देउवा र प्रचण्डको हातमा भालुको कन्पट !

देउवा र प्रचण्डको हातमा भालुको कन्पट !


Birendramani-Paudel

– वीरेन्द्रमणि पौडेल

जानेर वा नजानेर कोही जङ्गली भालुमाथि कान समातेर उक्लियो भने ‘ओर्लंदा भालुले कोपर्ने, नओर्लिंदा भालुले अनकन्टार जङ्गलतिर लिएर बेपत्ता पार्ने’ यस्तो दयनीय अवस्थाको कल्पना गरेर ‘भालुको कन्पट’ भन्ने चलन नेपालमा उहिलेदेखि अहिलेसम्म चलाइएको छ । यस्तै अवस्थाको सामना गरिरहेका छन् नेपालका दुई चर्चित पार्टीका दुई नेता शेरबहादुर देउवा र प्रचण्ड । अर्थात् सबै कोणबाट नेपाली राजनीतिक अवस्थालाई हेर्दा यही देखिन्छ कि कान समातेर यी दुई भाइ भालुमाथि सफर गर्दै छन् । जङ्गली भालुको रूपमा सङ्घीयता, धर्मनिरपेक्षता, मधेस मुद्दा, मुलुकभित्र जसले सक्यो उसले लुट्ने अवस्थाको आर्थिक भ्रष्टाचार, संविधान कार्यान्वयनका लागि स्थानीय, प्रादेशिक र केन्द्रीय निर्वाचन, भूकम्पपीडित नेपाली जनताको बिजोक, बाढी, पहिरो आदि रहेका छन् । यी समस्या मुलुकभित्रका सबै देशप्रेमी राजनीतिक दलहरू एकढिक्का हुँदा त समाधानका लागि कुन्नी–कुन्नीको स्थिति सिर्जना हुन्थ्यो भने अहिले त सिर्फ नेपाली काङ्ग्रेसभित्रको शेरबहादुर पक्ष र माओवादी केन्द्रका प्रचण्ड पक्षको मात्रै जोडबलमा बन्न लागेको सरकारले यी अजङ्गको समस्याहरू कसरी निप्ट्याउलान् ? राजनीतिमा चासो राख्ने र एक हदसम्म बुझ्नेहरूले चर्चा चलाइरहेका छन् । सरकार गठन प्रक्रियाबारे हामीलाई केही सल्लाह गरिएन भन्ने नेपाली काङ्ग्रेसभित्रका रामचन्द्र ग्रुप र माओवादी केन्द्रका केही नेताहरूले ‘खै हामीलाई त थाहा छैन’ भनेको अवस्थालाई प्रमाण मान्न सकिन्छ कि यी दुई पार्टी सम्पूर्ण शक्तिका साथ सरकार निर्माण गर्न चुक्दै छ । सानो, मझौला वा बढीमा सामान्य बहुमत सदस्यले समर्थन गर्ने पार्टी शक्ति लिएर यिनीहरू ‘भालुमाथि’ चढ्दै छन् ।

एकातिर जन्मदिने आमा बित्दा पिरोलिएर रोएको छोरोझैँ प्रधानमन्त्रीको कुर्सी अप्रत्यासित र अकल्पनीय ढङ्गले छाड्नुपर्दा नेपाल कम्युनिस्ट पार्टी एमालेको मात्रै महान् नेता बन्न सफल एवम् त्यो पार्टीका अध्यक्ष केपी शर्मा ओली अनौठो आवाज निकालेर रोइरहनुभएको छ । यति मात्रै होइन, पूरा नेपालका एमाले समर्थकहरू शोकमा डुबेका छन् भने राज्यको आर्थिक क्षमतालाई मिहीन पाराले हिसाबकिताब नगरी ह्वात्तै तलब बढ्दा बेस्सरी खुसी भएका सरकारी तलबभत्ता खानेहरूले पनि अमिलो मुख लगाएका छन् । वृद्धवृद्धाहरू डबल भत्ता दिने केपी ओली सरकारबाट बाहिर जान लागेको देख्दा काङ्ग्रेस र माओवादी देख्दा मनमनै ‘तिमीहरूको सत्यानास होस्’ भन्न थालेका छन् । मिर्गाैला रोगीहरूलाई डायलासिस नि:शुल्क गरिदिएर ठूलो गुन लाएका ओलीले सरकारको नेतृत्व छाड्नुपर्ने अवस्था आउँदा यो अवस्था ती रोगीहरूले पनि मन पराएका छैनन् । यी र यस्ता सबै एमालेसमर्थक हुन् र यी जनताको साथ–सहयोग खासगरी शेरबहादुरवाला काङ्ग्रेस र प्रचण्डवाला माओवादीलाई मिल्नेछैन । मधेसी जनताका लागि मात्रै राजनीतिक गतिविधि सञ्चालन गर्ने, पूरै नेपाली जनताबारे चिन्ता नलिने मधेसवादी दलहरूले ओली सरकारविरुद्ध बोली लगानी गरे, कामै लगानी गरेर यिनले आउनेवाला प्रचण्ड नेतृत्वको सरकारलाई सहयोग गर्ने छैनन् । छेकछन्द यही देखिएको छ कि नयाँ सरकार बनाउन मद्दतचाहिँ गर्ने, तर अरू खालको सहयोगचाहिँ नगर्ने । ‘भात दिने, तरकारी नदिने’, पाहुना बोलाउने र भान्छामा नुन सकिएको बहानामा

