पोखराबाट नेपाल–भारत मैत्री बससेवा सञ्चालन

पोखराबाट नेपाल–भारत मैत्री बससेवा सञ्चालन


पोखराबाट नेपाल–भारत मैत्री बससेवा

गत जेठ ३१ मा भएको सम्झौताअनुसार पोखरा–दिल्ली र दिल्ली–पोखराका लागि नेपाल–भारत मैत्री बस सेवा सञ्चालन भएको छ । गत सोमबारदेखि सञ्चालनमा आएको बससेवा मोडर्न इरा टुर्स एन्ड ट्राभल्स र भारत सरकारको उत्तर प्रदेश परिवहन निगम गाजियावाद डिपोको संयुक्त प्रयासमा सुरु भएको हो ।

पोखराको पर्यटन बसपार्कबाट नयाँदिल्लीका लागि दैनिक बिहान ९ बजे बस छुट्ने ट्राभल्सका अध्यक्ष केशवप्रसाद अधिकारीले जानकारी दिए । उक्त मैत्री बस पोखराबाट स्याङ्जा, वालिङ, बुटवल, सुनौली सीमा हुँदै गोरखपुर, लखनउ र दिल्ली पुग्नेछ । दिल्लीबाट पनि दैनिक बिहान ९ बजे बस छुट्ने बताइएको छ । पृथ्वी राजमार्ग बस सञ्चालक समितिअन्तर्गत सञ्चालन हुने उक्त बससेवामा नेपाल र भारतका तर्फबाट चार–चारवटा बस सञ्चालन हुनेछन् भने बसभाडा तीन हजार पाँच सय २० तय गरिएको छ ।

स्मरणीय छ, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबाट सन् २०१४ मा भएको नेपाल भ्रमणका बेला नेपाल र छिमेकी मित्रराष्ट्र भारतबीच सीधा सम्बन्ध जोड्नका लागि दुवै मुलुकका प्रमुख सहरबाट सीधा बससेवा सञ्चालन गर्न सम्झौता भएको थियो । उक्त सम्झौताअनुसार काठमाडौं–दिल्ली र काठमाडौं–बनारसका लागि बस सञ्चालन भइरहेको छ ।