नेपाली सेना र एनआरएनएबीच सहमति

नेपाली सेना र एनआरएनएबीच सहमति


sena
नेपाली सेना र गैरआवासीय नेपाली सङ्घबीच विपत् व्यवस्थापनमा सहयोग तथा सहकार्यसम्बन्धी एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेपाली सेनाको विपत् व्यवस्थापन क्षमता अभिवृद्धि गर्न विपत् उद्धार कार्यमा सहयोग र विपत् न्यूनीकरण गर्ने उद्देश्यले नेपाली सेना र गैरआवासीय नेपाली सङ्घबीच सहकार्य गर्न नेपाल सरकार रक्षा मन्त्रालयबाट स्वीकृति भएबमोजिम गत बुधबार उक्त हस्ताक्षर कार्यक्रमको आयोजना गरिएको नेपाली सेनाले जनाएको छ ।
प्रधानसेनापति राजेन्द्र क्षत्रीको विशेष उपस्थितिमा आयोजित उक्त कार्यक्रममा नेपाली सेनाको तर्फबाट व्यवस्था तथा युद्धकार्य महानिर्देशक उपरथी हिमालय थापा र गैरआवासीय नेपाली सङ्घको तर्फबाट सङ्घका अध्यक्ष शेष घलेले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।

समझदारीपत्रमा विपत् व्यवस्थापनसम्बन्धी तालिम सञ्चालन गर्न तथा विपत्को समयमा उद्धार एवम् राहत वितरणका लागि आवश्यक सामग्रीहरू आदानप्रदान गर्नेलगायत विपत् व्यवस्थापनको सहयोग तथा सहकार्यको क्षेत्रहरू निर्धारण गरिएको छ । त्यसैगरी, संयुक्त कार्यदलको निर्माण गरी सहयोगको क्षेत्र र आधारहरू तय गर्नेे, गैरआवासीय नेपालीबाट सङ्कलित राहत सामग्री पीडितलाई वितरण गर्न नेपाली सेनाको स्रोत, साधन तथा जनशक्तिको परिचालनजस्ता बुँदा उल्लेख गरिएका छन् । साथै, उक्त समझदारीपत्रको कार्य अवधि दुई वर्षको हुने र दुवै पक्षको समझदारीमा पुन: थप गर्न सकिनेसमेत उल्लेख गरिएको छ । यस समझदारीले विपत्को समयमा खोज, उद्धार तथा राहत वितरण गर्न सहज हुनुका साथै पीडित प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास नेपाली सेनाले लिएको छ ।