राजदूतद्वारा सहयोगको प्रतिबद्धता

राजदूतद्वारा सहयोगको प्रतिबद्धता


ranjit

मकवानपुरको दामनमा ‘कृषि पर्यटनको सम्भावना’ विषयक अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ । जिल्लाको उत्तरी क्षेत्रमा रहेको थाहानगर उद्योग वाणिज्य सङ्घले आयोजना गरेको सो कार्यक्रममा नेपालका लागि भारतीय राजदूत रणजित रायको विशेष उपस्थिति थियो । अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत रायले नेपाल र भारतबीचको सम्बन्ध उच्च तहमा मात्र नभई जनस्तरसम्म भएकाले दुई देशबीच प्रगाढ सम्बन्ध रहिरहने तर्क गर्नुभयो । वर्षौंदेखि रहेको सम्बन्धलाई विकासका कार्यक्रममार्फत अझै मजबुत तुल्याउनुपर्नेमा जोड दिँदै उहाँले थाहा नगरपालिका दामनमा तरकारी भण्डारणको निम्ति कोल्ड स्टोर निर्माणमा सहयोग पुर्‍याउने प्रतिबद्धता जनाउनुभयो । मन्तव्यको क्रममा राजदूत रायले थाहा नगरका छात्रछात्राका निम्ति भारतका विभिन्न विश्वविद्यालयमा छात्रवृत्ति उपलब्ध गराउन भारत तयार रहेकोसमेत जानकारी दिनुभयो ।

कार्यक्रममा वीरगञ्जस्थित भारतीय वाणिज्य दूतावासका महावाणिज्यदूत अञ्जु रञ्जन, मकवानपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजकुमार न्यौपाने, थाहानगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष कविराज खत्रीलगायतले मकवानपुर र खासगरी दामन क्षेत्रमा विद्यमान सम्भावना र चुनौतीबारे प्रकाश पारेका थिए ।

यसैबीच भारतीय महावाणिज्य दूतावास वीरगञ्जको आयोजनमा गत बुधबार ‘महफिले मुशायरा’ सम्पन्न भएको छ । भारतीय वाणिज्य दूतावासका कन्सुलर एसएम अख्तरको बिदाइको अवसरमा वीरगञ्जस्थित टाउन हलमा सम्पन्न कार्यक्रममा नेपाल र भारतका चर्चित शायरहरूको उपस्थिति रहेको थियो । मुसायरा कार्यक्रममा भारतबाट डा. अब्दुल हनान, एस. कमर चम्पारनी र नेपालबाट उर्दु एकेडेमीका पदाधिकारी साकिब हारुनी, इम्तयाज वफा, जफर अहमद जफर, शीतल कादम्बनी, स्थानीय शायर जम्शेद अन्सारीले आ–आफनो गीत, गजल तथा शेर, सायरी प्रस्तुत गरेका थिए ।