बोर्ड बैठकमा मन्त्रीको छोराको विवाहको एजेन्डा !

बोर्ड बैठकमा मन्त्रीको छोराको विवाहको एजेन्डा !


Surendra Hamal

युवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डलले राष्ट्रिय खेलकुद परिषदको वोर्ड बैठकमा आफ्नो छोराको विवाहको चर्चा गर्दा हङ्गामा मच्चिएको बुझिएको छ । राखेपको १०६ औं वोर्ड वैठक सूचारु रुपले संचालन भैरहेको अवस्थामा मन्त्री मण्डलले विनाएजेन्डा छोराको विवाहको प्रसङ्ग वोर्डमा उठाएर वैठकलाई राजनीतिक रङ दिएका थिए । आपसी छलफलवाट एजेन्डाहरू पास भैरहेको अवस्थामा मन्त्री मन्डलले राखेपका कोषाध्यक्ष सुरेन्द्र हमालतर्फ औंला तेर्साउँदै भिन्न विचारधारा राख्नेहरूले आफ्नो बदनाम गरेको आरोप लगाएपछि वैठकको बाताबरण तातेको थियो । उनले अझ चर्कंदै ‘तपाई राखेपको कोषको राजा, कोषाध्यक्षले मेरो छोराको विवाहमा कति रुपैयाँ दिनुभएको छ ? घटना र विचार पत्रिकामा श्रीविक्रम भण्डारीले त यही कुरा लेखेको छ नि ?’ भनेपछि कोषाध्यक्ष र मन्त्रीबीच चर्काचर्की परेको थियो । त्यसपछि कोपाध्यक्ष हमालले पत्रिकाले आफुहरूको पनि उछित्तो काडेको तर्क गर्दै सर्वप्रथम राखेपले कोषध्यक्षलाई आफ्नो अधिकार कति प्रयोग गर्न दिएको छ ? त्यसको वारेमा सदस्यसचिव विष्टलाई सोध्नुहोस् भनेका थिए । राखेपमा आफ्नो अधिकार समेत प्रयोग गर्न नपाएको व्यक्तिले तपाईको छोराको विवाहको लागि कसरी आर्थिक सहयोग गर्न सक्छ भनेका थिए । त्यसपछि एजेन्डाविपरित मन्त्री मन्डलले वखेडा निकालेको भन्दै कांग्रेससमर्थित चार जना सदस्यले वैठक वहिस्कार गरेका थिए । बैठक वहिस्कार गर्नेहरूमा कोषाध्यक्ष सुरेन्द्र हमालसहित शैलेश कर्माचार्य, उपेन्द्र यादव र अस्मिता गुरुङ थिए ।

बोर्ड वैठकमा अनावश्यक रुपमा मन्त्री मण्डलले वखेडा निकालेपछि उनी राखेपका अध्यक्ष भएर वैठकको अध्यक्षता गरेका हुन् कि बेहुलो छोराको बाउको रुपमा भन्ने सवाल पैदा भएको छ । अन्यथा मन्त्री जस्तो जिम्मेवार व्यक्तिले अनाहकमा वोर्ड वैठकलाई विथोल्ने कार्य नगर्नुपर्ने थियो । मन्डलको यो हर्कतले मर्नेबेलामा कमिलाको प्वाँख आउने कथनलाई स्मरण गराएको छ । अन्यथा खेलकुदका वारेमा सधैं मौनता साँध्ने मन्डलले छोराको विवाहको प्रसङ्ग वोर्ड वैठकमा किन उठाए ? कतै यो अस्ताउन लागेको सरकारको पीडा त होइन ? प्रश्न तेर्सिएको छ । मन्त्री मन्डलले कांग्रेससमर्थित सदस्यमाथि गरेको यो रवैयाप्रति नेपाल लोकतान्त्रिक खेलकुद संघले आपत्ति प्रकट गर्दै घोर विरोध जनाएको छ । संघका अध्यक्ष देवेन्द्र शेरचनले यो निन्दनिय कार्य भएको भन्दै मन्त्री मन्डललाई आफ्नो बोलीमा लकाम लगाउन सचेत गराएका छन् ।