
– महेन्द्र पाण्डेय
केपी सरकारमा पुगेको छिमेकी राष्ट्रलाई सत्तोसराप गर्न नभई ठूलो बलिदानीबाट प्राप्त संविधानलाई कार्यान्वयन गराउनका लागि थियो । तर, राष्ट्रले सुम्पिएको जिम्मेवारीलाई बेवास्ता गर्दै केपीले तुक्का र सपना बाँडेरै नौ महिना गुजारे । भ्रष्टाचारी र कालाबजारीयाले देशलाई खोक्रो बनाउँदै गरेको बुझ पचाएर केपी ओलीले मध्यरातमा बैठक बोलाई औषधिका कालाबजारीयालाई सुनपानी छर्कने कोसिस गरे ।
राजनीतिकर्मीको अकर्मण्यताका कारण देश आईसीयूमा पुग्ने स्थितिमा छ । अनेक वहानाबाजी गर्दै कुर्सीलाई राष्ट्रप्रेमको जलप लगाएर हौवा मच्चाएका निवर्तमान प्रधानमन्त्री केपी ओलीहरूका कारण नौ महिनामा जनताको दैनिकी थप कष्टकर बन्दै गएको थियो । तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले ल्याएको बजेटपश्चात् जनतालाई आवश्यक पर्ने खाद्यान्नको मूल्य आकासिएको प्रत्यक्ष अनुभव गरियो । व्यक्तिको हिरो बन्ने सपनाले मुलुक छियाछिया परेको छ, तर हामी टुलुटुलु हेरेर बस्नुबाहेक केही गर्न सकिरहेका छैनौँ ।
वास्तवमै पूर्वसरकारले ल्याएको बजेट एकाघरका दुई बुहारीको चालझैँ भएको छ । एउटी बुहारीले घर रित्तिए रित्तियोस्, तर समाज र वरपरका मान्छेलाई खुवाइपियाइ गरेर आफू ‘असल’ बन्न खोज्छिन् भने अर्की बुहारीचाहिँ इष्टमित्रलाई दु:खमा साथ दिनुपर्छ, घरको सन्दुक बलियो र चाहिएको बेला निकाल्न सक्नुपर्छ भन्ने मान्यता राख्छिन् । एमाले नेतृत्वको सरकारले ल्याएको बजेट पनि त्यही हो । काङ्ग्रेसले देशको ढुकुटीलाई बलियो पारियो भने देश बलियो हुन्छ भन्दै थुपारेको रकमलाई एमाले नेतृत्वको सरकारले देश कङ्गाल भए होस्, तर आफ्नो पार्टीलाई लोकप्रिय बनाउन देशको ढुकुटी रित्याएर पनि कनिके बजेट ल्याएरै छोडिन्छ भनेजस्तो गरी बजेट प्रस्तुत गर्यो । कर्मचारीको तलब वृद्धिले उनीहरूको मुहारमा खुसी ल्याए पनि बजेटपछिको महँगीले आमनागरिकको ढाड सेकिएको छ । यति हुँदा पनि सोझा नेपाली जनता आफूलाई ‘राष्ट्रप्रेमी नागरिक’ सम्झेर चित्त बुझाइरहेका छन् । वास्तवमा भन्ने हो भने राष्ट्र कहिल्यै बिरामी हुँदैन र रोगले छटपटाउँदैन पनि । देशलाई सञ्चालन गर्ने ड्राइभरहरूको नालायकीपन र रुग्न मानसिकताले गर्दा हामीले कष्ट भोग्नुपरेको छ ।
