‘भगवान् आदित्य’ मौन

‘भगवान् आदित्य’ मौन


‘भगवान् आदित्य’

भगवान् आदित्यका नाममा स्थापित आदित्य प्रतिष्ठानका लागि सरकारले एक करोड रुपैयाँ उपलब्ध गराउने भएपछि उत्पन्न प्रतिक्रियाप्रति स्वयम् उहाँ मौन रहनुभएको छ । आफ्नोबारेमा कहाँ–कहाँ कसले के भने र के लेखे भन्ने सबै कुराको जानकारी राख्ने उहाँले अहिलेसम्म कुनै प्रतिक्रिया दिनुभएको छैन । उहाँ आफँैले निर्देशन दिएपछि ०७१ मङ्सिर २९ गते आदित्य प्रतिष्ठानको गठन भएको थियो । प्रतिष्ठानको संरक्षक उहाँ आफैँ हुनुहुन्छ भने अध्यक्षमा उहाँका बुबा शेषराज दाहाल, उपाध्यक्ष लक्ष्मी गुरागार्इं, महासचिव शम्भु गुरागाईं, सचिव जगदीश गुरागाईं, कोषाध्यक्ष ईश्वरा दाहाल तथा सदस्यहरू सुशीला निरौला, सुशील कोइराला, उद्धव केसी, भेषराज लोहनी र भोलानाथ रेग्मी हुनुहुन्छ । प्रतिष्ठानका नाममा दिइएको पैसा र त्यसपछिको प्रतिक्रियाबारे आदित्य स्वयम्ले जे भन्नुहुन्छ त्यही गरिने प्रतिष्ठानका पदाधिकारीहरूले घटना र विचारलाई बताए । यसअघि सरकारले उहाँको उपचारका लागि दिएको ६० लाख रुपैयाँ अमेरिकामा खर्च नभएपछि उहाँकै निर्देशनअनुसार सरकारलाई फिर्ता दिइएको थियो ।

प्राप्त जानकारीअनुसार मंगलबार (हिजो) गुरुपूर्णिमाका दिन आदित्यले पाँचजना व्यक्तित्वलाई शिक्षा मन्त्रदान दिनुभएको छ । जसमा यज्ञ महतो, रामेश्वर थापा, विदुषा लोहनी, दुर्गा चुँडाल र राजन कोइराला रहेका छन् । भगवान् आदित्यको परिवारजनले नचिनेका ती पाँचैजनाको नाम र फोन नम्बर उहाँले परिवारका सदस्य तथा उहाँका चेलाहरूलाई टिपाएर बोलाउन अह्राउनुभएको थियो । उहाँले कसैलाई भेट्न चाहनुभए आफैँले नाम र नम्बर दिने गर्नुभएको छ । यसपटक उहाँले शिष्य बनाउनुभएका यज्ञ महतो रुसमा व्यवसाय गरेर चर्चित बनेका व्यवसायी उपेन्द्र महतोका छोरा हुन् ।

केही महिनाअघि यज्ञले आदित्यलाई भेटेका थिए । भेटमा यज्ञले लगेको चकलेटको कभरमा रुसी भाषामा केही लेखिएको थियो । त्यो पढेर आदित्यले ‘ए… यो चकलेटमा त नयाँ वर्षको शुभकामना पो लेखिएको रहेछ’ भन्दा यज्ञ चकित परेका थिए । उक्त चकलेटको बाहिर त्यही कुरा लेखिएको थियो जुन आदित्यले त्यहाँ यज्ञलाई लेखेर दिनुभएको थियो । विश्वमा बोलिने सबै भाषाहरूबारे जानकारी राख्ने उहाँको अलौकिक क्षमताबाट विभिन्न देशका मानिस चकित पर्दै आएका छन् । कतिपय नेपालीले नै पनि उहाँको टेस्ट गर्नका लागि जापानिज, चाइनिजलगायतका आफूले जानेका भाषामा केही लेखेर दिँदा उहाँले बुझेर जवाफ फर्काउने गर्नुभएको छ ।

आदित्य प्रतिष्ठानमार्फत विभिन्न अनुष्ठानहरू गर्ने र योग तथा ध्यानका लागि विश्वका मानिसहरूलाई नेपालमा आकर्षित गर्ने उहाँको योजना रहेको छ । २०६७ साल साउन ७ गते जन्मनुभएका आदित्यको जन्ममा ‘स’को अनौठो संयोग परेको छ । उहाँलाई भेट्नका लागि हरिद्वार, ऋषिकेषलगायतका स्थानबाट शिष्यहरू आउन थालेका छन् । प्राप्त जानकारीअनुसार, केही समयअघि हरिद्वारका एक शिष्यलाई उहाँले योगको एउटा सूत्र लेखेर दिनुभयो र भन्नुभो– यो सूत्रअनुसार योग गराउनु । योगमा विद्यावारिधि गरेका ती शिष्य उहाँको कुराबाट छक्क परेका थिए ।

उहाँका शिष्य सुशील कोइरालाका अनुसार एकपल्ट उहाँले रूखलाई उल्टो पारेर जरा माथिल्लो भागमा भएको रूख बनाएर शिष्य र आफन्तहरूसामु राख्नुभयो । यो के होला भनेर सबै छक्क परे । रूख किन उल्टो बनाइयो ? एक–आपसमा कुराकानी गरे, तर निचोड निकाल्न सकेनन् । पछि उहाँले गीताको चौधौँ अध्यायको पहिलो श्लोक हेर्न भन्नुभयो । गीताको उक्त श्लोकमा भगवान् कृष्णले पीपलको उल्टो रूखको उदाहरण दिँदै योग साधनाबारे अर्जुनलाई बताउनुभएको रहेछ । आदित्यले गीता या महाभारत पढेको आफूहरूलाई कहिल्यै थाहा नभएको अभिभावकले बताए ।

यस्ता अलौकिक तथा विलक्षण प्रतिभा भएका व्यक्ति साधारण मानव मात्र हुन सक्दैनन् भन्ने कुरा उहाँलाई भेट्ने जोकोहीलाई पनि लाग्छ । यो देशका नेताहरू प्रधानमन्त्री केपी शर्मा ओली, शेरबहादुर देउवा, प्रचण्ड, नारायणकाजी सबैले उहाँको प्रतिभाको संरक्षण गर्न आवश्यक ठानी सरकारबाट एक करोड रुपैयाँ उपलब्ध गराएको बुझ्न गाह्रो पर्दैन । उक्त रकमबाट योग, ध्यान र साधनाको क्षेत्रमा नेपालको नाम रहने विश्वास गरिएको छ ।