सत्ता परिवर्तनसँग भारतलाई जोड्नु अनावश्यक : डा. भट्टराई

सत्ता परिवर्तनसँग भारतलाई जोड्नु अनावश्यक : डा. भट्टराई


Baburam-Bhattarai

नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले नेपालको सत्ता परिवर्तनमा भारतको भूमिकाबारे अनावश्यक चर्चा हुने गरेको बताएका छन् । दाङ तुलसीपुरमा सोमबार आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रमा बोल्दै उनले नेपालको सत्ता परिवर्तनमा सधैं भारतलाई हेर्ने गलत प्रवृत्ति रहेको उल्लेख गरे। नेपालको आन्तरिक मामिलाको हल यहीँका दलले गर्नुपर्ने बताउँदै डा. भट्टराईले बाहिरी हस्तक्षेप स्वीकार्य चाहिँ नहुने धारणा राखे ।

सत्ता परिवर्तन नेपालकै राजनीतिक दल र शासकीय प्रणालीका कमजोरीका कारण हुने गरेको पूर्वप्रधानमन्त्रीसमेत रहेका बाबुराम भट्टराईको ठहर छ । डा. भट्टराइले प्रत्यक्ष निर्वाचित राष्ट्रपति र समानुपातिक संसद् नहुँदासम्म देशमा राजनीतिक अस्थिरता कायम रहने धारणा अघि सारे ।

भारतले बनाएका बाँधले नेपालको तराई मधेस डुबानमा परे पर्ने कुरा वर्षेनी उठे पनि कहिल्यै भारतसँग सार्थक वार्ता हुन नसकेको भन्दै उनले आरोप मात्रै लगाउने भन्दा समस्या समाधान हुने गरी भारतसँग संवाद गर्न आवश्यक रहेको तर्क गरे ।