सपरिवार बाहिर निस्किने नीति’ मधेसवादी दलहरूले लागू गर्ने सङ्केत देखाएका छन् । प्रचण्ड र शेरबहादुरले यो शक्तिको घुमाउरो अवरोधको सामना गर्नुपर्ने छ भने शेरबहादुर र प्रचण्डको लगनगाँठो नखुस्किए पनि मधेसवादीसँग गाँस्न लागिएको गाँठो कुनै पनि बेला चुँडिन सक्ने भविष्यलाई अन्दाज गरेर यिनले संविधानसभामा रहेका अन्य भारेभुरे दलका सांसदहरूलाई समेत टिपनटापन पार्नुपर्नेछ । अहिले संविधानसभामा सभासद् सङ्ख्याका हिसाबले चौथो हैसियतमा रहेको राजसंस्था पक्षधर हो कि हो कि, हिन्दूराष्ट्र कायम गर्ने र सङ्घीयताविरोधी हो कि हो कि जस्तो लाग्ने कमल थापावाला राप्रपा नेपाल अन्य विकल्प नभएर गणतन्त्र मान्छौँ भन्न पुगेको पशुपतिशमशेर र लोकेन्द्रबहादुरवाला राप्रपाबीच एकीकरण हुने हल्ला बेजोडले चलाइएको छ । यतिबेला कमल थापाहरू केपी ओलीकै समर्थनमा छन् । राणाजी र बाबुसाहेवहरू शायद प्रचण्ड नेतृत्वमा सरकारमा जान चाहन्छन् । नयाँ सरकारमा जान चाहने र ओलीसँग झुन्डिनेहरूले कसरी प्रचण्ड र शेरबहादुर चढेको ‘भालु सवार’ गर्लान् प्रश्न त्यहाँनेर पनि छ । नेपालको राजनीतिमा एकताका १९ सिट ल्याएको राप्रपा राष्ट्रिय राजनीतिमा ‘मूलसाँचो’ साबित हुन पुग्दा पञ्चायत वासना आउने कोट लाएर सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्द पालैपालो यो देशको प्रधानमन्त्री भएको प्रमाण जङ्गलतिर भर्खर–भर्खर लडाकुहरूलाई बन्दुक चलाउन सिकाउँदै गरेका प्रचण्ड र सपना–बिपना जतिबेला पनि प्रधानमन्त्रीको कुर्सी ताक्ने शेरबहादुरहरूले पक्कै बिर्सिएका छैनन् । त्यो अवस्थालाई प्रमाण मान्दा पनि अब भन्न सकिन्छ कि यिनले मधेसवादी दललाई उतिबेलाको ‘१९ सिटे राप्रपा’को स्थानमा राख्ने छैनन् ।

