
– इन्द्रबहादुर बराल
केही वर्षयता काठमाडौं उपत्यकामा मानिसको चाप ह्वात्तै बढेको छ । पुराना भौतिक संरचनाले बढ्दो जनसङ्ख्याको चापलाई धान्न सक्ने अवस्था अत्यन्त न्यून हुँदै गएको सन्दर्भमा बाहिरी चक्रपथ निर्माण गर्ने तदारुकताले काठमाडौंको काँठ क्षेत्र बढी लाभान्वित हुने आशामा देखिएको छ । हुन त पाँच–सात वर्ष पहिले नै काठमाडौं, भक्तपुर र ललितपुर तीनै जिल्ला जोड्ने काठमाडौं उपत्यका बाहिरी चक्रपथ निर्माणको क्रममा केही मानिसको विरोधका कारण रोकिएको थियो । हाल आएर सडक सञ्जालको महत्त्व बुझ्दै गएकाले अब बहुचर्चित बाहिरी चक्रपथ निर्माणमा कुनै बाधा–अवरोध नहुने सङ्केत पाइएको छ ।
जनतालाई भ्रममा राखेर अनुचित फाइदा लिने राजनीतिक शक्ति होस् वा कुनै झुन्ड हुन्, तिनलाई सबैले चिनिसकेका छन् । मानवअधिकारको खोल ओडेर कुनै एउटा जातिविशेषलाई गुमराहमा राख्ने पार्टी र व्यक्ति समूहलाई भेडाको छाला ओडेका ब्वाँसाका रूपमा बुझिसकेका छन् काठमाडौं काँठवासीले । नेपाली समाजमा एकथरी यस्ता मानिसको झुन्ड छ जसले अरूको विकास र उन्नतिमा डाहा–ईष्र्या गरिराखेका हुन्छन् । आफूले दु:ख पाएकोभन्दा पनि अरूको सुखमा ती चिन्तित देखिन्छन् । यस्तो चिन्तनबाट ग्रसित नेपाली समाजलाई विकासको बाटो पहिल्याउन निकै कठिन हुन्छ ।
यस्तै, चिन्तनबाट प्रभावित भएर विगतमा केही तथाकथित अधिकारकर्मीको दुश्चक्रमा परेर निर्माणको क्रममा रहेको बाहिरी चक्रपथलाई बीचैमा तुहाउने काम भएकै थियो । तथापि बाहिरी चक्रपथ विकास आयोजना आफ्नो काममा जुटिरहेकाले ढिलै भए पनि पुन: बाहिरी चक्रपथ निर्माण कार्यले काठमाडौं काँठवासीका उज्याला दिन ल्याइदिने समय अब धेरै टाढा हुने छैन भन्ने विश्वास लिन सकिन्छ ।
आ.व. ०६५/०५७ देखि नै नेबिकोन नामक संस्थाले पूर्वसम्भाव्यता अध्ययन गरिरहेको थियो भने आ.व. ०६१/०६२ देखि नै प्रारम्भ गरिनेछ भनी बजेट भाषणका घोषणा भएपछि यससम्बन्धी कार्य प्रारम्भ भएको हो । बीचमा जे–जस्तो अस्वस्थ र अनुचित गतिविधि भए पनि हाल आएर बाहिरी चक्रपथ निर्माणसम्बन्धी विभिन्न समाचार माध्यम र पत्रपत्रिकाबाट सार्वजनिक भएपछि विशेष गरेर काठमाडौं काँठवासीहरूमा आशाका किरणहरू पलाएका छन् । भलै अझै पनि काँठक्षेत्रको विकास देखिन सक्ने तप्काहरूबाट भने सचेत र सतर्क रहनैपर्नेछ । काँठक्षेत्रको हितमा मात्रै होइन निर्माणको क्रममा रहेको बाहिरी चक्रपथ कोर सिटी एरियाको लागि त झनै बरदान साबित हुनेछ । अहिले