बालाजु करातेमा मल्लको निरन्तरता

बालाजु करातेमा मल्लको निरन्तरता


dhruba

ध्रुवविक्रम मल्ललाई अध्यक्षमा निरन्तरता दिँदै बालाजु कराते डो प्रतिष्ठानको आठौँ साधारणसभाले ११ सदस्यीय कार्यसमिति दुई वर्षका लागि गत साता निर्विरोध चयन गरेको छ । ०६३ मा प्रतिष्ठान स्थापना भएयता मल्ल निरन्तर अध्यक्ष छन् । त्यस्तै, बीआर मित्र र पृथ्वीबहादुर श्रेष्ठले उपाध्यक्ष, चन्द्रप्रकाश घर्ती (सीपी)ले महासचिव, तिरणदाज गौतमले सचिव तथा नवराज मास्केले कोषाध्यक्षको जिम्मेवारी पाएका छन् । छत्रबहादुर आले, रेशमलाल तामाङ, राजेन्द्रकुमार ओझा, दिनेश महत र अनुपमा मगर सदस्यमा चयन भए ।

साधारणसभाको नेपाल ओलम्पिक कमिटी (एनओसी)का अध्यक्ष जीवनराम श्रेष्ठले एक कार्यक्रमबीच उद्घाटन गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले दक्षिण कोरियाको इन्चोनमा भएको १७औँ एसियाली खेलकुदमा प्रतिष्ठानद्वारा उत्पादित खेलाडी करातेकी बिमला तामाङले एक मात्र पदक जितेर नेपाललाई पदकविहीन हुनबाट जोगाएको क्षणको स्मरण गर्दै नेपाली करातेको विकास र विस्तारमा प्रतिष्ठानले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको बताए ।

त्यस अवसरमा थाइल्यान्डको बैंककमा जुलाई १२ देखि १६ तारिखसम्म भएको थाइल्यान्ड ओपन कराते प्रतियोगिताका पदक विजेता खेलाडीलाई नगदसहित सम्मान गरिएको थियो । महिला ४३ केजीमा रजत विजेता अल्बिना नगरकोटी तथा पुरुष ५५ केजीमा कांस्य जितेका सोनाम लामालाई सम्मान गरियो । प्रतिष्ठानकै अल्बिना १० हजार तथा नेपाल प्रहरी क्लबका सोनाम ५ हजार नगदसहित सम्मानित भए । सोनाम भने कार्यक्रममा उपस्थित थिएनन् । सोही अवसरमा उक्त प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेका एकेएफ रेफ्रीद्वय ध्रुवविक्रम मल्ल र बीआर मित्र पनि प्रशंसापत्रबाट सम्मानित भए ।