०४६ सालको परिवर्तनपश्चात् १३ वर्षमै हाम्रा ‘राजनेता’ भनाउँदाको नालाकीपनले प्रजातन्त्र खोसुवामा परेको थियो । नेपालीजनले ऐतिहासिक एकता प्रदर्शन गर्दै निरङ्कुशतालाई घुँडा टेकाउन सफल भए । तर, दुर्भाग्यपूर्ण मान्नुपर्छ कि गणतन्त्रसम्म स्थापित गर्न सफल नेपाली जनताले पुराना सोच र चिन्तन बोकेका नेतालाई विस्थापित गरी २१औँ शताब्दीअनुसार देश हाँक्न सक्ने नेता स्थापित गर्न सकेनौँ । हाम्रो हजुरिया प्रवृत्ति या प्रथाले गर्दा आज देश यो स्थितिमा पुगेको हो । हाम्रो आफ्नै नालायकीपनले गर्दा भावी पुस्ताको भविष्य नै अन्धकारतर्फ धकेलिदिएका छौँ भन्न हिच्किचाउनुपर्दैन ।
राष्ट्र आफँै बोल्दैन र विकास पनि आफैँ हुँदैन भन्ने तथ्य बुझेका हामी बुझपचाएर अनेक बहानाबाजी गरिरहेका छौँ । इतिहासमा कहिलेकाहीँ यस्तो संयोग आउँछ कि एउटा देशभक्त नेता नायक बन्दै गर्दा राष्ट्रको समेत समृद्धिको बाटो खुल्छ । जस्तै चीनमा देङ सियाओ पेङको उदय मुलुक समृद्धिको संयोग बन्न पुग्यो । जसरी एउटा व्यक्तिको इमानदारी, राष्ट्रभक्ति र सफलताले सिङ्गै मुलुक सफल र समृद्ध हुन्छ, त्यसैगरी एक व्यक्तिको अहमता र असफलताका कारण देशैले दु:ख पाउनुपर्ने स्थिति आउँदो रहेछ । अन्धराष्ट्रवाद पस्किएर कोकोहोलो मच्चाएका ओलीका कारण मुलुकले निकै कष्ट व्यहोर्नुपरेको कतै छिपेको छैन ।
जीवनभर भारतको स्तुति गाएर राजनीतिको सिँढी उक्लिएका ओलीको नक्कली राष्ट्रवादबारे सर्वसाधारण जानिफकार नभए पनि सचेत तप्काले राम्रैसँग बुझेका छन् । केपी सरकारमा पुगेको छिमेकी राष्ट्रलाई सत्तोसराप गर्न नभई ठूलो बलिदानीबाट प्राप्त संविधानलाई कार्यान्वयन गराउनका लागि थियो । तर, राष्ट्रले सुम्पिएको जिम्मेवारीलाई बेवास्ता गर्दै केपीले तुक्का र सपना बाँडेरै नौ महिना गुजारे । भ्रष्टाचारी र कालाबजारीयाले देशलाई खोक्रो बनाउँदै गरेको बुझ पचाएर केपी ओलीले मध्यरातमा बैठक बोलाई औषधिका कालाबजारीयालाई सुनपानी छर्कने कोसिस गरे । काठमाडौं प्रहरी प्रमुख एसएसपी विक्रमसिंह थापाले आफ्नो कर्तव्य सम्झँदै तीन करोड नेपालीको स्वास्थ्यसँग सरोकार राख्ने औषधिको कालाबजारीलाई कानुनी कारबाहीमा तान्न खोज्दा ‘हावादारी’ ओलीले शनिबारको मध्यरातमा बैठक राखेर थुनामा रहेका मान्छेलाई छोड्न दिएको निर्देशन कुन राष्ट्रवादमा पर्छ ? पङ्क्तिकारले बुझ्न सकेको छैन । औषधिजस्तो महत्त्वपूर्ण वस्तुलाई कानुन फेरेरै कालाबजारीयालाई मलजल गर्ने ओलीले बालुवाटार छाड्ने दिन पीपलको बिरुवा सारेर हिँड्नुको अर्थ कतै ती कुकर्म पखाल्नका लागि त होइन ?