भइरहेको अव्यवस्थित सहरीकरणको चापलाई व्यवस्थित र आधुनिक समय सुहाउँदो बस्ती विकास गर्न उक्त बाहिरी चक्रपथ कोसेढुङ्गा हुनेछ । यसर्थमा हालको चक्रपथभित्र र बाहिर दुवैतर्फ बसोबास गर्ने के सहरिया के गाउँले सबैको हितमा रहेको बाहिरी चक्रपथ निर्माणमा सकारात्मक एवम् रचनात्मक सहयोग गर्नु सबैको कर्तव्य पनि हुन आउँछ । विश्वास गरौँ यस कार्यमा योगदान पुर्याउन कोही चुक्ने छैनन् ।

बाहिरी चक्रपथ निर्माण कार्य सम्बन्धमा २९ चैत २०७२ को गोरखापत्रमा ‘बाहिरी चक्रपथको काम पुसदेखि’ भनी प्रकाशित भएदेखि नै यस बाहिरी चक्रपथको निर्माण विशेष चासोका साथ काँठवासीले हेरेको देखिन्छ । त्यस्तै ७ जेठ २०७३ का दिन गोरखापत्रमा अर्को समाचार छापियो र बाहिरी चक्रपथका लागि उपसमिति गठनबारे सर्वसाधारणको सर्वाधिक चासोलाई अरू उत्साहित गरेको पाइयो । त्यति मात्र होइन, काठमाडौं उपत्यका विकास प्राधिकरण अनामनगर काठमाडौंले मिति २०७३ असार ११ गते प्रकाशन गरेको सूचनाले त अब काठमाडौं बाहिरी चक्रपथ निर्माणका लागि आवश्यक प्रक्रिया नै अघि बढाउने काम गरेको छ । यसर्थ काठमाडौंमा उपत्यका काँठवासीका लागि विकासको मूलढोका नै खुल्ने पक्का भएको सन्दर्भमा कहीँकतैबाट अवरोध नहोस् भन्नाका लागि स्थानीय तहमा नै बाहिरी चक्रपथ निर्माणमा सहयोग पुग्ने गरी सहयोग समिति नै गठन गरी काठमाडौं उपत्यका विकास प्राधिकरणमा प्रतिबद्धता जाहेर गर्न सके अmझै राम्रो हुनेछ । विगतका अनुभव र अहिलेको आवश्यकतालाई ध्यानमा राखी अब कुनै तागतले बाहिरी चक्रपथ निर्माणमा कहीँकतैबाट अवरोध पुर्याउने दुस्साहस हुनेछैन भन्ने विश्वास राख्न सकिन्छ । किनकि, अरूको प्रगतिबाट डाहा गर्नेहरूका दिन अब धेरै टिक्ने छैनन् र अधिकारवादीको ढोल पिटेर विकासविरोधी गतिविधि गर्नेहरूको मकुण्डो उदाङ्गिइसकेको सन्दर्भमा काँठवासीको उज्यालो भविष्यमा अब कसैले ग्रहण बनेर आउन सक्ने स्थिति रहनेछैन । यसकारण पनि अब काठमाडौं उपत्यकाका तीनै जिल्लाका काँठवासीका सुनौलो बिहानीमा कालो बादल मडारिन सक्ने देखिँदैन । हुन त कतिले सीधै विरोध नगरे पनि खेतीयोग्य जमिन बर्बाद हुने भयो भनी घुमाउरो भाषामा विरोधको आभास मिल्ने अभिव्यक्ति छिटपुट दिएका नसुनिएको त होइन, तथापि अब त्यस्ता झिना स्वरले समयको माग र विकासको गति रोकिएला भन्न सकिँदैन ।
