सत्ताबिना बाँच्नै नसक्ने नेताको विशेषण पाएका विजयकुमार गच्छदार र कमल थापालाई अब नेपालीले तत्काल मन्त्रीको रूपमा हेर्नु नपर्ने भएको छ । माओवादीले ओली सरकार छोड्ने निर्णय गरेकै भोलिपल्ट बिहान आठ बजे विजयकुमार गच्छदारले प्रचण्डलाई भेटी ‘आफूलाई पनि साथै लिएर हिँड्न’ अनुनयविनय गरेका थिए । तर, प्रचण्डले गच्छदारले अनुनयविनय सुनेनन् । गच्छदारले तात्कालिक प्रधानमन्त्री खड्गप्रसाद ओलीसँग चाहिँ सत्तामा नगए आफ्नो पार्टी फुट्ने सम्भावना भएको बताउँदै सरकार छोड्न अनुमति मागेका थिए र ओलीले अनुमति दिएपछि मात्र उनले सरकार छोडेका हुन् ।
तर, नयाँ गठबन्धनले गच्छदारलाई मन्त्रिमण्डलमा सामेल गर्न चाहेन । गच्छदारलाई कुनै हालतमा पनि मन्त्री नबनाउन गठबन्धनका नेताहरूमाथि दबाब पर्दै आएको थियो । बरु अब गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक विभाजित हुने भएको छ । जितेन्द्र देव र वकिल मुसलमानलगायतका नेताहरूले गच्छदारको सत्तामुखी र हैकमवादी प्रवृत्तिविरुद्ध लड्दै आएकोमा अब उनीहरूको पक्षमा आवश्यक मत पुग्ने बुझिएको छ । कम्तीमा चालीस प्रतिशत सांसद संख्या पुगिसकेकोले फोरम लोकतान्त्रिक विभाजित हुने निश्चित भएको छ । चौध संसद् सदस्य रहेको फोरम लोकतान्त्रिक कम्तीमा ६ सांसदहरू एकजुट भइसकेका छन् । सकेसम्म दुईतिहाई बहुमत पुर्याएर विजय गच्छदारलाई नै पार्टीबाट किनारा लगाउने प्रयास भइरहेकोले चालीस प्रतिशत पुर्याएर अलग पार्टी गठन गर्ने योजना केही पछि सरेको हो । बहुलवादमा आधारित संसदीय प्रजातन्त्रकालको दश वर्षमा आठ वर्ष मन्त्री भएर बिताएका र २०६३ को परिवर्तनपश्चात् पनि अधिकांश समय मन्त्रीका रूपमा बिताएका गच्छदार सत्ताबिना अब कसरी बाँच्ने हुन् जिज्ञाशाको विषय बनेको छ ।
विजय गच्छदारलाई झैं कमल थापालाई पनि पदलोलुप व्यक्तिका रूपमा लिइन्छ र थापालाई नयाँ गठबन्धन सरकारमा सामेल गरिनुहुन्न भन्ने दबाब गठबन्धनका नेताहरूमाथि परिरहेको थियो । राप्रपाको एकता प्रयास असफल भएपछि कमल थापाको तत्काल सत्तामा जाने बाटो बन्द भएको छ । नेपालका सबैभन्दा चालू सत्तामुखीहरूलाई सत्तामा अंशियार नबनाइनुलाई सर्वत्र सकारात्मक रूपमा लिइएको छ । एक सूत्रका अनुसार राप्रपा नेपालभित्र पनि कमल थापाविरुद्ध केही सांसद सङ्गठित हुने प्रयास गर्दै छन् । हाल सातजना सांसद थापाविरुद्ध भए पनि एघार सांसद सङ्ख्या पुगेपछि मात्र उनीहरू खुल्ने भएका छन् । राप्रपा नेपाललाई विभाजन गराउन विभिन्न शक्तिकेन्द्रहरू सक्रिय भइसकेको बुझिएको छ ।

प्रतिक्रिया