बौद्धमा ‘प्रहरी मेरो साथी’

बौद्धमा ‘प्रहरी मेरो साथी’


12 bouhda_4

बौद्ध क्षेत्रको शान्ति सुरक्षासम्बन्धी सर्वसाधारणको गुनासो सुन्ने उद्देश्यले सार्वजनिक सुनुवाइ तथा अन्तरक्रिया सम्पन्न भएको छ । बौद्ध सामुदायिक सेवा केन्द्रको आयोजनामा बौद्धस्तुप परिसरमा शनिबार आयोजित उक्त कार्यक्रम ‘प्रहरी मेरो साथी’ अभियानलाई लक्षित गर्दै सम्पन्न गरिएको हो ।
अन्तरक्रियामा विभिन्न स्कुलमा अध्ययनरत विद्यार्थी, युवा, महिला तथा व्यवसायी सङ्घसंस्थाका तर्फबाट शान्तिसुरक्षाको सन्दर्भमा उठाइएका समसामयिक प्रश्नमाथि प्रमुख अतिथि प्र.अ.म. प्रतापसिंह थापा र विशेष अतिथिका रूपमा कार्यक्रममा सहभागी प्रहरी वरिष्ठ उपरीक्षक विक्रमसिंह थापाले जवाफ दिनुभएको थियो । त्यस्तै, स्थानीय ट्राफिक व्यवस्थासम्बन्धी सोधिएका प्रश्नउपर महानगरीय ट्राफिक प्रहरी वृत्त बौद्धका प्रहरी निरीक्षक रमेशकुमार देवले सन्तोषजनक उत्तर दिनुभयो ।

कार्यक्रममा उपस्थित अतिथिहरूले शान्तिसुरक्षा र ‘प्रहरी मेरो साथी’ कार्यक्रम वर्तमान अवस्थाअनुरूप समयसान्दर्भिक भएको टिप्पणी गर्दै यस्ताखाले कार्यक्रम सहरमा मात्रै नभई प्रत्येक गाउँ–बस्तीमा समेत निरन्तर रूपमा आयोजना भए प्रभावकारी हुनेमा जोड दिँदै अभियानको पूर्ण सफलताको कामनासमेत गरे । शुभकामना मन्तव्य दिनेहरूमा उपत्यका सामुदायिक सेवा समन्वय परिषद्का पूर्वअध्यक्ष तथा सामुदायिक सेवा केन्द्र, बौद्धका संरक्षक जयमंगल लामा, स्थानीय समाजसेवी गजेन्द्रकुमार लामा, बौद्ध तामाङ कल्याण गुठीका अध्यक्ष खड्गजित लामा, जया मल्टिपल कलेजका प्राचार्य भवानी पौडेल, दिदीबहिनी महिला समाज चुच्चेपाटीका अध्यक्ष यशोदा लामालगायत थिए । सयौँको सङ्ख्यामा जनसहभागिता रहेको अन्तरक्रियात्मक कार्यक्रममा पूर्वराजदूत दुर्गेशमान सिंह, सामुदायिक सेवा केन्द्र, बौद्धका संरक्षक जयमंगल लामा, बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष सम्पूर्णकुमार लामा, प्रहरी वरिष्ठ उपरीक्षक विक्रमसिंह थापालगायत समाजका गन्यमान्य व्यक्ति–व्यक्तित्वहरूको उपस्थिति थियो ।