काङ्गे्रसले अब दक्ष युवा नेता जन्माउनुपर्छ

काङ्गे्रसले अब दक्ष युवा नेता जन्माउनुपर्छ


-मुक्तिनाथ खनाल
यतिबेला काङ्गे्रसको जिल्ला अधिवेशन चल्दै छ र अब चाँडै केन्द्रीय अधिवेशन पनि नजिकिँदै छ । काङ्गे्रसमा हेर्दै जाँदा गिरिजाप्रसाद कोइरालापछि भरलाग्दो नेता कोही देखिँदैन । यही चिन्ता हरेक कार्यकर्तामा परिरहेको देखिन्छ । जिउडाल देखेर मात्र हुँदो रहेनछ । कोइरालाको छविले मात्र अब काम गर्लाजस्तो पनि छैन । कृष्णप्रसाद, विश्वेश्वर कोइरालाको छवि गिरिजाबाबुको उचाइ र कमाण्डले काङ्गे्रस आजसम्म धानिएको थियो । हाल देखिएका नेताहरूमा न बोल्ने तरिका र खुवी छ न त सङ्गठन गर्ने प्रतिभा नै । यद्यपि काङ्गे्रस पार्टीको जन्म नै पुरानो भएकोले त्यतिबेला पार्टीले जन्माएका कार्यकर्ता धेरैजसो पुराना या वृद्धहरू नै छन् । हो, वृद्धहरूसँग विचार परिपक्व र प्रतिबद्धता छ तर जुझारूपन छैन र हुनसक्ने कुरा पनि भएन । पछि जन्मेका जति नेताहरू छन् तिनीहरूमा बोल्ने कला र चिन्तनको कमी छ । रामचन्द्र पौडेलजस्तो २/३ जनाले प्रजातान्त्रिक समाजवाद -हाल लोकतान्त्रिक गणतन्त्र)को व्याख्या गर्दैमा यति ठूलो पार्टीमा नगन्य नै हुन्छ ।
पार्टीभित्र पछि जन्मेका युवा कार्यकर्ता पनि अब ठूलै सङ्ख्यामा नदेखिएका होइनन्, तर उनीहरूलाई प्रशिक्षण छैन । नेतृत्व तथा वक्तव्यकलाको प्रशिक्षण दिएर मात्र उनीहरूलाई अरू पार्टीका कार्यकर्तासँग फेस गर्नसक्ने जुझारु बनाउन सकिन्छ । त्यसतर्फ पनि पार्टीले सोचेको देखिँदैन । काङ्गे्रसको शत्रु पार्टी भनेको माओवादी हो, उनीहरूका सशक्त र युवा फोर्ससँग फेस गर्न तालिमप्राप्त युवाशक्ति नै आवश्यक पर्छ । यद्यपि अहिलेको जिल्ला अधिवेशनले नवयुवाशक्तिको प्रवेश अत्याधिक भएको देखाउँछ । अब काङ्गे्रसले उनीहरूलाई तालिम दिएर अघि बढाउनुपर्छ तर काङ्गे्रसको दुभाग्य ! वृद्ध नेताहरूले युवाशक्तिलाई अघि बढ्नै नदिने परम्परा छ । यदि अब पनि केन्द्रीय सदस्य या मिति पुगिसकेका थोत्रा नेताहरूले पद ओगटिराख्छन् भने केही वर्षभित्र साँच्चिकै काङ्गे्रस पार्टी ढलेर इतिहासमा मात्र भावी कर्णाधारले पढ्न पाउने अवस्था आउनेमा शङ्का रहन्न ।
