको साँचो लकरबाट कहिले निकाल्ने त कहिले लकरमा नै राख्ने गरेका छन् क. प्रचण्डले । प्रचण्डले एउटा खुट्टा एमालेतिर र अर्काे खुट्टा काङ्ग्रेसतिर राखेका छन् । पुष्पकमल दाहाल (प्रचण्ड) दाहिना भइदिएकै कारण एमालेबाट क. माधव नेपाल, क. झलनाथ खनाल र क. केपी शर्मा ओली प्रधानमन्त्री बन्न सफल भएका हुन् । ओली र दाहालबीच नाटकीय सम्बन्ध रहिआएको छ । अस्ट्रेलिया उड्न दुई घन्टा बाँकी रहँदा युद्धअपराधको मुद्दामा पक्राउ पर्न सक्ने सम्भावना देखेपछि क. प्रचण्डले अस्ट्रेलियाको भ्रमण रद्द गरे । उनका विरुद्ध अस्ट्रेलियामा युद्धअपराध सम्बन्धमा उजुरी परेको थियो । उजुरी गर्ने व्यक्ति ओलीनिकटका भएको सञ्चारमाध्यममा आएको छ । ओलीले नेतृत्व गरेको सरकार दूध नदिने थारो भैँसी अनि नब्याउने बैलो बाख्रोजस्तै बनेको छ । कृत्रिम गर्भादानबाट जन्मिएको ओली नेतृत्वको सरकार बथानबाट छुट्टिनुपर्ने अवस्था देखिएको छ । सरकार गिराउने सेरोफेरोमा २०७३/०३/१८ मा आओवादी एकता केन्द्रले राष्ट्रिय सहमतिको सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको छ । केपी शर्मा ओली नेतृत्वको सरकारले विकल्प खोज्न पुन: काङ्ग्रेस र माओवादी एकता केन्द्र बल लगाएर होस्टेमा हैँसे गर्दै कुममा कुम मिलाउँदै छन् । प्रचण्डलाई प्रधानमन्त्री बनाउन अघिल्लोपटक काङ्ग्रेसले जोखिम मोलेकै हो । त्यो अपरिपक्व खेल खेल्नु काङ्ग्रेसको गम्भीर गल्ती थियो । धोका व्यहोरिसकेको काङ्ग्रेसले उपयुक्त अवसरको पर्खाइमा बस्नु नै अबको विकल्प हो । वैशाखमा क. प्रचण्डले थापेको पासोले काम नगरेपछि असारको तेस्रो साता ओलीलाई दाग्दै प्रचण्डले सरकारबाट बाहिरिने तीर चलाएका छन् । प्रचण्डको तीर सही ठाउँमा लाग्छ–लाग्दैन ? तीर निस्तेज गर्दै ओलीले प्रचण्डतर्फ नै उल्टैतिर चलाउने हुन् कि त्योचाहिँ हेर्न बाँकी छ ।

ओलीको अर्जुनदृष्टि संविधान कार्यान्वयन र देशका जल्दा–बल्दा समस्या समाधान गर्नभन्दा पनि कार्यान्वयनको झुटो आश्वासन दिएर जति सकिन्छ सत्ता लम्बयाउनेतर्फ नै केन्द्रित छ । सिद्धान्त, बोली र व्यवहारमा ओलीको एकरूपता छैन । ओली सरकारको राष्ट्रिय एजेण्डा नै छैन । देश आत्मानिर्भरताभन्दा पनि परनिरर्भतामा उन्मुख छ । ओलीको एक मात्र एजेण्डा भनेको भारतलाई गाली गर्नु मात्र हो । भारतलाई गाली गरेर मात्र राष्ट्रियता बलियो हँुदैन । ओलीमा इमान होइन, बेइमानीको मात्रा धेरै छ । मौसमी राष्ट्रवादका प्रणेता क. केपी शर्मा ओलीको प्रचारको शैली गोयबल्स शैलीको जस्तो छ । ओली बेलगामको घोडा भए । नन्दीभृङ्गी, भूत, प्रेत, पिचासलाई साथमा लिएर ताण्डवनृत्य देखाइरहेका छन् ओली । जनतालाई धोका दिएर जनताको भावनासँग खेलवाड गर्दै छन् ओली । चरम सत्तालिप्सा, एकमनावादी सोच, अनुदार व्यक्तिवादीे चरित्र, निरङ्कुश शैली गुण भएका कुठाराघात गर्न माहिर ओली इतिहासकै नालायक र निकम्मा प्रधानमन्त्री बन्दै छन् । छलकपट गर्न माहिर प्रधानमन्त्री केपी ओलीले आफ्नो असफलतालाई ढाकछोप गर्न नेपाली जनताको सदासयतामा गम्भीर आघात पुर्‍याउने दुस्प्रयास गर्दै छन् । क. ओलीले प्रधानमन्त्री भएको औचित्य पुष्टि गर्न सकेनन् । ओलीले नेतृत्व गरेको सरकारको भार देशले अब थेग्न र बोक्न सक्दैन । चोरलाई चौतारी साधुलाई शूली भएको छ ओलीराजमा ।