जन्मदिने आमा बित्दा पिरोलिएर रोएको छोरोझैँ प्रधानमन्त्रीको कुर्सी अप्रत्यासित र अकल्पनीय ढङ्गले छाड्नुपर्दा नेपाल कम्युनिस्ट पार्टी एमालेको मात्रै महान् नेता बन्न सफल एवम् त्यो पार्टीका अध्यक्ष केपी शर्मा ओली अनौठो आवाज निकालेर रोइरहनुभएको छ । यति मात्रै होइन, पूरा नेपालका एमाले समर्थकहरू शोकमा डुबेका छन् भने राज्यको आर्थिक क्षमतालाई मिहीन पाराले हिसाबकिताब नगरी ह्वात्तै तलब बढ्दा बेस्सरी खुसी भएका सरकारी तलबभत्ता खानेहरूले पनि अमिलो मुख लगाएका छन् । वृद्धवृद्धाहरू डबल भत्ता दिने केपी ओली सरकारबाट बाहिर जान लागेको देख्दा काङ्ग्रेस र माओवादी देख्दा मनमनै ‘तिमीहरूको सत्यानास होस्’ भन्न थालेका छन् । मिर्गाैला रोगीहरूलाई डायलासिस नि:शुल्क गरिदिएर ठूलो गुन लाएका ओलीले सरकारको नेतृत्व छाड्नुपर्ने अवस्था आउँदा यो अवस्था ती रोगीहरूले पनि मन पराएका छैनन् । यी र यस्ता सबै एमालेसमर्थक हुन् र यी जनताको साथ–सहयोग खासगरी शेरबहादुरवाला काङ्ग्रेस र प्रचण्डवाला माओवादीलाई मिल्नेछैन ।

मधेसवादीहरूलाई त्यो स्थानमा नराख्ने हो भने शेरबहादुर र प्रचण्ड यी दुई भाइलाई एमालेबाहेकका सबै मुसा साइजका दलका सभासद्हरूलाई काखी च्याप्नुपर्नेछ । सभासद् सङ्ख्या कम किन नहोस् नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेहरूले प्रचण्ड र शेरबहादुरहरूलाई समर्थन गर्ने छैनन् । नारायणमान बिजुक्छेले स्पष्ट भनिसकेका छन्, ‘ओली सरकार हटाउनु गल्ती’ हो । उनले विदेशीको इसारामा यो सरकार ढालिएको बताउनुको अर्थ कुनै पनि हालतमा कुनै बेलाका एक–अर्काका ज्यानको दुश्मन प्रचण्ड र शेरबहादुरवाला सरकारलाई समर्थन गर्नेछैनन् । दुई–पाँच सिटवाला सिपी मैनालीहरू र त्यस्तै–त्यस्तै साइजका जनमोर्चावालाहरूलाई मनभित्र सत्ताको लोभ पलाइहाले पनि ‘राजनीतिक नैतिकता’ नरित्तिएको हुँदा यिनीहरूले त्यो जोगाउन पनि नयाँ सरकारलाई साथ दिन सक्ने छैनन् । अब कुल मिलाएर एक बारको जुनीमा दोस्रोपटक सबै चिज भएर पनि कङ्गाल कहलिएको देश नेपालको प्रधानमन्त्री बन्न लागेका प्रचण्डले एक सिटवाला राजनीतिक दलका ‘लाहुरे राजनीतिज्ञ’हरूलाई समेत मन्त्रालय थपेर भए पनि सरकारमा सामेल गराउनुपर्नेछ । यस्तो अप्ठ्यारो झेलेर प्रचण्ड प्रधानमन्त्रीको कुर्सीमा चढ्दै छन् भने आफ्नो पार्टीको राजनीतिक दस्तावेजमा नेपाली काङ्ग्रेसलाई ‘प्रमुख दुश्मन’ उल्लेख गरेका प्रचण्डलाई ‘डोकाभरि माओवादीको टाउका ल्याऊ, झोलाभरि पैसा लैजाऊ’ भनी जनताका छोराछोरीलाई अनुरोध गर्ने शेरबहादुरहरूले कतिञ्जेल प्रचण्डलाई बोकिरहलान् ? राजनीतिक पण्डितहरूले यो विषयलाई दोहोर्‍याई–तेहेर्‍याई भनिरहेका छन् ।

