महालेखामा डेढ दर्जन प्रतिस्पर्धी

महालेखामा डेढ दर्जन प्रतिस्पर्धी


महालेखापरीक्षकको कार्यालय

उमेरहदका कारण भानुप्रसाद आचार्य महालेखा परीक्षकबाट अवकाश हुनुभएपछि रिक्त हुन आएको पदमा करिब डेढ दर्जन उम्मेदवारको आवेदन परेको समाचार प्राप्त भएको छ । विभिन्न संवैधानिक पदहरूमा नियुक्तिका क्रममा भागबन्डा हुँदा नेपाली कांग्रेसको भागमा परेको महालेखा परीक्षकमा पूर्वसचिव भानुप्रसाद आचार्यको नियुक्ति भएको थियो । निर्वाचन आयोगको प्रमुख आयुक्तमा माओवादीनिकटका अयोधीप्रसाद यादवको नियुक्ति भएको छ भने विभिन्न मुलुकका राजदूत र न्यायाधीशहरूको नियुक्ति प्रस्ताव गर्दा एमालेले झन्डै नब्बे प्रतिशत आफ्नो पार्टी समर्थकहरूलाई मौका दिएको छ । महालेखा परीक्षकमा पनि एमालेले आफ्ना समर्थक टंकमणि शर्मा र जयमुकुन्द खनालमध्ये एकलाई नियुक्त गर्ने सोच बनाएको छ । त्यस्तै, विश्वप्रकाश पण्डित र युवराज भुसाल कांग्रेसको कोटाबाट महालेखा परीक्षक बन्ने लाइनमा छन् । पण्डित देउवानजिकको मानिन्छन् भने भुसाल रामचन्द्र पौडेलका सम्धी हुन् ।

त्यस्तै एमालेका तर्फबाट कर फस्र्योट आयोगमा बसी रातारात अर्बपति बन्ने मौका पाएका चार्टर्ड एकाउन्टेन्ट उमेश ढकालले पनि महालेखा परीक्षक बन्न आवेदन दिएका छन् । एमालेभित्रको एउटा पक्षले ढकाललाई महालेखा परीक्षक बनाउन लबिङ गरिरहेको छ । तर, एमालेले सक्यो भने टंकमणि शर्मा या जयमुकुन्द खनाललाई महालेखा परीक्षक बनाउने छ । सो पदमा आपूर्तिसचिव श्रीधर सापकोटाको पनि आवेदन परेको बुझिएको छ । हालसम्म कुनै पार्टीविशेषको मानिसका रूपमा नचिनिएका सापकोटालाई महालेखा परीक्षक बनाउन कुनै राजनीतिक दल या तिनका नेता लागिपर्ने देखिएको छैन । तर, दलहरूबीच सहमति बन्न सकेन र कुनै तटस्थ व्यक्तिलाई नियुक्ति दिनुपर्ने अवस्था आयो भने श्रीधर सापकोटाको चयन हुनसक्ने सम्भावना छ ।