यसकारण भाँडियो पूर्वपञ्चको एकता

यसकारण भाँडियो पूर्वपञ्चको एकता


राप्रपा

विभाजित पूर्वपञ्चहरूलाई एकीकृत तुल्याउन भएको प्रयास फेरि असफल भएको छ । पशुपतिशमशेर राणा नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच विगत ६ महिनादेखि वार्ताटोली नै गठन गरेर एकीकरण प्रयास हुँदै आएको थियो । साउन २५ गते मंगलबार पार्टी एकता घोषणा गर्न सभाहलसमेत बुक भइसकेपछि एक दिनअघि मात्र एकता भाँडिएको छ ।

प्राप्त जानकारीअनुसार कमल थापाले राष्ट्रिय अध्यक्षलाई ‘सेरमनियल’ बनाउन प्रस्ताव गरेको र मन्त्रिमण्डलमा आफ्ना भाइ गणेश थापालाई समेत मन्त्री बनाएर पठाउन चाहेपछि एकता प्रक्रिया बिथोलिएको हो । सङ्घीयता, राजसंस्था र लोकतान्त्रिक गणतन्त्रका विषयमा महाधिवेशनले निर्णय लिने गरी राप्रपाको एकता प्रक्रिया अघि बढेको थियो । पशुपतिशमशेर राणा पार्टीको राष्ट्रिय अध्यक्ष बन्ने र कमल थापा अध्यक्ष बन्ने सहमति साउन १ गते भइसकेपछि एकता घोषणा गर्ने तिथि निर्धारण गरिएको थियो । घोषणाअघि राष्ट्रिय अध्यक्ष र अध्यक्षको काम, कर्तव्य र अधिकारसम्बन्धी विषय टुङ्गो लगाउन भएको छलफलमा कमल थापाले सम्पूर्ण अधिकार आफैँ (अध्यक्ष) मा राख्ने र पशुपतिशमशेर राणा (राष्ट्रिय अध्यक्ष) लाई अधिकारविहीन (सेरमनियल) बनाउन प्रस्ताव गरेपछि राणा पक्ष झस्किएको थियो ।

यसैबीच प्रधानमन्त्री प्रचण्डका तर्फबाट लेखिएको एक पत्र पनि राप्रपाको एकीकरणमा बाधक बन्न पुग्यो । प्रधानमन्त्रीले राप्रपाबाट मन्त्री बनाइने दुईजनाको नाम सिफारिस गर्न पत्राचार गरेका थिए । कमल थापाले तत्काल दुईजनाको मात्र नाम नपठाएर एकीकरणपछि पाँचजनाको नाम एकैपटक पठाउनुपर्छ भनी अडान लिए । राप्रपाले विक्रम पाण्डे र दीपक बोहोराको नाम पठाउने निर्णय गरिसकेको अवस्थामा कमल थापाले एकता घोषणापछि आफ्ना भाइ गणेश थापा, दिलनाथ गिरी र सुशील श्रेष्ठसमेतको नाम राखेर सिफारिस गरिनुपर्ने प्रस्ताव राखेका थिए ।

तर, पशुपतिशमशेर पक्ष कमल थापाको यस्तो प्रस्तावसँग सहमत हुन सकेन । आफूलाई अधिकारविहीन बनाउन खोजेको र कमल थापाले आफ्नो भाइलाई समेत मन्त्री बनाउन चाहेको स्पष्ट भएपछि पशुपतिशमशेर राणाले एकता घोषणासभामा सहभागी नहुने निर्णय गत सोमबार नै गरेका थिए । सोही दिन कमल थापाले आयोजना गरेको आफ्नोतर्फको कार्य सम्पादन समितिको बैठकमा थापाले पशुपतिशमशेर, दीपक बोहोरा र सुनिल थापाको बारेमा गरेको नकारात्मक टिप्पणीले पनि राणालाई भड्काएको बताइन्छ । प्राप्त जानकारीअनुसार थापाले पशुपतिशमशेरलाई नालायक, दीपक बोहोरालाई आपराधिक प्रवृत्तिको र सुनिल थापालाई विदेशीको एजेन्ट भन्दै ‘त्यस्ता’हरूसँगको सहकार्य कठिन हुने टिप्पणी गरेका थिए ।