निकट भविष्यमा नै कार्यान्वयन हुने बाहिरी चक्रपथको जम्मा ७२ किलोमिटर दूरीमध्ये काठमाडौं जिल्लामा कीर्तिपुर, मच्छेगाउँ, सतुङ्गल, बलम्बु, पुरानो र नयाँ नैकाप, स्युचाटार, सीतापाइला, इचङ्गुनारायण, गोंगबु, मनमैजु, फुटुङ, टोखा सरस्वती, खड्का भद्रकाली, विष्णु बुढानीलकण्ठ, महाँकाल, चुनिखेल, कपन, गोकर्णेश्वर, नयाँपाटी र थली, डाँछीसमेत गरी जम्मा ३५.०८ किलोमिटर काठमाडौं पर्दछ भने भक्तपुरको चाँगुनारायण, दुवाकोट, झौखेल, छालिङ, बागेश्वरी, सुडाल, ताथली, चितापोल, भक्तपुर नपा, मध्यपुर नपा, दधिकोट र सिरुटारसमेत जम्मा २१.०५ किलोमिटर दूरी पर्दछ । यसैगरी ललितपुर जिल्लाको जम्मा दूरी १५.८० किलोमिटरमध्ये साबिक लुभु, सिद्धिपुर, हरिसिद्धि, ठैँव, धापाखेल, बुङमती र खोकना पर्छन् । यसरी काठमाडौं उपत्यकाका सबै जिल्लालाई एउटै सूत्रमा बाँध्ने अत्यन्त महत्त्वपूर्ण बाहिरी चक्रपथको निर्माणकार्यमा कहीँकतैबाट अवरोध हुनुहुँदैन ।
काठमाडौं उपत्यकाको विकासमा टेवा पुर्याउनेजस्तो महत्त्वपूर्ण काममा पहिलो चरणमा कीर्तिपुर, मच्छेगाउँ सतुङ्गल तथा बलम्बुवासीले अवसर पाउनु तिनको अहोभाग्य नै हो । पहिलो चरणमा कार्यारम्भ हुने यस भेगका बासिन्दा साँच्चैका भाग्यवानी हुन् । आफ्नो भाग्य र भविष्य आफँै निर्धारण गर्नुपर्नेमा सरकारी स्तरबाटै हुन लागेको यस बाहिरी चक्रपथ साँच्चैको बरदान साबित हुनेछ । यस कार्यबाट केही व्यक्तिका सानातिना हानिनोक्सानी हुन गएमा त्यसका लागि व्यक्ति मात्र नभई लाभान्वित सबैले स–सानो योगदान पुर्याउने काममा कञ्जुस्याइँ गर्नु पनि हुँदैन । कुनै व्यक्तिविशेषलाई अन्याय र थिचोमिचो गरी अरूको मात्र हित हुने काम गर्नुहुँदैन । त्यसैले सडकको अधिकार क्षेत्रमा पर्ने घर तथा जग्गावालालाई पनि न्यायोचित व्यवस्थामार्फत सन्तुष्ट बनाई राख्नुपर्छ ।
वास्तवमै बाहिरी चक्रपथ निर्माणपछि उपत्यकाका दक्षिण र पूर्वी भूभागमा आवागमनको सुविधा बढ्नेछ । व्यवस्थित बस्ती विकास हुनेछ जस्तो कि ढल, बिजुली, टेलिफोन तथा मेलम्ची खानेपानीलाई समेत एकीकृत विकास गर्न टेवा पुर्याउनेछ । यसले काठमाडौंलाई साँच्चैको राजधानी तुल्याउनेछ । सिन्धुली–बनेपा राजमार्ग उपत्यकाभित्र प्रवेश गर्ने वैकल्पिक मार्गको विकास हुनेछ । उपत्यकाको ग्रामीण र सहरी क्षेत्रको सीमाङ्कन गर्नेहरू उपत्यकाभित्रका ग्रामीण क्षेत्रको विस्तार गरिने सेवा–सुविधाको लागि पहुँच मार्ग विकास गर्नेछ । यसर्थ, काठमाडौं उपत्यकाको चौतर्फी विकासका लागि पहिलो सर्त नै निकट भविष्यमा निर्माण प्रारम्भ गरिने बाहिर चक्रपथको निर्माण हो ।
प्रतिक्रिया