सातौँ राष्ट्रिय खेलकुदको तिथि तय

सातौँ राष्ट्रिय खेलकुदको तिथि तय


सातौँ राष्ट्रिय खेलकुद

दुईपटक मिति घोषणा भए पनि बजेटको समस्या र मधेस आन्दोलनका कारण स्थगित भएको सातौँ राष्ट्रिय खेलकुदको नयाँ मिति तय भएको छ । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा आइतबार बसेको राष्ट्रिय खेलकुद परिषद्को १०६औँ बोर्ड बैठकले राष्ट्रिय खेलकुदको नयाँ मिति तोकेको हो । राखेप अध्यक्ष युवा तथा खेलकुदमन्त्री सत्यनारायण मण्डलको अध्यक्षतामा बसेको बैठकले सातौँ राष्ट्रिय खेलकुद पूर्वाञ्चलमा मङ्सिर ८ देखि १५ गतेसम्म गर्ने निर्णय गरेको राखेपका प्रेस सल्लाहकार रोहित दाहालले जनाएका छन् ।

यसअघि पहिलोपटक सातौँ राष्ट्रिय खेलकुद पूर्वाञ्चलमा गत वर्षको मङ्सिर ११ देखि १८ गतेसम्म हुने भनिएको थियो । दोस्रोपटक गत वर्षकै फागुन १८ देखि २३ गतेलाई तय भएको थियो । त्यस्तै बैठकले १३औँ दक्षिण एसियाली खेलकुद (साग) को तयारीका लागि राखेपले तयारी डेस्क स्थापना गर्ने निर्णय गरेको छ । भारतमा गत फेब्रुअरी १६ तारिखमा सम्पन्न १२औँ सागको समापनका अवसरमा नेपाललाई १३औँ साग आयोजनाका लागि झन्डा हस्तान्तरण गरिएको थियो ।

भेट्रान्स टेबलटेनिसमा पाँच राष्ट्रका ७२ खेलाडी
प्रथम दक्षिण एसियाली भेट्रान्स टेबलटेनिस प्रतियोगितामा नेपालसहित पाँच राष्ट्रका ७२ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । प्रतियोगिता आयोजक नेपाल भेट्रान्स टेबलटेनिस सङ्घका उपाध्यक्ष एवम् आयोजक समितिका अध्यक्ष नवीनबहादुर शाक्यले सोको जानकारी गराए हुन् । उक्त प्रतियोगितामा नेपालबाट २४ खेलाडी सहभागी हुनेछन् । त्यस्तै माल्दिभ्स, बंगलादेश, पाकिस्तान र भारतबाट जम्मा ४८ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता साउन ८ गतेदेखि सुरु हुँदै छ । आठ स्पर्धा समावेश प्रतियोगितामा ४० र ५० वर्षमाथिको पुरुष–महिला टिम तथा ४० र ५० वर्षमाथि पुरुष–महिला सिंगल्स खेल हुने बताइएको छ । क्वार्टरफाइनलसम्मका खेल ‘वेस्ट अफ फाइभ’ तथा सेमिफाइनल र फाइनल ‘बेस्ट अफ सेभेन’का आधारमा खेलाइनेछ । तीनदिने प्रतियोगिताका खेल लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रको हलमा हुनेछ । प्रतियोगिता सञ्चालन गर्न २० निर्णायक खटिने आयोजकले जनाएको छ ।