– सैलेश कर्माचार्य (सदस्य, राखेप)

राजनीतिक फाँटमा कदम बढाइरहेका उनले नेपाली काङ्ग्रेस महासमितिको प्रतिनिधि बनेर आफूलाई युवानेताको रूपमा परिचित गराइसकेका छन् । तर, खेलकुदमा भने एक दशक बिताए पनि उनको जादु चल्न सकेन । उनी केवल एउटा राष्ट्रिय सङ्घको पदाधिकारीमै सीमित रहे । तर, अहिले समयले कोल्टे फेरेको छ । जब उनलाई नेपाली काङ्ग्रेसले राष्ट्रिय खेलकुद परिषद्को सदस्यमा नियुक्ति गर्यो तबदेखि उनी चर्चाको शिखरमा छन् । राखेपमा एमालेको पूर्ण बाहुल्य रहेको अवस्थामा समेत क्रिकेट समन्वय समितिको संयोजक बनेर हालै महिला राष्ट्रिय छनोट प्रतियोगिता सफलताका साथ सम्पन्न गरेका नेकाका युवानेता तथा राखेपका सदस्य सैलेश कर्माचार्यसँग घटनाले विचारले गरेको कुराकानी :
० खेलकुदमा तपाईंको नियुक्तिलाई पूर्ण राजनीतिक भन्छन् नि, कसरी मूल्याङ्कन गर्नुहुन्छ ?
– हो, मेरो नियुक्ति पूर्ण राजनीतिक नै हो, यसमा दुईमत छैन । मलाई नेपाली काङ्ग्रेसले राष्ट्रिय खेलकुद परिषद्को सदस्यमा नियुक्ति गरेको हो । मैले मेरो नियुक्तिलाई अवसर र चुनौती दुवै रूपमा लिएको छु । सोहीअनुरूप मैले मेरो जिम्मेवारी निभाउँदै आएको छु । मैले आर्चरी सङ्घमा कोषाध्यक्ष भएर एक दशक बिताएँ । तसर्थ म खेलकुदमा नौलो मान्छे भने पक्कै होइन । मैले खेलकुदलाई त्यसबेलादेखि नै नजिकबाट चिनेको छु । जब मलाई पार्टीले राखेपको सदस्यमा नियुक्ति गर्यो त्यसपछि मेरो जिम्मेवारी अझ बढेको छ । मैले समग्र खेलकुदको विकासमा आफ्नो क्षमताले भ्याएसम्मको योगदान दिँदै आएको छु । भविष्यमा पनि यसमा खरो उत्रिने प्रयास गर्नेछु ।
० राखेपमा एमालेको वर्चश्व छ, अनि कसरी तालमेल मिलाइरहनुभएको छ, कठिनाइको सामना गर्नुपरेको छैन ?
– व्यक्तिगत रूपमा काम गर्न केही गाह्रो छैन । सबै काम बिनारोकटोक भइरहेको छ । यसमा संस्थागत तरिकाले जान सकेको भए अझ राम्रो हुन्थ्यो, तर त्यसो भएको छैन । पार्टीले हामीलाई नियुक्तिबाहेक अन्य कुनै जिम्मेवारी दिएकोजस्तो मलाई लाग्दैन । तसर्थ हामी हाम्रो व्यक्तिगत सोचअनुरूप मात्र कार्य गर्न बाध्य छौँ । यदि पार्टीले हामीलाई एजेन्डासहितको जिम्मेवारी दिएको भए खेलकुदमा लड्न अझ सजिलो हुन्थ्यो । हामी व्यक्तिगत नभई पार्टीको नीतिअनुरूप साङ्गठनिक रूपमा लड्थ्यौँ । र पनि, एमालेको खेलकुदमा वर्चश्व हुँदा मैले खेलकुदमा जस्तो होला भनेर सोचेको थिएँ, त्यस्तो पाइनँ । राखेपमा हाम्रो सङ्ख्या पाँच मात्र भए पनि सदस्यसचिव हामीसँग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको मेरो अनुभव छ ।
० पार्टीले खेलकुदमा नियुक्ति गरेका सदस्यहरूप्रति तपाईंको धारणा के छ ? के चाकरी र गुटको राजनीति गरेकै भरमा जो पायो त्यसैलाई नियुक्ति गर्न मिल्छ ?
