
■ विनोद नेपाल
प्रधानमन्त्री दाहालले आफूलाई कसैले गतिशील र कसैले अस्थिर भन्ने गरेको भदै अनुभवको अभावमा आफूले विगतमा गल्ती पनि गरेको र कमी–कमजोरी भएको स्वीकार गरेका छन् । यसले उनमा परिपक्वता आएको महसुस गर्न सकिन्छ । यथार्थलाई यसरी स्वीकार गर्ने र दम्भ, घमण्ड र चौतर्फी आक्रमणको विगतकै प्रवृत्ति नदेखाई जिम्मेवार र सन्तुलित ढङ्गमा प्रस्तुत भए भने पक्कै पनि राम्रा काम असम्भव छैनन् । गठबन्धनलाई टिकाउन साझा कार्यक्रम ल्याउने र त्यसैभित्र रही योजनाबद्ध ढङ्गमा अघि बढ्दा मुलुक र जनताको हित तथा सत्तारुढ र अन्य दलहरूप्रतिको आमधारणामा समेत परिवर्तन आउने भएकाले पनि त्यो उदाहरण बन्ने प्रयासमा यो अवसरको सदुपयोग गर्नु उचित हुनेछ । यसपटक राम्रै काम गरेर देखाउने दाहालको रहर बुझिन्छ, जहर नहोस् दाहालको रहर !
भनिन्छ, ‘भाग्यमा भए डोकोमा पनि दूध अडिन्छ ।’ यसै भयो माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको हकमा पनि । तेस्रो ठूलो दलको रूपमा व्यवस्थापिका–संसद्मा रहेको दलका नेता दाहालले फेरि प्रधानमन्त्री हुने अवसर पाए । दाहाल आफैँले प्रधानमन्त्रीका लागि प्रस्ताव गरेका नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई सत्ताबाट हटाई आफू स्वयम् प्रधानमन्त्रीको पदमा आसिन हुन पुगेका हुन् । तीन महिनासम्म ‘एकातिर टाल्यो अर्कोतिर उध्रने’ क्रमपछि नयाँ गठबन्धन बनेको र दाहालले दोस्रोपटक मुलुकको प्रधानमन्त्री हुने अवसर पाएका हुन् । आफ्नो जात–भात मिल्ने गठबन्धनबाट बाहिरिएर सिद्धान्त, विचार, मान्यता केही पनि नमिल्ने नेपाली काङ्ग्रेससँग कसरी यो सहकार्यका लागि तारतम्य मिल्यो सबै आश्चर्यमा छन् ।
दाहाल र ओलीबीच भएको भनिएको भद्र सहमति पालन नहुँदा आगामी निर्वाचनसम्म सँगै जाने र काङ्ग्रेसलाई ठेगान लगाउने माओवादी–एमाले तारतम्य तथा उस्तै परे पार्टी नै एकीकरण हुनेसम्मका जुन गफ गरिएका थिए ती सबै खेर मात्र गएनन् व्यक्तिगत रूपमा दाहाल र ओलीबीचको सम्बन्धमा पनि तिक्तता आयो । दाहालको अस्थिर स्वभाव र ढुलमुले चरित्रका कारण गठबन्धन ढलेको एमाले पक्षको भनाइ छ । जे होस्, नेपाली काङ्ग्रेसको प्रस्तावमा ३६३ सांसदको समर्थनमा दाहाल नेपालको ३९औँ प्रधानमन्त्रीको रूपमा बहाल मात्र भएनन् दुईपटक प्रधानमन्त्री हुने कम्युनिस्ट नेताको रूपमा पनि उनले कीर्तिमान राखे ।
दाहालले देश र जनताको नाममा शपथ खाए । सामान्यत: ईश्वरको नाममा शपथ खाने प्रचलन भए पनि पछिल्लो समय आफ्नो इच्छाअनुसार शपथ खाने गरिएको छ । यसैअनुरूप नै उनले जनताको नाममा शपथ खाएका हुन् । तर, शपथ खानु मात्र ठूलो कुरा होइन । देश र जनताप्रति इमानदार र वफादार भएमा मात्र यसरी शपथ खानुको औचित्य रहन्छ । अन्यथा यो केवल देखाउनका लागि मात्र हुन्छ । हामीले अहिलेसम्म देखेको र भोगेको यथार्थ यही हो कि नाम जनताको लिइन्छ, देशलाई देखाइन्छ, तर कामचाहिँ आफ्नो स्वार्थमा हुन्छ । मुलुक र मुलुकवासीको हितका पक्षमा भन्दा पनि व्यक्तिगत रूपमा आफ्नो लाभहानिको हिसाब गर्ने गरिन्छ । जसका नाममा शपथ खाए पनि अन्योल र अस्थिरताले निरन्तरता पाइरहन्छ । हाम्रो विडम्बना नै यही हो । कमसेकम अब यसो नभइदिए हुन्थ्यो ।
निवर्तमान प्रधानमन्त्री ओलीले ६ महिनासम्म एक्लै अगाडि बढ्ने साहस गरे । भाषणका सिपालु उनले साँच्चै केही गर्नै खोजेको आभास दिलाए । खासगरी छिमेकी मुलुक भारतले अघोषित नाकाबन्दी गरेको समयमा मुलुकको प्रमुख कार्यकारीको जिम्मेवारी बहन गरेका उनले भारतसँगको निर्भरता कम गर्न र वैकल्पिक निकासको रूपमा उत्तरी छिमेकी चीनसँग सहज सम्पर्कका लागि प्रयत्न गर्नुका साथै पारवहन सम्झौतासमेत गरे । यसलाई पक्कै पनि उनको कार्यकायलको ठूलो उपलब्धि भन्न सकिन्छ । तर, चीनसँगको निकटता र भारतसँगको दूरीलाई राष्ट्रवादको रूपमा अथ्र्याएर ओलीलाई हालसम्मकै राष्ट्रवादी र भारतसँग टक्कर लिन सक्ने नेता र अरू सबै अराष्ट्रवादी र भारतपरस्त भन्ने जुन खालको हल्ला मच्चाइयो त्यो भने आफैँमा आश्चर्यको विषय हो ।
