‘नागरिक नै प्रहरीको शक्ति’

‘नागरिक नै प्रहरीको शक्ति’


विज्ञानराज शर्मा

परासी/ नवलपरासीको कावासोतीमा एक कार्यक्रममा बोल्ने वक्ताहरूले अबका प्रहरीले घमण्ड र अहमतालाई त्यागेर नयाँ ढङ्गबाट प्रस्तुत हुनुपर्ने बताएका छन् । अबको प्रहरी अनुशासित भएर आउनुपर्ने भन्दै वर्तमान समयमा प्रहरीका अनुसन्धान फितलो भएको आरोपसमेत उनीहरूले लगाए । प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागको आयोजनामा अपराध नियन्त्रण तथा अनुसन्धानमा प्रहरी–नागरिकको सहकार्यसम्बन्धी अन्तरक्रियाका वक्ताहरूले त्यस्तो भनाइ राखेका हुन् । सीमा क्षेत्रबाट सरुवा भई जाने प्रहरीको ठाउँमा अर्को नआउँदा प्रहरी दरबन्दी घट्न गई शान्तिसुरक्षा कार्यमा चुनौती थपिएको सुझाव पनि उनीहरूले दिएका थिए । सुझावका क्रममा प्रहरी मेरो साथी कार्यक्रमले नागरिक र प्रहरीबीचको दूरी घटेको र आपसी समन्वय बढेको चर्चासमेत गरियो ।

सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्माले दक्षिण एसियामा नेपाल प्रहरीको अनुसन्धान कार्य अग्रणी रहेको दाबी गर्दै प्रहरीको शक्ति भनेको नागरिक नै भएकाले नागरिकको सहयोगबिना प्रहरी एक इन्च पनि चल्न नसक्ने धारणा व्यक्त गरे । एआईजी शर्माले प्रहरी सङ्गठनमा आँच पुग्ने प्रकारका गैरकानुनी कार्यमा संलग्न जुनकुनै पदका प्रहरी पनि कडाइका साथ कारबाहीको भागीदार बन्ने जिकिर गरे । कार्यक्रममा पश्चिम क्षेत्रीय प्रहरी नायब महानिरीक्षक कमलजंग बम, नवलपरासीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थ, लुम्बिनी अञ्चलक वरिष्ठ प्रहरी उपरीक्षक शेरबहादुर बस्नेत, नवलपरासीका प्रहरी प्रमुख राजेन्द्रप्रसाद चौधरीलगायतले अन्तरक्रियामा उठेका सल्लाह–सुझावलाई अक्षरश: पालन गर्ने प्रतिबद्धता जनाए । उक्त कार्यक्रममा राजनीतिक दल, नागरिक समाज, सङ्घ–संस्थाका प्रतिनिधिका साथै जिल्लास्थित सुरक्षा निकायका प्रमुख एवम् स्थानीय सर्वसाधारणको पनि उपस्थिति रहेको थियो ।

सशस्त्रका एकहत्तर सई दीक्षित
RP Pic

नवलपरासी बर्दघाटस्थित सशस्त्र प्रहरी बल युक्ति तालिम महाविद्यालयमा एक कार्यक्रमबीच सशस्त्र प्रहरी सहायक निरीक्षकलाई दीक्षित गरिएको छ । सि.सं. ११ सशस्त्र प्रहरी सहायक निरीक्षक आधारभूत तालिममा सफल भएका ७१ जना सहायक निरीक्षकलाई गत साता विधिवत् दीक्षित गरिएको र उनीहरूलाई कार्यक्षेत्रमा जान अनुमतिको घोषणा गरिएको हो ।

प्रशिक्षण व्यवस्थापन र दक्ष जनशक्ति उत्पादन गर्न आधारभूत तालिम र पेसागत तालिम दिँदै आएको महाविद्यालयले पछिल्लो समयमा २०७१ साउनमा नियुक्त भएका ३ र २०७२ साउनदेखि प्रशिक्षार्थीलाई पूर्ण दीक्षित गराइएको जनाइएको छ । दीक्षान्त समारोहमा सशस्त्र प्रहरी बलका महानिरीक्षक दुर्जकुमार राईले राष्ट्रले दिएको जिम्मेवारीलाई अक्षरश: पालन गर्नु सबैको कर्तव्य रहेको बताउनुभयो । उहाँले पेसाप्रति इमानदारी र राष्ट्रप्रति जिम्मेवारीको मूलमन्त्रअनुसार सङ्गठन अगाडि बढिरहेको बताउँदै उहाँले सङ्गठनभित्र पूर्ण पारदर्शिता अपनाइएको जिकिर गर्नुभयो ।
अतिरिक्त महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, शैलेन्द्रकुमार खनाल, नायव महानिरीक्षक रामशरण पौडेल, प्रमुख जिल्ला अधिकारी महादेव पन्थ, तालिम केन्द्रका समादेशक मन्दीप श्रेष्ठलगायतको उपस्थिति रहेको कार्यक्रममा तालिममा उत्कृट प्रतिक्षार्थी पूर्ण थापा, कवाजमा प्रथम, चाँदमारीतर्फ मदम गोले प्रथम भएकालाई पुरस्कारसहित सम्मान गरिएको थियो ।

त्यसैगरी जिल्ला प्रहरी कार्यालय नवलपरासीको आयोजनामा ‘प्रहरी मेरो साथी’ अभियानलाई एक कार्यक्रममार्फत परासीमा शुभारम्भ गरिएको छ । समुदायमा प्रहरी सेवाको महत्त्व र आवश्यकताको पहिचान, समुदायप्रति प्रहरी सेवाको सहज उपलब्धता तथा समुदायमा प्रहरीसेवा सहज पहुँच, प्रहरीको समुदाय र समुदायको प्रहरीप्रति सकारात्मक दृष्टिकोण राख्नु कार्यक्रममको उद्देश्य रहेको बताइएको थियो । नवलपरासीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थको आतिथ्यतामा आयोजित कार्यक्रममा प्रहरी उपरिक्षक राजेन्द्रप्रसाद चौधरीले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो ।
– आर.पी. उपाध्याय