– सर्वप्रथम पार्टीले राखेपको सदस्यमा खेलकुदकै पृष्ठभूमि भएका व्यक्तिहरूलाई नियुक्ति गरेको छ । उहाँहरू कसैको चाकरी तथा गुटको राजनीति गरेर राखेपको सदस्यमा नियुक्ति भएकोजस्तो मलाई लाग्दैन । साँचो कुरा के हो भने पार्टीले हामी पाँचजनालाई राखेपको सदस्यमा नियुक्ति गरेपछि हाम्रो आपसी तालमेल नहुँदा सहकार्य गरेर अगाडि बढ्न नसकेको अवस्था मात्रै हो । जसले गर्दा राखेपमा हाम्रो भूमिका अलि कमजोर देखिएको छ । तर, अहिले हामीले यसलाई आत्मसात् गरिसकेका छौँ । गृहकार्यसँगै सहकार्य गरेर खेलकुदका हरेका समस्याहरूसँग लड्ने प्रतिबद्धता जाहेर गरिसकेका छौँ । जसको परिणाम केही दिनमै देखिने म विश्वास दिलाउन चाहन्छु ।
० तपाईं सदस्यसचिवको इसारामा चल्नुहुन्छ भन्ने आरोप छ नि, के यो सत्य हो ?
– यो नितान्त गलत कुरा हो । म कसैको निकट पनि छैन, कसैको इसारामा पनि चल्दिनँ र अहिलेसम्म चलेको पनि छैन । खेलकुदको सम्पूर्ण कार्यकारी अधिकार सदस्यसचिवमा निहित भएकाले खेलकुदका कुनै पनि क्रियाकलाप गर्न उहाँको अनुमति अनिवार्य छ । यस्तो अवस्थामा केही निर्णय सहमति र केही दबाबमा पनि गर्नुपर्ने हुन्छ । यही कारणले यस्तो भनिएको होला, तर त्यस्तो केही होइन । सदस्यसचिवसँग व्यक्तिगत रूपमा मेरो राम्रो सम्बन्ध छ । उहाँ मलाई मेरो कार्यदक्षताको हिसाबले पनि विश्वास गर्नुहुन्छ । मैले लगेका खेलकुदका कामहरू अहिलेसम्म रोकिएका छैनन् । उहाँले कामको मूल्याङ्कन गर्दै मलाई सहयोग गर्दै आउनुभएको छ । यसको अर्थ म उहाँको इसारामा चल्ने मान्छे नभई मेरो कार्यशैली, लगनशीलता र इमानदारीको उपज हो भन्न चाहन्छु ।
० त्यसैले होला तपाईंलाई महिला राष्ट्रिय छनोट प्रतियोगिताको संयोजक बनाएको होइन त ?
– क्यान निलम्बन भएको अवस्थामा घरेलु क्रिकेटलाई जगाउन हाम्रो टिमको सल्लाहबमोजिम नै राखेपले क्रिकेट समन्वय समिति गठन गरेको हो । अर्को कुरा पुरुष क्रिकेट टिमले कहीँकतै प्रशिक्षण लिइरहेको र खेलिरहेको अवस्था भए पनि महिला क्रिकेटको अवस्था भने प्राय: दुई वर्षदेखि शून्य थियो । यस्तो अवस्थामा महिला क्रिकेटलाई जोगाउन र खेलाडीलाई पलायन हुनबाट बचाउन कुनै न कुनै प्रतियोगिताको आयोजना गर्न आवश्यक थियो । सोही कुरालाई आत्मसात् गर्दै राखेपले महिला राष्ट्रिय छनोट प्रतियोगिता गर्ने निर्णय गरेको हो । जसलाई सफलताका साथ सम्पन्न गर्न राखेपले मेरो संयोजकत्वमा क्रिकेट समन्वय समिति गठन गरेको हो । जसले हालै सम्पन्न महिला राष्ट्रिय छनोट प्रतियोगिता विभिन्न प्रतिकूलताका बाबजुद पनि सफलताका साथ सम्पन्न गरेर महिला क्रिकेटरको मनमस्तिष्कमा सकारात्मक प्रभाव पार्न सफल भएको छ ।
० समन्वय समितिको कुरा गर्नुभयो, यसको काम कर्तव्य र अधिकार के हो ? के यो एउटै प्रतियोगितामा सीमित हुने त होइन ?