ओलीले राम्रा काम गर्ने प्रयास पनि गरे । ठूला–ठूला र दीर्घकालीन महत्त्वका योजनाहरू अघि सारे । गठबन्धन सरकारभन्दा पनि एकल बहुमतको सरकारको रूपमा काम गरे, प्रमुख सत्ता साझेदारसँग सरसल्लाह नै नगरी एकपछि अर्को निर्णय लिए र भनेको समयमा सत्ता हस्तान्तरण गरेनन् भन्ने माओवादी केन्द्रको गुनासो रह्यो । यसैको परिणाम उनलाई विश्वास र समर्थन गरेको माओवादीले अविश्वास मात्र होइन आशङ्का पनि गर्न पुग्यो । र अन्तत: उनी राजीनामा दिन बाध्य भए ।
शपथ लिएपछि पत्रकारहरूको जिज्ञासामा दाहालले आफूले चुनौतीपूर्ण अवस्थामा मुलुकको कार्यकारी प्रमुखको रूपमा निर्वाचित भएको भन्दै चुनौतीलाई अवसरमा बदल्ने र नेपाली जनतालाई केही न केही फरक महसुस गर्ने गरी काम गर्ने दृढता व्यक्त गरे । यति मात्र होइन उनले आफ्ना लागि धेरै समय नभएकाले हरेक दिन र हरेक घन्टाको सदुपयोग गरेर मुलुक र जनताको सामु अमिट छाप छोड्ने उदाहरणीय काम गर्ने पनि बताए । दाहालले आफ्नो नेतृत्वको सरकारको प्रमुख प्राथमिकतामा भूकम्पपछिको पुनर्निर्माण, शान्तिप्रक्रियाका बाँकी कामको पूर्णता र संविधानको कार्यान्वयन रहको बताए भने बेरोजगार युवालाई मुलुकभित्रै रोजगारी दिन आफूले केही नयाँ कार्यक्रम अगाडि सार्ने र विदेशमा रहेका युवालाई स्वदेश फर्काउन पहल गर्ने पनि बताए ।
यसैगरी दाहालले आन्तरिक राष्ट्रिय एकताको सुदृढीकरणसँगै नेपालको संविधानलाई अधिकतम् स्वीकार्य बनाउनु सरकारको प्राथमिक कार्यभार रहेको बताउँदै संविधान कार्यान्वयनको सुनिश्चितता अहिलेको आवश्यकता भएको बताएका छन् । जनता र राष्ट्रको पक्षमा काम गर्न तथा मुलुकको विकास र प्रगतिका लागि दलहरूबीच सहकार्य र एकता आवश्यक हुने र त्यसो नभएमा अप्ठ्यारो हुने पनि उनको भनाइ छ । तर, यसका लागि सत्तारुढ दलहरूबीचको सम्बन्ध र एकता आवश्यक हुन्छ भने प्रतिपक्षमा रहेका दलहरूलाई सहमति र सहकार्यका लागि समेट्ने जिम्मेवारी पनि सत्तापक्षकै हुने भएकाले यसका लागि सत्तापक्षको प्रयास अपरिहार्य हुन्छ ।
काङ्ग्रेस–माओवादी गठबन्धनलाई भारतीय इसारामा बनेको विपक्षीको भनाइ छ । कतिपयले यो सत्ताका लागि बनेको गठबन्धन भएको र कुनै पनि बेला भत्कने अनुमान पनि गरेका छन् । एकदमै फरक विचार र सैद्धान्तिक रूपले विपरीत ध्रुवका दलको यो सहकार्य प्रति निश्चय नै आशङ्का छ । काङ्ग्रेस–माओवादी सातबुँदे सहमति भएको र त्यसै आधारमा यो गठबन्धन बनेकोले यदि दलहरू इमानदार भए भने गठबन्धन टिक्ने र राम्रा काम हुन नसक्ने पनि होइन ।
प्रधानमन्त्री दाहालले आफूलाई कसैले गतिशील र कसैले अस्थिर भन्ने गरेको भदै अनुभवको अभावमा आफूले विगतमा गल्ती पनि गरेको र कमी–कमजोरी भएको स्वीकार गरेका छन् । यसले उनमा परिपक्वता आएको महसुस गर्न सकिन्छ । यथार्थलाई यसरी स्वीकार गर्ने र दम्भ, घमण्ड र चौतर्फी आक्रमणको विगतकै प्रवृत्ति नदेखाई जिम्मेवार र सन्तुलित ढङ्गमा प्रस्तुत भए भने पक्कै पनि राम्रा काम असम्भव छैनन् । गठबन्धनलाई टिकाउन साझा कार्यक्रम ल्याउने र त्यसैभित्र रही योजनाबद्ध ढङ्गमा अघि बढ्दा मुलुक र जनताको हित तथा सत्तारुढ र अन्य दलहरूप्रतिको आमधारणामा समेत परिवर्तन आउने भएकाले पनि त्यो उदाहरण बन्ने प्रयासमा यो अवसरको सदुपयोग गर्नु उचित हुनेछ । यसपटक राम्रै काम गरेर देखाउने दाहालको रहर बुझिन्छ, जहर नहोस् दाहालको रहर !
प्रतिक्रिया