किस्ताबन्दीमा सपना बाँड्दै, शिलान्यास, उद्घाटन र पुरस्कार वितरणमा समय खर्चिएका प्रधानमन्त्री ओली जनतालाई खोक्रा आश्वासन बाँड्दै डोकामा दूध दोइरहेका छन् । जनताको आँसुमा पौडँदै, पेटमा लात हान्दै, सत्ताकै दाउपेचमा रमाइरहेका छन् । जनताको मन जित्न, आश्वस्त पार्नुको सट्टा जनताको मानमर्दन गर्न अग्रसर छन् ओली । जनताप्रति उत्तरदायी भएन सरकार । सरकारको कूटनीति पूरै विफल र कमजोर भएको छ । राज्यसंयन्त्रलाई तहसनहस पारे केपीले । तराई–मधेसका दलसँगको दूरी झन् बढेको छ । सरकारप्रतिको जनताको भरोसा र विश्वास गुमेको छ । ओलीले नेतृत्व गरेको सरकारको मुखुण्डो उघ्रिसकेको छ । मरेपछि डुमै राजा भन्ने उखान चरितार्थ गर्ने दुस्प्रयास गर्दै छन् केपी । शृङ्गारपटार गरी शब्दजालले मात्र भरिएको ओली सरकारको नीति तथा कार्यक्रम र बजेट कर्मकाण्डी, दश कक्षाका विद्यार्थीले लेख्ने निबन्धजस्तै र झुटको पुलिन्दामै सीमित छ ।

निर्वाचन लोकतन्त्रलाई संस्थागत गर्ने अनिवार्य सर्त हो । लोकतन्त्रको सुन्दरता र विशेषता आवधिक निर्वाचन हो । प्रधानमन्त्री केपी शर्मा ओलीको भारदारी सभाबाट निर्णय भई, २०७३ मङ्सिरमा स्थानीय निर्वाचन गर्ने सरकारको प्रकाशित कार्यतालिका लावारिस बन्ने पक्कापक्कीजस्तै छ । स्थानीय निकायको सिमाना निर्धारण आयोगले भदौभित्र प्रतिवेदन बुझाउन नसक्ने प्रस्ट पारिसकेको छ । चुनाव गर्छु भनेर भ्रमको खेती गर्दै सफेद झुट बोल्दै छ सरकार । यो निर्वाचन नगराउने लक्षण हो । सरकारले स्थानीय, राष्ट्रिय र प्रादेशिक तीनवटै निर्वाचनको घोषणा गरे पनि निर्वाचन आयोग नेतृत्वविहीन छ । बाँकी सदस्यको नियुक्ति हुन सकेको छैन । संसद्मा सबैभन्दा ठूलो दल प्रमुख प्रतिपक्ष जसलाई लोकतन्त्रमा छाया सरकारको रूपमा लिइन्छ, त्यो दललगायत अन्य दललाई विश्वासमा नलिई ओली सरकार एकलौटि ढङ्गबाट अगाडि बढ्दै सत्ताको उन्माद देखाउनु प्रधानमन्त्री ओलीकै लागि पनि राम्रो लक्षण होइन ।
आयुर्वेदका चर्चित आचार्य नागार्जुनलाई एकजना सहायकको आवश्यकता पर्‍यो । सम्भावितमध्येबाट दुईजनालाई छनोट गरे आचार्यले । दुवै युवकलाई एउटा पदार्थ दिएर रसायन तयार गर्न अह्राए । दुईमध्ये एकजनाले आमालाई ज्वरो आएको, बाबुको खुट्टा दुखेको, भाइको हात भाँचिएकाले उनीहरूको सेवा गर्दै भए पनि रसायन तयार गरेर ल्याएको जवाफ दिए आचार्यलाई खुसी पार्न । अर्को युवकले जवाफमा भने– आचार्य मैले तपाईंले दिएको काम गर्न सकिनँ । छिमेकमा एक वृद्धा सिकिस्त बिरामीको सेवा गर्ने कोही पनि थिएनन् । उनी कमजोर भएको कारण म उनको सेवामा लागिरहेँ । जसले गर्दा मैले रसायन तयार गर्ने समय पाइनँ । दोस्रो युवकको जवाफ सुनेर आचार्य खुसी भएर भने– रसायन जीवनरक्षाका लागि हुन्छ । यसलाई त्यही मानिसले बनाउन सक्छ जसले अरूको दु:ख,–पीडा बुझ्न सक्छ । त्यसैले तिमी नै यो नोकरीका लागि योग्य छौ । आफ्ना आफन्त, नेता–कार्यकर्ता सहयोगीको सेवा र उखानतुक्काको रसायन बनाउन सफल भए पनि जनताको सेवा गर्न असफल सावित भए प्रधानमन्त्री केपी शर्मा ओली ।

संविधान देशको मूल कानुन हो । संविधानभन्दा माथि कोही हुँदैन । कानुनको सर्वाेच्चताबारे १७औँ शताब्दीमा एकजना अङ्ग्रेज चर्चम्यान फुलरको भनाइ चर्चित छ, ‘तिमी जति माथि भए पनि कानुन तिमीभन्दा सदैव माथि हुन्छ ।’ संसारका अदालतले फुलरको यो भनाइलाई मार्गदर्शनको रूपमा लिएको पाइन्छ । यसको जगमा टेकेर अदालतले न्याय सम्पादन गरेका नजिर स्थापित छन् । भारतको बहुचर्चित बोफोर्स तोप घोटाला काण्डमा भारतका बहालवाला प्रधानमन्त्री राजीव गान्धी अदालतको आदेशको सम्मान गर्दै सीबीआईमा उपस्थित हुनुपरेको एकपटक स्मरण गर्न जरुरी छ प्रधानमन्त्री केपी शर्मा ओलीले । हेक्का रहोस्, क. ओलीलाई देशको संविधान, ऐन, कानुनभन्दा माथि कोही हुँदैन ।
(लेखक सहिद श्रीप्रसाद पराजुलीपुत्र हुन् ।)