गाईलाई खुसी पारे मिल्छ पौष्टिक दूध

गाईलाई खुसी पारे मिल्छ पौष्टिक दूध


cow
गाईको दूध एक सम्पूर्ण आहार हो भन्ने तथ्य त संसारले मानिसकेकै कुरा हो । किनकि, हाम्रो शरीरको निम्ति आवश्यक लगभग सबै पौष्टिक तत्त्व गाईको दूधमा पाइन्छ । हालै नयाँ के पनि पत्ता लागेको छ भने गाईको खुसी–सन्तुष्टिसँग तिनले दिने दूधको पौष्टिकताको स्तर निर्भर रहन्छ । यो सुन्दा अनौठो लाग्ला, तर अनुसन्धानले यही सिद्ध गरेको छ । यदि तपाईं ज्यादा पौष्टिक दूध पिउन चाहनुहुन्छ भने पहिला आफ्नो गाई खुसी छ कि छैन भन्ने सुनिश्चित गर्नुस्, गाईलाई प्रसन्न तुल्याउने प्रयत्न गर्नुस् । हालै गरिएको एक अध्ययनले सिद्ध गरेअनुसार जब गाई खुसी हुन्छ अघिपछिभन्दा ज्यादा पौष्टिक दूध प्रदान गर्छ, जसमा क्याल्सियमको मात्रा पनि अधिक रहन्छ । जर्नल अफ एन्डोक्राइनोलोजीमा प्रकाशित विवरणअनुसार अमेरिकाको विस्कान्सिन–मेडिसिन युनिभर्सिटीकी लौरा हर्नाडिजको नेतृत्वमा हालै प्राणीमा खुसी प्रदान गर्ने एक रसायन ‘सेरोटोनिन’को सेवन र दूधको पौष्टिकताबीचको सम्बन्धबारे गहन अध्ययन गरिएको थियो । अनुसन्धानकर्ताको टिमले दुई दर्जन गर्भवती गाईलाई इन्जेक्सनमार्फत सेरोटोनिन दिए । ती सबै गाईका रगत र दूधमा क्याल्सियमको स्तर अत्यधिक बढेको पाइयो, जब कि व्यावसायिक प्रयोजनद्वारा एक निश्चित बन्धनमा पालिएका गाईको दूधमा पौष्टिकताको मात्रा तुलनामक रूपमा निकै कम भेटियो ।