
ब्राजिलको रियोमा ५ अगस्टबाट सुरु हुने ओलम्पिक खेलको उद्घाटनमा नेपाली टिमको नेतृत्व गर्दै जुडोकी फुपुल्हामु खत्रीले झन्डा बोक्ने भएकी छिन् । हालै नेपाल ओलम्पिक कमिटीद्वारा आयोजित कार्यक्रममा अध्यक्ष जीवनराम श्रेष्ठले सो घोषणा गरेका हुन् । केही महिनाअघि भारतमा सम्पन्न १२औँ दक्षिण एसियाली खेलकुदमा उनले स्वर्ण जितेकी थिइन् । त्यसैगरी अन्य खेलहरूमा पनि उनको उत्कृष्ट प्रदर्शन रहेको छ । त्यही प्रदर्शनको आधारमा उनलाई चयन गरिएको हो । एनओसीको कार्यकारिणी समितिको बैठकले सो निर्णय गरेको हो ।
सो अवसरमा श्रेष्ठले ग्लोबन आईएमई बैंकले ओलम्पिकमा सहभागी हुने टिमलाई ड्रेस प्रायोजन गरेको र तयारीका लागि १० लाख रुपैयाँ प्रदान गरेकोसमेत जानकारी गराएका थिए । श्रेष्ठले केही दिनमा नै सिवानी एयरसँग वार्षिक रूपमा प्रायोजनको विषयमा सम्झौता हुन लागेको घोषणासमेत गरेका थिए । सिवानी एयरका प्रोप्राइटर मणिन्द्रलाल रञ्जित बाहिर भएकाले उनी आउनेबित्तिकै सम्झौता हुन्छ । सिवानी एयरले एनओसीलाई वार्षिक २० लाख प्रदान गर्ने सहमति भएको छ । सम्झौता हुन बाँकी रहेको छ । रञ्जित रियो ओलम्पिकमा एनओसी अतिथिका रूपमा सहभागी हुँदै छन् । त्यसैगरी एनआरएनएका अध्यक्ष शेष घले पनि एनओसीका अतिथिका रूपमा रियो ओलम्पिकमा सहभागी हुँदै छन् । २०२० सम्मका लागि एनआरएनसँग सम्झौता गरेका छौँ । एनआरएनका खेलाडीले समेत सहभागिता जनाउनेछन् । यसपटक पनि गौरिका सिंह रहेकी छिन् ।
जुडोकी फुपुल्हामु खत्रीले नौ अगस्टमा प्रतिस्पर्धा गर्नेछिन् । उनले महिला ६३ केजी तौल समूहमा प्रतिस्पर्धा गर्नेछिन् । त्यसैगरी आर्चरीका जितबहादुर मोक्ताङले व्यक्तिगत कर्वतर्फ प्रतिस्पर्धा गर्नेछन् । तेक्वान्दोकी निशा रावलले २० अगस्टमा ६७ भन्दा बढी तौल समूहमा प्रतिस्पर्धा गर्नेछिन् । त्यसैगरी एथलेटिक्ककी सरस्वती भट्टराईलाई १५ सय मिटरमा १२ अगस्टमा प्रतिस्पर्धा गर्नेछिन् । पुरुषका एथलेटिक्स खेलाडी हरिकुमार रिमालले पाँच हजार मिटर दौडतर्फ भाग लिएका छन् । उनको प्रतिस्पर्धा १७ अगस्टमा हुनेछ । त्यसैगरी पौडीतर्फ ७ अगस्टमा महिलाको एक सय मिटर ब्याकस्ट्रोकमा गौरिका सिंहले प्रतिस्पर्धा गर्नेछिन् । उनी लन्डनमा नै रहेकी छिन् । उतैबाट ब्राजिलको रियो जाने कार्यक्रम रहेको छ । पुरुष पौडीखेलाडी शिरीष गुरुङले एक सय मिटर फ्रिस्टाइलमा प्रतिस्पधा गर्नेछन् । उनको प्रतिस्पर्धा ९ अगस्टमा हुनेछ ।
रियो ओलम्पिकमा नेपालबाट पाँच खेलका सात खेलाडीले सहभागिता जनाउँदै छन् । पौडीतर्फ शिरीष गुरुङ र गौरिका सिंह छन् । पौडीको प्रशिक्षकमा ईश्वरकुमार कार्की रहेका छन् । टिम अफिसियलमा पौडीका अध्यक्ष अशोक बज्राचार्य छन् । त्यसैगरी जुडोबाट फुपुल्हामु खत्रीले भाग लिँदै छिन् । उनकी कोच देव थापा पनि ओलम्पियन हुन् । जुडोका अध्यक्ष दीपकहर्ष बज्राचार्य टिम अफिसियलमा छन् । आर्चरीमा जितबहादुर मोक्ताङले प्रतिस्पर्धा गर्दै छन्, कोचमा दीपकराज गुरुङ रहेका छन् । टिम अफिसियलमा रमेशकुमार श्रेष्ठ र समिम मियाँ अन्सारी रहेका छन् । तेक्वान्दोतर्फ निशा रावलको प्रशिक्षकमा ओलम्पियन संगीना वैद्य रहेकी छिन् । टिम अफिसियलमा राजन श्रेष्ठ छन् । रिओ ओलम्पिकमा एनओसीका अध्यक्ष श्रेष्ठ, महासचिव लामा टेन्डी शेर्पाबाहेक उपाध्यक्ष ज्योति राणा, कोषाध्यक्ष रतन टन्डन, सदस्य नीलेन्द्रराज श्रेष्ठ छन् । त्यसैगरी सुजनलाल श्रेष्ठ र टिम डाक्टरमा सरोजकृष्ण श्रेष्ठ रहेका छन् ।
नेपाली टिमका सेफ दि मिसन राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्ट छन् । विष्ट र सुजनलाल श्रेष्ठ शनिबार राति नै रियोतर्फ प्रस्थान गरेका छन् । नेपालले गत २०१५ को जनवरीदेखि रियो ओलम्पिकका लागि तयारी गरेको एनओसी अध्यक्ष श्रेष्ठले बताए । ‘पहिलोपटक सहज रूपमा शान्तिपूर्ण वातावरणमा ओलम्पिकमा सहभागिता जनाउने अवसर मिलेको छ,’ श्रेष्ठले भने, ‘जसका कारण कर्पाेरेट हाउससँगसमेत हातेमालो गर्न सक्यौँ ।’ सो अवसरमा नेपाल ओलम्पिक एकेडेमीका अध्यक्ष धु्रवबहादुर प्रधानले ओलम्पिकको महत्त्वको सहभागिताको विषयमा प्रस्ट पारेका थिए । कार्यक्रममा ग्लोबल आईएमईका मार्केटिङ प्रमुख प्रसन्न बास्कोटा र एनआरएनएका एसी शेर्पालाई प्रशंसापत्र प्रदान गरिएको थियो । कार्यक्रममा ओलम्पिकमा सहभागी हुने खेलाडी, प्रशिक्षक, टिम अफिसियललगायतको उपस्थिति थियो । सो अवसरमा नेपाली टिमको अफिसियल ड्रेस प्रदर्शन गरिएको थियो ।
प्रतिक्रिया