सुरु हुने नै भयो त बाहिरी चक्रपथ ?

सुरु हुने नै भयो त बाहिरी चक्रपथ ?


बाहिरी चक्रपथ 2

बाहिरी चक्रपथ निर्माणको चर्चा चलेको एक दशकपछि काठमाडौं उपत्यकाका तीनै जिल्ला जोडिने ७३ किमी चक्रपथ निर्माण हुने भएको छ । काठमाडौं उपत्यका विकास प्राधिकरणले गत असार ११ गते चोभार–गाम्चा–सतुङ्गल ६.६ किमी दूरीको ३.५ वर्ग किमी जग्गा विकास गरी बाहिरी चक्रपथ निर्माण गर्न त्यस क्षेत्रका जग्गाधनीको असहमति भए ३५ दिनभित्र उजुरी दर्ता गर्न सार्वजनिक सूचना प्रकाशन गरेको थियो । गत आइतबार अन्तिम असहमति दर्ता गराउने दिनसम्म ९६ मात्र उजुरी परेकाले बाहिरी चक्रपथ बन्ने निश्चित भएको बताइएको छ ।

प्राधिकरणले जनाएअनुसार ‘चोभार–गाम्चा–सतुङ्गल ६.६ किमी दूरीको ३.५ वर्ग किमी क्षेत्रमा अनुमानित सात हजार व्यक्तिको जग्गा छ, यसको ५१ प्रतिशतले असहमति जनाएका भए बाहिरी चक्रपथको काम रोकिन्थ्यो, धेरैको सहमति भएकाले बाहिरी चक्रपथ बन्ने सुनिश्चित भएको छ ।
बाहिरी चक्रपथको सडक ५० मिटरको हुनेछ । सडकका लागि प्राधिकरणले जग्गा अधिग्रहण गर्दैन । नमिलेको जग्गालाई योजनाबद्ध रुपमा विकास गरी समुदायलाई हस्तान्तरण गर्छ । जग्गा विकास गरिदिएबापत जग्गाधनीले बाहिरी चक्रपथ र जग्गा विकास गरिने ३.५ वर्ग किमी क्षेत्रमा ६, ८ र ११ मिटरका अन्य तीन सहायक सडक निर्माणका लागि आवश्यक जग्गाको योगदान गर्नुपर्ने प्राधिकरणले प्रस्ट्याएको छ ।

बाहिरी चक्रपथ निर्माण प्रक्रियामा चार वर्षअघि कीर्तिपुर नगरपालिकाका बासिन्दाले धेरै विरोध गरेका थिए । यस पटक कीर्तिपुरका मानिसले बाहिरी चक्रपथ निर्माणका लागि सकारात्मक सहयोग गरेको प्राधिकरणको भनाई छ । गत वर्ष आएको भूकम्प र प्राधिकरणले स्थानीयवासीमा जनचेतना जगाएकाले स्थानीयवासी सकारात्मक बनेका हुन् । सूचनामा सकारात्मक प्रतिक्रिया आएपछि छिटो गरी बाहिरी चक्रपथको चोभार–गाम्चा–सतुङ्गल ६.६ किमी निर्माण अघि बढ्ने र बाहिरी चक्रपथको सो खण्डमा त्रिभुवन, पृथ्वी, काठमाडौं–तराई दु्रतमार्ग र काठमाडौं–केरुङ मार्गसमेत जोडिनेछ ।