
यतिबेला सामाजिक सञ्जालमा एउटा फोटो भाइरल बनेको छ । उक्त फोटो रियो ओलम्पिकमा २०१६ मा सहभागिता जनाउन जाने खेलाडीको हो । राष्ट्रपति विद्या भण्डारीले बिदाइ गरेको उक्त कार्यक्रमको फोटोमा सर्वोच्चले अवैधानिक भनेर फैसला गरेका ओलम्पिक कमिटीका पदाधिकारी पनि सँगै देखिएका छन् । सर्वोच्चले अवैधानिक भनेर फैसला गेरको, तर अन्तर्राष्ट्रिय मान्यताको आडमा नेपालको कानुनलाई चुनौती दिइरहेको अवैधानिक संस्थाका पदाधिकारीहरूलाई राष्ट्रपतिले बिदाइ गर्न मिल्छ कि मिल्दैन ? त्यो चर्चाको विषय बनेको छ । मिल्छ भने त्यो सर्वोच्चको अपहेलना हुन्छ कि हुँदैन ? हुँदैन भने कुन कानुनको सहाराले ती पदाधिकारीहरू राष्ट्रपति भवनमा पुगे र राष्ट्रपतिसँगै तस्बिर खिचाउन सफल भए त्यो खोजीको विषय बनेको छ ।
ओलम्पिकमा सहभागिता जनाउने खेलाडीलाई राष्ट्रपतिले बिदाइ गर्न मिल्छ, यसमा दुईमत छैन । राष्ट्रको प्रतिनिधित्व गरेर अन्तराष्ट्रमा प्रतिस्पर्धा गर्न जाने खेलाडीलाई राष्ट्र प्रमुखले शुभकामना दिनु आफैँमा गौरवको कुरा पनि हो । यसका लागि राष्ट्रपति धन्यवादको पात्रसमेत हुनुहुन्छ । तर, मुलुकको कानुन नै नमान्ने अनि अन्तर्राष्ट्रिय मान्यताको आधारमा नेपालको कानुनको उपहास गर्ने पदाधिकारीलाई कसरी राष्ट्रपति भवनमा भित्र्याएर ससम्मान बिदाइ गर्न मिल्छ ? प्रश्न आफैँमा प्रश्नवाचक बनेको छ । उनीहरू कसरी राष्ट्रपति भवन पुगे र आफ्नो स्वार्थसिद्ध गर्न राष्ट्रपतिलाई गुमराहमा राख्न सफल भए त्यसको खोजी हुनु जरुरी भएको छ । यसमा राष्ट्रपति भवनका कर्मचारीहरू चनाखो हुनु आवश्यक भइसकेको छ । अन्यथा डलरको मातमा नेपालको कानुनलाई समेत धोती लगाउनेहरूले भोलि राष्ट्रपतिलाई पनि विवादमा तान्ने कार्य नगर्लान् भन्न सकिँदैन ।
नेपालमा अहिले पनि दुईवटा ओलम्पिक कमिटी अस्तित्वमा छन् । एउटा रुक्मशमशेर राणाको, अर्को जीवनराम श्रेष्ठको । यहाँ गम्भीर भएर बुझ्नुपर्ने कुरा के हो भने अहिलेसम्म नेपाल सरकारले राणाको ओलम्पिक कमिटीलाई मात्र सरकारी मान्यता दिएको छ । जीवनरामको ओलम्पिक कमिटीलाई दिएको छैन । ऊ अन्तर्राष्ट्रिय मान्यताको आधारमा मात्र चलिरहेको छ । अर्को कुरा जीवनराम अध्यक्ष रहेको ओलम्पिक कमिटी नेपाल ओलम्पिक कमिटी नभई राष्ट्रिय ओलम्पिक कमिटी हो । जसको दर्ता डोटीमा भएको छ । सर्वोच्चले अवैधानिक भनेर फैसला गरेपछि डलर भित्र्याउनउस्तै नाम राखेर दोस्रो संस्था खोलिएको हो । यसको प्रमाण ओलम्पिक कमिटीको भवनमा राखिएका दुईवटा साइनबोर्डले पनि पुष्टि गर्छ ।
प्रतिक्रिया