ओलीलाई विस्थापित गर्दै प्रचण्डको नेतृत्वमा नयाँ सरकार गठन भएको छ । यो सरकार पनि सिंहदरबारमा फोटो झुन्ड्याउने कामको मात्र नहोस् भन्ने चाहना आमनेपालीको छ । कसैको नक्कली राष्ट्रवादको नारालाई ताली बजाउँदै अघि बढ्न चाहँदैन नेपाली । समीकरणको नाममा देशको ढुकुटी रित्याउन जसरी ६ जना उपप्रधानमन्त्री राखेर मन्त्रालय फुटाउने काम भयो, अबको सरकारले त्यस्तो गल्ती नगरोस् भन्ने कामना पनि तमाम नेपालीजन गरिरहेका छन् । समस्यालाई वस्तुगत ढङ्गबाट विश्लेषण नगरेकै कारण समाधानको बाटो ननिस्किएको ध्रुवसत्यलाई नयाँ सरकारले बुझ्न जरुरी छ ।
बहुतै कठिन तरिकाले बनाएको संविधान पनि हामीले स्वीकार्य बनाउन सकेनौँ । मधेसवादी दलले बनेकै दिनबाट नमानेको संविधान कुनै पनि दलभित्र सर्वस्वीकार्य हुन सकेन । प्रचण्डबाट छुट्टिएका वैद्य र विप्लव पनि यो संविधानको खिलाफमा छन् । अस्तिसम्म सरकार चलाएका केपी ओलीले सङ्घीयतातर्फ इङ्गित गर्दै बाख्रालाई भैंसीको सिङ बोकाएर थेग्न नसक्ने तर्क दिइरहेका छन् । उनकै सरकारमा रहेका दुई उपप्रधानमन्त्री कमल थापाले धर्मनिरपेक्षताको र चित्रबहादुर केसीले सङ्घीयताको विरोध गरिरहेका छन् । काङ्ग्रेसका महामन्त्री शशांक कोइराला, खुमबहादुर खड्का, डा. शेखर कोइराला पनि संविधानमा हिन्दूराष्ट्र कायम राख्नुपर्ने लबिङमा छन् । लिम्बुवानदेखि खुम्बुवान सबै केही न केही खोट लगाएर यो संविधान कार्यान्वयन हुन नदिने लाइनमा छन् । चारैतिर समस्या नै समस्याको अग्लो पर्खाल रहेको बेला काङ्ग्रेसको सहयोगमा बनेको सरकारले ती समस्यालाई छिचोल्न सक्छ–सक्दैन, चिन्ताको विषय बनेको छ । प्रचण्ड समस्यासँग जुध्न सक्ने मान्छे भन्ने हो भने आफ्नै नेतृत्वमा बनेको पहिलो सरकारबाट भागेका व्यक्ति हुन । आफैँले खडा गरेको समस्यालाई समाधान नगरी भाग्ने प्रचण्डलाई अब कसरी बलवान् छन् भनेर व्याख्या गर्ने ? प्रचण्डलाई नायक बन्ने मौका पनि यतिखेर नभएको होइन, तर विगतलाई हेर्दा कतै यिनी नेपाली राजनीतिका खलनायक बन्ने त होइनन् भन्ने प्रश्न पनि खडा भएको छ । प्रचण्डको असक्षमताका कारण उनी मात्रै समाप्त नहुने भएकाले काङ्ग्रेसले आजसम्म जोगाएको राजनीतिक साखलाई कायम गर्न शेरबहादुर देउवाको भूमिका पनि ज्यादै महत्त्वपूर्ण देखिन्छ ।
यतिखेर व्यक्तिको असक्षमता र हारको कुरा होइन, व्यक्तिले हार्दा देश र लोकतन्त्रको हार हुने भएकोले अहम्ताबिना सबै दल र व्यक्तिलाई विश्वासमा लिएर सहमतिसाथ अघि बढ्ने हो भने भाइरसबाट सङ्क्रमित राजनीतिको उपचार होला, अन्यथा जुन जोगी आए पनि कानै चिरेको भनेर चित्त बुझाउनेबाहेक अरू केही बाँकी रहने छैन ।
प्रतिक्रिया