बहुरुपिया प्रचण्ड !

बहुरुपिया प्रचण्ड !


Amar Deep Moktan

– अमरदीप मोक्तान

यदि कुनै अघटन नभए केही दिनभित्रै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दोस्रोपटक केही महिनाका लागि नेपालको प्रधानमन्त्री बन्ने लगभग तय छ । प्रचण्डनिवास लाजिम्पाटको थोरै दूरीमा रहेको बालुवाटारस्थित प्रधानमन्त्रीनिवासमा प्रचण्ड केही दिन बास गर्नेछन् । ओली सरकारका प्रमुख घटक माओवादी केन्द्रले सरकारबाट समर्थन फिर्ता लिएपश्चात् वर्तमान सरकार अल्मतमा परेको छ । माओवादी केन्द्रको समर्थन–फिर्ता पत्र प्राप्तिपश्चात् अल्पमतमा परेको केपी ओलीले राजीनामा नदिने घोषणा गरेपश्चात् माओवादी केन्द्रका वर्तमान सहयोगी काङ्ग्रेस, मधेसी मोर्चा तथा केही साना दलले संसद् सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । यहाँसम्म कि माओवादी केन्द्र तथा काङ्ग्रेसबीच कथित रूपमा भएको पाँचबुदे सहमतिअनुसार मन्त्रालयको बाँडफाँडसमेत भइसकेको छ ।

झुठ र धोखाका बादशाह प्रचण्ड तथा मधेशी–काङ्ग्रेस गठबन्धन अप्राकृतिक हो भनौँ भने गठबन्धन बन्ने लगभग तय छ । आउने दिनमा भीमकाय रूपमा थाती रहेका समस्याहरू अब बन्ने माओवादी–काङ्ग्रेस गठबन्धन सरकारले कसरी पुरा गर्नेछन्– त्यो हेर्न बाँकी छ । प्रचण्डको इतिहास हेर्दा भद्र सहमति पालन नगरेको भनी सरकारबाट बाहिरिएका प्रचण्डले मधेसी मोर्चा तथा काङ्ग्रेससँग भएको आन्तरिक भद्र सहमति पालन गर्लान् भन्नेमा घोर शङ्का छ । आदिवासी जनजाति मधेसी थारूलगायत धेरैलाई झुक्याउने प्रचण्डले पुन: मधेसी मोर्चा तथा काङ्ग्रेसलाई नझुक्याउलान् भन्न सकिन्न ।

नेपालीको इतिहास भुल्ने बानी भएकाले ‘राष्ट्रप्रमुख’ हुन लागेका प्रचण्डको विगत स्मरण गराउनु सान्दर्भिक होला । स्मरण होस्, प्रचण्डले प्रथमपटक प्रधानमन्त्रीको शपथ लिएको दोस्रो दिन कोसी नदीले भयङ्कर रूप धारण गर्दै धेरै ज्यान–मालको नोक्सानी पुर्‍याएको थियो, अर्थात् अशुभ भएको थियो । भाग्यको दोधारमा उभिएको नेपालको प्रधानमन्त्रीमा पुन: दोस्रोपटक प्रचण्ड हुने योग बनेको छ । जन्मसिद्ध झुक्याउने आदतका कारण आज नेपालमा पैदा भएको अस्तव्यस्त स्थितिका मुख्य जिम्मेवारमध्ये प्रचण्ड पर्दछन् भन्दा अन्यथा हुनेछैन । अन्तरिम संविधानलाई धुजाधुजा बनाउने तथा न्यायपालिकालाई समेत इतिहासमा कलङ्कित बनाउने योजनाकार प्रचण्ड नै थिए । पहाडका सोझासाझा आदिवासी जनजातिलाई धोका दिएर मधेसबाट चुनाव लड्ने घोषणा गर्दा प्रचण्डद्वारा पहाडमा झुक्याइएका जनताले पहाडको अनिष्टकारी ग्रह मधेसमा सर्ने भयो भनी खुसी प्रकट गरेका थिए । झुटको पोको, वाचाका व्यापारी, विश्वास गर्नै नहुने पात्र प्रचण्डको मधेसबाट चुनाव लड्ने उद्घोष गर्दा पहाडी जनता त शरीरको पिलो पन्छिने भयो भनेर हर्षित भएका थिए ।

प्रचण्डको झुट र धोखाका कथा यति धेरै छन् कि जसको वर्णन गरिए एउटा ठूलो पुस्तकको निर्माण हुन सक्छ । कुरा फेर्न सिपालु प्रचण्ड पटक–पटक कुरा फेरेकोमा किञ्चित पनि पश्चात्ताप बोध गर्दैनन् । भारतविरुद्ध सुरुङ युद्ध गर्ने प्रचण्ड–उद्घोष गर्दै भारतीय झन्डामाथि बुटले कुल्चेको पोस्टर छाप्ने माओवादी नै हुन् । १२ पटकसम्म मधेसवादी दलको बहिष्कारका कारण प्रधानमन्त्री बन्न नपाउँदा खिन्न भएर भारतलाई इङ्गित गर्दै ‘विदेशी प्रभु’ले गर्दा पाइनँ भन्ने रुन्चे अभिव्यक्ति दिने प्रचण्ड नै हुन् । बाबुराम प्रधानमन्त्री हुनासाथ नेपालका अन्य नेताको तुलनामा बढी भारतपरस्त देखिने नेता पनि प्रचण्ड नै हुन् भन्ने सर्वविदित नै छ । स्मरण होस्, नेपालको प्रधानमन्त्रीको रूपमा भारत भ्रमणको क्रममा हिन्दूवादी समर्थक भारतीय पत्रकारले प्रचण्डलाई भारतविरोधी किन ? भन्ने प्रश्न गर्दा प्रचण्डले सोझै नकार्दै ‘राम भारत अयोध्याको, सीता जनकपुर नेपालको हामी कसरी भारतको विरोधी हुन सक्छौँ ?’ भन्ने जवाफ दिएका थिए । नेपाल–भारतको रोटीबेटीको सम्बन्ध छ भन्ने उनको बयानप्रति आश्चर्य प्रकट गर्दै प्रचण्डको बहुरुपिया चरित्रबारे हिन्दूवादी पत्रिका अर्गनाइजरमा लेख प्रकाशित भएको थियो ।

