खेलकुद हाँक्ने जिम्मा श्रीपालीलाई

खेलकुद हाँक्ने जिम्मा श्रीपालीलाई


sripali Dalajit

युवा तथा खेलकुदमन्त्रीको जिम्मेवारी नेकपा माओवादी केन्द्रका दलजित श्रीपालीले पाएका छन् । नवनियुक्त मन्त्री दलजीत श्रीपालीले गत साता पदवहाली गरेका थिए । पदवहाली गर्नुअघि मन्त्री श्रीपालीलाई राष्ट्रिय खेलकुद परिषद्का निमित्त सदस्यसचिव गंगाबहादुर थापा, खेलकुद मन्त्रालयका सचिव लक्ष्मणप्रसाद मैनाली, सहसचिव चूडामणि पौडेल, राखेप प्रशासन विभाग प्रमुख मधुसुदन बस्नेत, मन्त्रालयका कर्मचारीले स्वागत गरेका थिए । पदवहालीपछि मन्त्री श्रीपालीले सम्बन्धित पक्षबाट मित्रवत् सहयात्राको अपेक्षा गरेको बताउँदै खेलकुद र युवाको क्षेत्रमा सबैको सहयोगबाट नयाँ सन्देश दिने कार्य गर्ने बताए ।

त्यस्तै मन्त्री श्रीपालीलाई नेकपा माओवादी केन्द्रको भ्रातृ सङ्गठन अखिल नेपाल खेलकुद महासङ्घले बधाई तथा शुभकामना दिएको छ । सो कार्यक्रममा केन्द्रका स्थायी कमिटी सदस्य तथा खेलकुद फ्याक्सन इन्चार्ज लीलाबहादुर थापा र खेलकुद विभाग प्रमुख तथा महासङ्घका नेता शिव कोइरालाको उपस्थिति रहेको थियो । कार्यक्रममा थापाले खेलकुद विकासको बाधक ऐन परिवर्तन गर्ने र सबै खेलाडीलाई समान रूपमा अगाडि बढाउने आसय राखेका थिए । त्यस्तै मन्त्री श्रीपालीले महासङ्घसँग सहकार्य गर्दै खेलकुदमा लगाइएका नयाँ तालाहरू तोड्ने बताएका थिए । त्यस्तै राष्ट्रिय खेलकुद परिषद् कर्मचारी सङ्घले मन्त्री श्रीपालीलाई बधाई ज्ञापन गरेको छ । कर्मचारी सङ्घका अध्यक्ष रञ्जन थापाको नेतृत्वमा गएको कर्मचारी सङ्घको टोलीले सिंहदरबारस्थित मन्त्रालयमा मन्त्री श्रीपालीलाई भेटेर मन्त्री नियुक्त भएकोमा बधाई दिँदै कार्यकाल पूर्ण सफलताका लागि शुभकामना दिएका थिए ।