यस्तो पनि परम्परा !

यस्तो पनि परम्परा !


Haina

हरेक मुलुकका आ–आफ्नै सामाजिक मूल्य–मान्यता, संस्कृति र परम्परा हुन्छन् । कतिपय देशका परम्परा साह्रै अनौठो र पत्याउनै नसकिने खालका पनि हुन्छन् । सुन्दैमा शरीरका रौँ ठाडा हुने यस्तै एउटा प्रचलन छ दक्षिण–पूर्वी अफ्रिकाको मलावीमा । बीबीसीले जनाएअनुसार त्यहाँका महिलालाई जवान भएपछि एक यस्तो ‘सेक्स वर्कर’कहाँ पठाइन्छ जसले रकम लिएर ती जवान युवतीसँग पहिलोपटक शारीरिक सम्बन्ध राख्दछ । यस प्रक्रियालाई त्यहाँ ‘हइना’ भन्ने गरिन्छ । ‘हइना’ गराउने कामलाई बलात्कार नमानी उल्टै युवतीलाई पवित्र तुल्याउने रिवाज मानिन्छ । हरेक इलाकाको लागि स्थानीयले हइना गराउने व्यक्तिको छनोट गर्ने प्रचलन छ । बीबीसी रिपोर्टमा उल्लेख भएअनुसार दक्षिण मलावीको नसान्जे भन्ने स्थानमा एरिक अनिवा नामक व्यक्ति ‘हइना’को निम्ति विख्यात छन् । यी व्यक्तिबाट सेक्स गराउने प्रक्रियालाई ‘यौन पवित्रता’ भन्ने गरिएको छ । यहाँसम्म कि कुनै महिलाका पतिको देहान्त भएमा पनि अनिवासँग शारीरिक सम्बन्ध राखेर मात्र महिलाले मृत पतिको दाहसंस्कार गर्न पाउँछिन् । यस्तै, कुनै पनि किशोरीले आफू पहिलोपटक रजश्वला भएपछि तीन दिनभित्रै अनिवासँग सम्बन्ध राख्नुपर्छ । यसका लागि अनिवालाई ४ देखि ७ डलर उल्टै भुक्तान गर्नुपर्ने परम्परा छ ।