– वर्तमान अवस्थामा बिनाप्रतियोगिता सीधै खेलाडीको छनोट र चयन भइरहेको थियो । जसले गर्दा प्रभावशाली खेलाडी छायामा परेका थिए । खेलकुदमा प्रतिभाबीच प्रतिभाको प्रतिस्पर्धा हुनुपर्छ । यहाँ त्यस्तो नभएकै कारण समन्वय समितिको गठन भएको हो । अब यो समितिले घरेलु क्रिकेटको समग्र विकास र खेलाडीको छनोटका लागि कार्य गर्नेछ । यतिबेला अन्डर १६ राष्ट्रपति कप र सिनियर महिला राष्ट्रिय प्रतियोगिता सम्पन्न भइसकेको छ । अब यही समितिले आउँदो असोजदेखि प्रधानमन्त्री कप सिनियर दुईदिवसीय पुरुष र यू १९ पुरुष क्रिकेट प्रतियोगिता सञ्चालन गर्दै छ । त्यस्तै राष्ट्रिय प्रतियोगिताको आधारमा ३३ जना महिलाको छनोट गरी बन्द प्रशिक्षणमा राख्दै छौँ ।
० क्यान निलम्बनमा परेको छ, यस्तो अवस्थामा पुरुषको दुईदिवसीय प्रतियोगिता कसरी सम्भव छ ? अनि प्रतियोगिताको आयोजना कसले गर्छ नी ?
– प्रतियोगिताको आयोजना राखेपले गर्ने निर्णय गरिसकेको छ । प्रधानमन्त्री कपको नामले सञ्चालन हुने यो प्रतियोगिताको लागि राखेपले पचास लाख छुट्याएको छ । प्रतियोगितामा तीन विभागीय टिमसहित नौवटा क्षेत्रका टिमले प्रतिस्पर्धा गर्ने टुङ्गोसमेत लागिसकेको छ । प्रतियोगिताका लागि पचास लाख अपुग हुने भए पनि स्पोन्सरबाट बाँकी रकम उठाउने उद्देश्य राखिएको छ । यो दुईदिने प्रतियोगिता सम्भवत: नेपालमा पहिलोपटक आयोजना हुँदै छ ।
० मुलुक अहिले सरकार परिवर्तनको सङ्घारमा छ, यस्तो अवस्थामा प्रतियोगितामा असर पर्छ कि पर्दैन ?
– राखेपले बजेट छुट्याइसकेको अवस्था भएकोले मुलुकमा जस्तोसुकै राजनीतिक परिवर्तन भए पनि प्रतियोगितामा खासै असर पर्लाजस्तो मलाई लाग्दैन । किनकि यो नितान्त क्रिकेट खेलको विकास र खेलाडीहरूको हितका लागि आयोजना गरिन लागेको प्रतियोगिता हो । यसमा कुनै राजनीतिक दलले शक्तिको आडमा हस्तक्षेप गर्लाजस्तो मलाई लाग्दैन र गर्नु पनि हुँदैन ।
० प्रसङ्ग बदलौँ, अहिलेको खेलकुदको अवस्थादेखि कत्तिको सन्तुष्ट हुनुहुन्छ ? समग्र खेलकुदको विकासका लागि के गर्नुपर्लाजस्तो लाग्छ ?
– साँचो रूपमा भन्नुपर्दा वर्तमान अवस्थामा नेपाली खेलकुद ‘नहुनु मामाभन्दा कानो मामा’ अर्थात् ‘कामचलाउ’ जस्तै मात्रै छ । हाम्रोजस्तो साधनस्रोत कमी भएको र त्यसमाथि भूकम्पले भत्काएको भौतिक संरचनालाई दृष्टिगत गर्दा खेलकुद भगवान्कै कृपाले चलेको छ । २१औँ शताब्दीमा विश्वकै मानवीय विकास र चरित्र निर्माणका लागि महत्त्वपूर्ण बनेको र कोसेढुङ्गा साबित भएको खेलकुद नेपालमा भने नाजुक अवस्थामा छ । तसर्थ समग्र खेलकुदको विकासका लागि राखेपको भन्दा पनि सरकारको भूमिका महत्त्वपूर्ण भइसकेको छ । त्यसका लागि सरकारले खेलकुदको मर्म र महत्त्वलाई आत्मसात् गर्नु आवश्यक भइसकेको छ ।
प्रस्तुति : श्रीविक्रम भण्डारी
प्रतिक्रिया