एउटा डरलाग्दो ‘घाँडो’ अर्को पनि छ प्रचण्डका अगाडि । आजको विश्वमा दबदबा डेमेक्रेसीमा विश्वास राख्नेहरूको छ जसको नेतृत्व अमेरिकाले गर्छ । ‘प्रजातन्त्रवादी’को प्रमाणपत्र उसैले बाँड्छ । प्रचण्ड मनमस्तिष्कबाट कम्युनिस्टै हुन् कि प्रजातन्त्रवादी भइसके त्यो उनैले जान्ने विषय भयो, तर जहाँसम्म अमेरिकाले प्रचण्डलाई चिन्ने सन्दर्भ हो उनलाई आज पनि उही ‘बन्दुके कम्युनिस्ट’ भन्ठान्छ । कम्युनिस्टहरू विश्वमा आज रक्षात्मक अवस्थामा छन् । आफैँ सक्षम भएर मुलुकलाई अगाडि लैजाने अवस्थामा छैनन् । विकसित मुलुकहरूको सहयोग चाहिन्छ । जहाँ शुद्ध कम्युनिस्ट छन् भन्ने अमेरिकाले सोच्छ सीधा सहयोग गर्न हच्किन्छ । आज नेपालमा कम्युनिस्ट पार्टीबाट राष्ट्रपति विद्यादेवी भण्डारी चुनिनुभएको छ । उपराष्ट्रपति नन्दबहादुर पुन आफैँ चर्को कम्युनिस्ट पार्टीबाट उपराष्ट्रपति हुनुभएको छ । प्रधानमन्त्रीको कुुर्सीमा कम्युनिस्टकै नामबाट प्रचण्ड उक्लिन लाग्नुभएको छ भने सभामुख ओनसरी घर्ती पनि उही ‘आगो कम्युनिस्ट पार्टी’को कार्यकर्ता हुनुहुन्छ । शायद यसलाई अमेरिका र उसका विकसित कहलिएका साथी देशहरूले नेपाल कम्युनिस्टमय भएको बुझ्न पनि सक्छन् । यस्तो अवस्था हो भने माओवादी समर्थकहरूका महान् नेपाली नेता प्रचण्डलाई यो ‘घाँडो’बाट पार पाउन कदापि सहज हुनेछैन । छोटो कथाले ‘भालुको कन्पट’लाई अझै प्रस्ट्याउन सक्छ ।

आकाशबाट सात वर्ष लगातार पानी नपर्ने, डरलाग्दो खडेरी पर्ने खबर पृथ्वीका किसानहरूकहाँ आइपुग्यो । सबै किसानले धानको बिउ नराख्ने निधो गरे । तीमध्ये एउटा किसानले रातभरि सोचे र एउटा निष्कर्षमा पुगे, ‘आफू किसान, आफ्नो परिचय किसान हो भने मैले आफ्नो कर्म गर्न छाड्नुहुन्न । मैले सात वर्षसम्म धान नरोप्दा धानै रोप्न बिर्सिएँ भने मेरो किसानको परिचय नै हराउँछ ।’ यही सोचेर किसानले खेतमा गएर धानको बिउ राखे । बिउ हुर्किंदै गर्दा खेत खनिरहेका किसानलाई पानी पार्ने जिम्मेवारी लिएका जलदेवता आएर भने, ‘सात वर्ष पानी पर्दैन भन्ने खबर थाहा पाएनौ ? किन बिउ राखेको ?’ पानी पार्ने–नपार्ने जिम्मेवारी त अर्कैको हो नि, मेरो जिम्मेवारी त बिउ राखेर धान रोप्ने हो । मैले सात–सात वर्षसम्म धान नरोप्दा सात वर्षपछि खेती गर्नै बिर्सिएँ भने मेरो ‘किसान’को परिचय नै गुम हुन्छ त्यसैले म त धान रोप्छु, रोप्छु ।’ किसानको जवाफ सुनेर जलदेवतालाई लाग्यो ‘कुरा ठीक हो’ । मैले पनि सात–सात वर्ष पानी पारिनँ भने पानी पार्न नै बिर्सिन्छु । यही सोचेर उनी फर्किएलगत्तै मुसलधारे पानी पारिदिए । खेत रोप्न लायक भयो र ती किसानले धान फलाए ।

प्रचण्डलाई पनि कहिलेकाहीँ लाग्दो हो कि आफ्नो कर्तव्य सधैँ कुर्सी ताक्ने मात्रै होइन । जनताका हकअधिकारका कुरा उठाउने, अन्य राजनीतिक दलले मुलुक बनाउने प्रयास गर्दा सीधा नमिले घुमाएर सहयोग गर्ने, आफूले सबै कुरा जान्न नसकिने हुँदा जानेकाहरूसँग पनि सिक्ने उनको कर्तव्य थियो । किसानले आफ्नो कर्म नछाडेझैँ प्रचण्डले पनि आफ्नो धर्म र परिचय विनाश नगरेको भए आज प्रचण्ड जताततै हाइहाई हुन्थे । अब त यस्तो अवस्था पो आउला जस्तो देखिन्छ कि जुन दिन प्रचण्ड यो भालुको कम्पटबाट मुक्त हुनेछन् त्यतिबेलासम्म उनको लोकप्रियता खस्किएर नयाँ सीपी मैनालीको रूपमा देखापर्नेछ । शुभै चिताइएको हो । अब प्रचण्ड के भन्छन्, के गर्छन् उनकै मर्जी ।