विष्टको संयोजकत्वमा उपसमिति

विष्टको संयोजकत्वमा उपसमिति


Sport 1

नेपालले आयोजनाको जिम्मेवारी पाएको १३औँ दक्षिण एसियाली खेलकुद (साग)का लागि राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टको संयोजकत्वमा कार्य सम्पादन तथा सहजीकरण उपसमिति गठन गरिएको छ । १३औँ सागका लागि युवा तथा खेलकुदमन्त्री सत्यनारायण मण्डलको अध्यक्षतामा गठित तयारी तथा व्यवस्थापन समितिको गत साता बसेको बैठकले सदस्यसचिव विष्टको संयोजकत्वमा उक्त उपसमिति गठन गर्ने निर्णय गरेको राखेपका प्रेस सल्लाहकार रोहित दाहालले जनाएका छन् । बैठकले सागका लागि दुई समिति गठन गरेकोमा नेपाल सरकारलाई धन्यवाद दिने तथा साग आयोजनाका लागि बाँकी रहेको समयमा कार्य सम्पन्न गर्ने सङ्कल्प प्रस्तावसमेत पारित गरेको छ ।

त्यस्तै सागका लागि सातदोबाटोमा सचिवालय स्थापना गर्ने तथा सागका लागि आवश्यक पर्ने पूर्वाधार तयारीका लागि टासी घलेको संयोजकत्वमा पूर्वाधार तयारी उपसमिति गठन गर्ने निर्णय गरेको छ । उपसमितिले सागका लागि आवश्यक नयाँ पूर्वाधार र मर्मत गर्नुपर्ने पूर्वाधारबारे अध्ययन गरी १५ दिनभित्र प्रतिवेदन पेस गर्नुपर्ने प्रेस सल्लाहकार दाहालले जानकारी गराए । मन्त्री मण्डलको अध्यक्षतामा बसेको बैठकमा राखेपका उपाध्यक्ष लामा टेन्डी शेर्पा, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, विभिन्न मन्त्रालयका सचिव, स्काउटका प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।