प्रचण्डको झुट र धोखाका कथा यति धेरै छन् कि जसको वर्णन गरिए एउटा ठूलो पुस्तकको निर्माण हुन सक्छ । कुरा फेर्न सिपालु प्रचण्ड पटक–पटक कुरा फेरेकोमा किञ्चित पनि पश्चात्ताप बोध गर्दैनन् । भारतविरुद्ध सुरुङ युद्ध गर्ने प्रचण्ड–उद्घोष गर्दै भारतीय झन्डामाथि बुटले कुल्चेको पोस्टर छाप्ने माओवादी नै हुन् । १२ पटकसम्म मधेसवादी दलको बहिष्कारका कारण प्रधानमन्त्री बन्न नपाउँदा खिन्न भएर भारतलाई इङ्गित गर्दै ‘विदेशी प्रभु’ले गर्दा पाइनँ भन्ने रुन्चे अभिव्यक्ति दिने प्रचण्ड नै हुन् । बाबुराम प्रधानमन्त्री हुनासाथ नेपालका अन्य नेताको तुलनामा बढी भारतपरस्त देखिने नेता पनि प्रचण्ड नै हुन् ।

नेपाली जनतासामु अहिले पनि प्रचण्ड कारनामा झल्झली छ । प्रचण्डले कसलाई मात्र झुक्याएनन् ? सेरेमोनियल राजा बनाउँछु भनी राजालाई झुक्याए, गिरिजाप्रसाद कोइराला, माधव नेपाललाई राष्ट्रपति बनाउँछु भनी झुक्याए । आदिवासी, मधेसी, सुशील कोइरालालाई प्रधानमन्त्री बनाउछु भनी मूर्ख बनाए । बाबुराम भट्टराईको बहिर्गमनका लागि स्वतन्त्र व्यक्तिको नाममा संविधानसभा हत्याको वातावरण निर्माण गर्ने सर्वोच्चका मुख्य न्यायाधीश खिलराज रेग्मीको नाम प्रस्ताव गरी काङ्ग्रेस, एमालेलाई समेत घुँडा टेकाउँदै अन्तत: खिलराज रेग्मीलाई प्रधानमन्त्री बनाएर नै छाड्ने पनि प्रचण्ड नै हुन् । प्रचण्डको कारण न्यायपालिकामाथि कहिले नमेटिने कालो धब्बा लागेको छ ।

न्यायपालिकाको गरिमा तथा निष्ठालाई इतिहासमा कलङ्कित बनाउनसमेत चुकेनन् प्रचण्ड । नेपालको अन्तरिम संविधान धुजा–धुजा भई रद्दी कागजमा परिणत गराउने त्यसका मुख्य अभियुक्त र कारकतत्त्व पनि प्रचण्ड नै हुन् । हिन्दूका आराध्यदेव पशुपतिनाथ तथा भगवान् बुद्धको जन्मस्थल लुम्बिनीमा अतिक्रमण गर्ने दुस्साहसी पात्र प्रचण्ड नै हुन् । पहाडका आदिवासी जनजातिले प्रचण्डपोषण गर्दा धेरै गुमाएका, प्रचण्डपोषण गर्दा पहाडका जनजाति आदिवासी क्षेत्रमा रगतको खोलो बगेको थियो, गाउँका गाउँ सुनसान भयो । सबैभन्दा बढी त्याग, बलिदान, सहादत दिने आदिवासीले के नै प्राप्त गरे र हात लग्यो शून्यबाहेक ?

आफ्नै दम्भका कारण प्रधानमन्त्री पद गुमाएका प्रचण्ड पुन: दोस्रोपटक प्रधानमन्त्री बन्नेछन्, तर राष्ट्रले के पाउने त्यो मूल कुरा हो । प्रधानमन्त्री जो कोही बनुन्, तर राष्ट्रिय स्वाभिमान, राष्ट्रिय अखण्डतामाथि खलल पुर्‍याउने कार्य नेपाली जनतालाई असहनीय हुनेछ भनी मनन गर्न जरुरी छ । प्रचण्डले प्रधानमन्त्री पद प्राप्तिपश्चात् भूकम्पले ध्वस्त बनेका पहाडका जनतालाई एकमुष्ट तीन लाख दिने वचनको पालन गर्लान् ? अखण्ड चितवनसमर्थक प्रचण्ड तथा अखण्ड सुदूरपश्चिमसमर्थक शेरबहादुर देउवाले एक मधेस दुई प्रदेश, जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्र तथा वैवाहिक अङ्गीकृतलाई वंशज नागरिकसरह प्रधानमन्त्री, राष्ट्रपतिलगायत उच्च पद प्राप्त हुन सक्ने मधेसी मोर्चाको माग सम्बोधन गर्लान् ? बहुरूपका धनी प्रचण्डले प्रधानमन्त्री पदमा आसीन भएपछि कि राष्ट्रलाई नै धरापमा पार्ने हुन् ? विगतमा जस्तै पदीय गरिमाविपरीत आचरण प्रस्तुत गरेर नेपाललाई नै अस्थिर तुल्याउने हुन् ? गम्भीर सवाल मडारिएको छ र जवाफ पाउन जनता व्यग्र प्रतीक्षामा छन् ।