‘सीआईजी’को प्रथम वार्षिकोत्सव भव्य !

‘सीआईजी’को प्रथम वार्षिकोत्सव भव्य !


CIG 2

सूचनाको हकको प्रयोग गरी समाजमा सुशासन कायम गर्ने उद्देश्यले अर्घाखाँचीमा स्थापित ‘सूचना तथा सुशासन अभियान (सिआईजी)ले आफ्नो प्रथम साधारणसभा सम्पन्न गरेको छ । गत सोमबार सन्धिखर्कमा आयोजित साधारणसभामा प्रमुख अतिथि रहनुभएका अर्घाखाँची प्रजिअ सुरेन्द्र पौडेलले सिआईजीका गतिविधि अत्यन्तै महत्त्वपूर्ण भएको उल्लेख गर्दै जिल्लाका समस्त सरकारी निकायले सुशासन प्रवद्र्धनका लागि सिआइजीलाई सहयोग गर्न सुझाव दिनुभयो । सोही अवसरमा स्थानीय विकास अधिकारी लक्ष्मी पाण्डेले पनि नागरिकलाई सुसूचित तुल्याउने कार्यमा सिआईजीको महत्त्वपूर्ण योगदान रहेको बताउनुभयो ।

यस्तै, सन्धिखर्क नगरपालिका प्रमुख रामजी जोशीले आफ्नो कार्यकालमा नगरवासीलाई सूचनाको हक सम्बन्धमा सिआईजीमार्फत जानकारी गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो भने संस्थाका अध्यक्ष मुक्तिनाथ भुसालले सिआईजी स्थापनाको बर्ष दिनभित्रै ४१ वटा कार्यक्रममार्फत करिव चार हजार पाँच सय नागरिकलाई भिजुअलमार्फत जानकारी गराउनुको साथै संस्था स्थापना भएदेखि हालसम्म सहयोग गर्ने ब्यक्ति तथा निकायप्रति आभार प्रकट गर्नुभयो । सूचनाको हकलाई नागरिकसम्म पुर्‍याई जनचेतना फैलाउने अभियानमा यथेष्ट सहयोग मिलिरहेको भन्दै उहाँले प्रजिअ पौडेललाई संस्थागत सम्मान गर्नुभएको थियो । सूचनाको अधिकारसम्बन्धी पछिल्लो समयमा कार्यक्रम गरिएका एघार विद्यालय र जिल्लाका ७ वटा स्वास्थ्य संस्थालाई पनि सो अवसरमा सम्मान गरिएको थियो ।

विभिन्न कोणबाट सघाएर सिआईजी अभियानलाई सशक्त तुल्याएवापत सम्मानित हुनेहरूमा राधा नेपाली, नवीन केसी, प्रकाश भुसाल, बामबहादुर खनाल अविरल, मेनुका भट्टराई, अर्घाखाँची टाईम्स साप्ताहिक र सुपादेउराली पाक्षिक समचारपत्रसमेत परेका थिए । कार्यक्रममा अर्घाखाँची आवासीय उमावि बेलबाटिकाकी छात्रा खुशी बिसीको नृत्यलाई पनि सिआईजीले नगद पुरस्कारद्वारा सम्मान गरेको थियो । केही समयअघि आगजनी घटनामा परि ज्यान गुमाएकी मखमली बिकका सन्ततिलाई संस्थाका सल्लाहकार राजु खड्काको नेतृत्वमा युएईबाट सङ्कलन गरिएको ३३ हजार र सिआईजी संस्थाका शुभचिन्तक विष्णु भट्टराई सोनीको नेतृत्वमा इजरायलबाट सङ्कलन गरिएको ६२ हजार २ सय सत्तरी रुपैयाँ पनि सोही अवसरमा मखमली बिकका श्रीमान्लाई हस्तान्तरण गरिएको थियो ।

सिआईजी वार्षिकोत्सव सफल बनाउन महिला तथा बालबालिका कार्यालय प्रमुख दिपा घिमिरे, खानेपानी तथा सरसफाई डिभिजन प्रमुख सुरज बम, सिँचाई डिभिजन प्रमुख, जिल्ला पशुसेवा कार्यालय प्रमुख, अर्घाखाँची आवासीय उमाविका प्रमुख श्रीकृष्ण भुसाललगायतको सक्रिय उपस्थिति रहेको थियो । कार्यक्रममा प्रहरी नायव उपरीक्षक नवरत्न पौडेल, जिल्ला स्वास्थ्य प्रमुख डा. जगन्नाथ तिवारी, जिशिअ सुरेन्द्रराज पराजुली, नेपाली काङ्ग्रेस जिल्ला उपाध्यक्ष शान्ता भन्डारी, एमाले जिल्ला सचिव रामबहादुर चौहान, माओवादी केन्द्रकी छमकुमारी खनाल, जनमुक्ति लोकतान्त्रिकका टोपबहादुर बलाल, जनज्योति उमाविका प्राचार्य दीननाथ आचार्य र रेडक्रस सोसाईटीका अध्यक्ष शम्भु पोखरेलसहितले शुभकामना मन्तव्य राखेका थिए भने राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाद्वारा प्रेसित शुभकामना पत्र सिआईजी सदस्य विष्णु मल्ल ठकुरीले बाचन गरेर सुनाउनुभएको थियो ।

CIG 1