प्रचण्ड प्रधानमन्त्री निर्वाचित

प्रचण्ड प्रधानमन्त्री निर्वाचित


ppp

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपालको ३९ औँ प्रधानमन्त्री निर्वाचित भएका छन् । व्यवस्थापिका संसदमा बुधबार भएको निर्वाचनमा ३ सय ६३ मत प्राप्त भई दाहाल मुलुकको प्रमुख कार्यकारी ओहदामा निर्वाचित भएका हुन् । संसद्मा उपस्थित ५ सय ७३ मतदातामध्ये २ सय १० जनाले दाहालको विपक्षमा मतदान गरेका थिए । नवनिर्वाचित प्रधानमन्त्री दाहालको पद तथा गोपनीयताको शपथ बिहीबार राष्ट्रपति कार्यालय शीतल निवासमा हुनेछ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट दाहालले पद तथा गोपनीयताको शपथ लिनेछन् ।

व्यवस्थापिका संसद्मा सबैभन्दा ठूलो दल नेपाली काङ्ग्रेसको साथ र समर्थनमा प्रधानमन्त्री निर्वाचित भएका दाहाललाई छिमेकी मुलुक भारत र चीनले बधाई दिँदै सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोन गरेर बधाई एवम् सफल कार्यकालका लागि शुभकामनाका साथै भारत भ्रमणको निम्तोसमेत दिएका छन् । यस्तै, नेपालका लागि चिनियाँ राजदूत ऊ चुन्ताईले पनि दाहाल निवास लाजिम्पाटमा पुगेर उनलाई चिनियाँ प्रधानमन्त्री ली खछ्याङ र चिनियाँ जनताका तर्फबाट बधाई दिएका छन् ।

कास्की ढिकुर पोखरीमा जन्मेका दाहालको खास नाम छविलाल भए पनि राजनीतिक यात्राका क्रममा कल्याण, विश्वास, निर्माण हुँदै अन्तत:ै ‘प्रचण्ड’ नामबाट उनले ख्याति कमाएका हुन् । विसं २०२६ मा चितवनको नारायणी विद्या मन्दिर मावि शिवनगरबाट प्रवेशिका परीक्षा उत्तीर्ण गरी २०२७–२०२९ सालमा पाटन बहुमुखी क्याम्पसबाट आइएस्सी पूरा गरेका दाहालले २०३१–२०३३ सालमा रामपुर कृषि क्याम्पसबाट कृषिमा बिएस्सी गरी एमपीएको समेत अध्ययन गरेका छन् । उनले नारायणी विद्या मन्दिर मावि शिवनगर, डण्डा मावि नवलपरासी र भीमोदय मावि आरुघाट गोरखामा २०३३ देखि २०३५ सालसम्म अध्यापन गरी २०३२ सालमा युएसएडमा समेत केही समय सेवा गरेका थिए ।

विसं २०२८ मा नेपाल कम्युनिस्ट पार्टीको पुष्पलाल समूहमा पार्टीको सदस्यताबाट राजनीतिक जीवन प्रारम्भ गरेका दाहालले रामबहादुर थापा, मित्र दवाडी, खेम भण्डारी र पुष्प भुर्तेलसँग मिलेर २०३१ सालमा माक्र्सवादी अध्ययन समूह गठन गरेका थिए । विसं २०३४ मा तत्कालीन चौथो महाधिवेशनमा प्रवेश गरी २०३५ सालदेखि पूर्णकालीन कार्यकर्ताको रुपमा उनी क्रियाशील रहे । २०३६ सालमा चितवन जिल्ला समिति सदस्य, २०३८ सालमा पार्टीको क्षेत्रीय ब्युरो सदस्य एवम् अखिल नेपाल युवक संघको महासचिव भई २०४० सालमा उनी संघको केन्द्रीय अध्यक्षमा निर्वाचित भएका थिए ।

विसं २०४१ मा नेकपा (मसाल)को पााचौँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भई २०४२ मा पोलिटब्युरो सदस्य भएका दाहाल चर्चित सेक्टर काण्डपछि पार्टीको महामन्त्रीमा निर्वाचित भए । तत्कालीन अध्यक्ष मोहन वैद्यको सिफारिसमा दाहाल पार्टीको कार्यकारी पदमा निर्वाचित भएका थिए । २०४६ सालपछि पार्टीको सर्वोच्च निकायमा रहेका उनी २०५१ मा तत्कालीन नेकपा (एकता केन्द्र)को नाम परिवर्तन गरी नेकपा (माओवादी) स्थापना गरी २०५२ फागुन १ बाट सशस्त्र जनयुद्धको नेतृत्व गर्दै भूमिगत भएका थिए ।

विसं २०५७ मा सम्पन्न दोस्रो राष्ट्रिय सम्मेलनबाट नेकपा (माओवादी)का अध्यक्ष बनेका दाहाल विसं २०५८ मा तत्कालीन माओवादी सेनाको सर्वोच्च कमाण्डर समेत भए । विसं २०६९ मा हेटौँडामा सम्पन्न महाधिवेशनबाट अध्यक्ष पदमा निर्वाचित, २०७० सालमा विराटनगरमा सम्पन्न एकताका महाधिवेशनबाट पुन: अध्यक्ष र गत जेठमा विभिन्न दशवटा माओवादी घटकबीच भएको एकतापछि पनि उहनी नै नेकपा (माओवादी केन्द्र)को अध्यक्ष रहँदै आएका छन् । विसं २०१९ मा ढिकुरपोखरी–२ बाट चितवन भरतपुरको शिवनगर गाविसमा बसाइँ सरेका दाहालको २०२६ वैशाखमा सीता पौडेलसँग विवाह भएको हो भने उनका तीन छोरी र एक छोरा छन् ।

नेपाली काङ्ग्रेस र माओवादी केन्द्रबीच भएको सहमति र त्यसैको जगमा निर्माण भएको वर्तमान गठबन्धनले पालैपालो नौ–नौ महिना सरकार चलाउने र मुलुकका सामु रहेका समस्या समाधान गर्ने प्रतिबद्धता जनाएको छ । तर प्रधानमन्त्री दाहालका सामु चुनौतीको पहाड नै छ । अघिल्लो सरकारले सुरु गरेका केही राम्रा कामलाई अगाडि बढाउँदै मुलुकलाई थप गति दिन उनी कति सफल हुन्छन्, प्रतीक्षाको विषय बनेको छ ।