विश्वस्तरको प्रतियोगितामा नेपाली छात्र

विश्वस्तरको प्रतियोगितामा नेपाली छात्र


Nischit Pandey
संयुक्त राष्ट्रसङ्घीय प्राज्ञिक प्रभाव (युएनएआई) र इएलसी एडुकेसनल सर्भिसेजद्वारा संयुक्त रूपमा आयोजित अन्तर्राष्ट्रिय निबन्ध प्रतियोगिताको उत्कृष्ट ६० प्रतियोगीमा नेपाली छात्र निश्चित पाण्डे छनोटमा परेका छन् । प्रतियोगितामा सहभागी हुन चाहनेले तेस्रो भाषामा लेख्नुपर्ने नियमअनुसार चीनबाट हालै सूचना प्रविधिमा स्नातक तह पूरा गरेका पाण्डेले चिनियाँ भाषामै निबन्ध लेखी पठाएका थिए ।

‘कैयौँ भाषा एक विश्व’ विषयक उक्त निबन्ध लेखन प्रतियोगितामा विश्वका १ सय ६५ देशका ३ हजार ६ सय ३५ विद्यार्थीले प्रतिष्पर्धा गरेका थिए । तीमध्ये उत्कृट ठहरिएका ६० जनालाई न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा आयोजना गरिने विश्व युवामञ्चमा सहभागी गराइँदै छ । ‘सेलेक्टेड सिक्स्टी’मा ३६ देशका विभिन्न त्रिपन्न विश्वविद्यालयमा अध्ययनरत छात्रछात्रा परेका छन् ।

राष्ट्रसंघका ६ वटा आधिकारिक भाषा (अरबी, चिनियाँ, अङ्ग्रेजी, फ्रान्सिसी, रसियाली र स्पेनी)मा लेखिएका निबन्ध समावेस गरिएको सो प्रतियोगितामा प्रत्येक भाषाबाट दश जनालाई छनोट गरिएको बताइएको छ । विजेता विद्यार्थीले न्युयोर्कको हेम्पस्टिडस्थित होफ्स्ट्रा विश्वविद्यालयमा आयोजना गरिने ‘कैयौँ भाषा एक विश्व’ विषयक विश्व युवामञ्चमा संयुक्त राष्ट्रसङ्घीय २०३० दीगो विकास कार्यसूचिसम्बन्धी कार्ययोजना प्रस्तुत गर्नेछन् भने उनीहरूले संयुक्त राष्ट्रसङ्घीय महासभामा समेत आफ्ना अभिव्यक्ति राख्नेछन् । यही जुलाई २५ देखि ३१ सम्म आयोजना हुने विश्व युवामञ्चमा सहभागिता जनाउन निश्चित पाण्डे गत साता न्युयोर्क प्रस्थान गरिसकेका उनका पिता विमल पाण्डेले जानकारी दिएका छन् ।