गाउँका धेरै युवाशक्ति माओवादीमा देखिन्छन् जो गाउँ-गाउँमा उद्दण्डता मच्चाउँदै हिँड्छन्, कोही नकाव लगाएर, कोही नलगाईकन, नकाव लगाए पनि अरू पार्टीका कार्यकर्तालाई त्रासदी बनाइराखेकोले उनीहरूसँग फेस गर्न सक्ने हालतमा छैनन् । कार्यकर्तालाई के भन्नु – माओवादी नेताहरूले सधैं भन्ने गरेको सवालको जवाफ दिन काङ्गे्रस नेताले नै सकेका छैनन् । जस्तै उनीहरूको भनाइ छ- राष्ट्रपति काङ्गे्रसको, प्रधानमन्त्री, मन्त्री र सभामुख एमालेको माओवादीको कोही छैन अब, हाम्रो नेतृत्वमा अबको सरकार हुनुपर्छ । त्यति सानो कुराको जवाफ काङ्गे्रससँग छैन । जुन समयमा राष्ट्रपति, सभामुख निर्वाचन भए त्यतिबेला माओवादी प्रधानमन्त्री पुष्पकमल दाहाल थिए । उनले आफ्नो खुसीले राजीनामा दिए, राष्ट्रपति र सभामुखले राजीनामा दिनुभएन । त्यतिबेला सबै प्रमुख पार्टीलाई एक-एक प्रमुख पद सहमतिबाटै भोट दिएकै हुन्, माओवादीले दोहोर्‍याएर प्रधानमन्त्री माग गरिरहन मिल्छ – खोइ काङ्गे्रसले जवाफ दिन सकेको – नेका महासचिव विमलेन्द्र निधि र सहमहामन्त्री अर्जुननरसिंह केसीजस्ता प्रवक्ताबाट केही आवश्यक जवाफ आउँदैन ।
अर्को अहम् प्रश्न छ- संसदीय समितिहरूमध्ये राज्य पुनर्संरचना समितिका सभापति छन् माओवादीका लोकेन्द्र विष्ट । उनी भन्छन्- ‘समितिले निर्णय गरिसकेको सङ्घीघताको संरचनामा अब गठन हुने आयोगले अब शब्दको कुरै छाडौँ एउटा कमासम्म पनि संशोधन हुन सक्दैन, अब गठन हुने आयोगले अनुमोदन मात्र गर्ने हो ।’ एक त त्यतिबेला काङ्गे्रसलगायत अरू पार्टीको ठूलो कमजोरी थियो, यद्यपि अरूको अनुपस्थितिमा आफ्नो पार्टीको बहुमत सदस्यको उपस्थितिलाई मौका छोपी माओवादीको संरचनाअनुसार निर्णय भएको सबैलाई थाहा छ । ढिलै भए पनि काङ्गे्रसलाई होस आएपछि संविधानको धारा १३८-२) अनुसार राज्य पुनर्संरचना आयोग गठन गर्ने प्रसङ्ग चलेको छ । देशको मूल कानुन अन्तरिम संविधानअनुसार आयोग गठन नभई उसले के-कस्तो सुझाव दिने हो भन्ने कुरा बाँकी रहेकै अवस्थामा आयोगले दिएको सुझावअनुसार गर्ने कर्तव्य भएको समितिले अवैध निर्णय गर्दैमा कमासम्म पनि थपिन सक्दैन भनेर संसद्लाई कसैले जवाफ दिन सकेको छैन । अब काङ्गे्रसले यस्तो कार्य-विभाजन गरोस् कि प्रस्ट बोल्न नसक्ने प्रवक्ताभन्दा कुन पार्टीको कस्तो व्यक्तिले बोलेको कुरा खण्डन र जवाफ दिनुपर्ने हो त्यस्तै व्यक्ति तयार गरेर बोल्न सिकाउनुपर्छ, जसबाट उसले पनि राम्रो मुखभरिको जवाफ पाओस् । हो, प्रवक्ताले कार्यालयका निर्णय एवम् नीतिगत कुरा गरोस् । तर, ठोट्ने जवाफ खोज्नेलाई त्यस्तै मानिस तयार गर्नु राम्रो होला ।