१९ साउनमा प्रधानमन्त्रीको निर्वाचन हुने

१९ साउनमा प्रधानमन्त्रीको निर्वाचन हुने


BICC

सहमतिका आधारमा प्रधानमन्त्री चयन हुन नसकेपछि व्यवस्थापिका–संसदमा अब बहुमतीय प्रक्रिया सुरु हुने भएको छ । पूर्वानुमानअनुसार नै नयाँ प्रधानमन्त्रीको निर्वाचनका लागि आगामी बुधबार (साउन १९ गते) मतदान मिति तोकिएको छ ।

व्यवस्थापिका–संसद्को सोमबार बसेको दोस्रो बैठकमा सभामुख ओनसरी घर्तीले प्रधानमन्त्री निर्वाचनका लागि राष्ट्रपति कार्यालयबाट प्रक्रिया अघि बढाउनेसम्बन्धी प्राप्त पत्र पढेर सुनाउनुभएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले यही साउन १० गते सहमतिका आधारमा प्रधानमन्त्री चयन गर्न दलहरुलाई आह्वान गर्नुभएको थियो । सो अवधिमा प्रधानमन्त्रीको चयन हुन नसकेपछि राष्ट्रपति कार्यलयबाट बहुमतीय प्रक्रिया अघि बढाउन संसद्लाई पत्र पठाउनुभएको थियो ।

संविधानको धारा २९८ को उपधारा ३ बमोजिम संसदमा तत्काल कायम रहेका सदस्यको बहुमतबाट प्रधानमन्त्री चयनका लागि आह्वान भएको हो । सभामुख घर्तीले प्रधानमन्त्रीको निर्वाचनसम्बन्धी कार्यतालिका सोमबार नै प्रकाशन गर्न संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईलाई मुख्य निर्वाचन अधिकृत तोकी निर्देशन दिनुभएको छ ।

यसैक्रममा संसद् सचिवालयले प्रधानमन्त्रीको निर्वाचनसम्बन्धी कार्यक्रम प्रकाशन गरेको छ । संसद् नियमावली २०७३ को नियम ४९ को उपदफा २ बमोजिम प्रधानमन्त्रीको निर्वाचनको मिति तथा निर्वाचन कार्यक्रम प्रकाशन गरिएको हो । कार्यक्रमअनुसार यही साउन १८ गते बिहान ११ देखि ४ बजेसम्म उम्मेदवारी दर्ता गर्ने र सोही दिन अपराह्न ४ः३० बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिनेछ । साउन १९ गते बिहान ११ बजे हुने संसद्को बैठकमा सबै उम्मेदवारीको सूचना प्रस्तुत भई प्रस्तावक र समर्थकको समर्थनपछि ती सूचनामाथि सामूहिक छलफल र निर्णायार्थ प्रस्तुत (मतदान) गरिनेछ । ती सबै कार्यक्रम संसद् भवन नयाँ बानेश्वरमा हुनेछ ।