मैत्री धर्मशाला निर्माण आरम्भ

मैत्री धर्मशाला निर्माण आरम्भ


pashupati-dharmshala

शिलान्यास भएको १६ वर्षपछि नेपाल–भारत पशुपति मैत्री धर्मशालाको निर्माणकार्य सुरु भएको छ । तीनतारे होटेलको सुविधा हुने गरी निर्माण गर्न लागिएको धर्मशाला निर्माणका लागि भारत सरकारले २२ करोड सहयोग गरेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । तिलगङ्गा आँखा अस्पतालको दक्षिण–पश्चिम भागको १० रोपनी क्षेत्रफलमा निर्माण हुने धर्मशालामा तीन चोक, तीन तला र ५९ कोठा हुने, चार कोठा विशिष्ट व्यक्तिका लागि बनाइने र धर्मशालामा चार सय तीर्थयात्री बस्न सक्ने बताइएको छ ।

धर्मशाला निर्माणपछि नेपाल–भारतलगायत तेस्रो मुलुकका धार्मिक पर्यटकलाई पनि ‘टुर प्याकेज’मा यात्रा गराउन सकिने कोषका सदस्यसचिव डा. गोविन्द टन्डनले जानकारी दिए । उनका अनुसार धर्मशाला निर्माणपछि नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ भने धर्मशालामा निम्न वर्ग र निम्नमध्यम वर्गका यात्री पनि बस्न सक्ने गरी सहुलियतको व्यवस्था गरिनेछ ।

आगामी ०७४ पुसमा निर्माण सम्पन्न हुने धर्मशालाको ठेक्का रमण/लामा जेभीले पाएको छ । नेपाली शैलीमा निर्माण हुने धर्मशालामा मल्लकालीन रातो इँटा ‘दाचि अपा’को प्रयोग गरिने कोषले जनाएको छ । स्मरणीय छ, ०५८ देखि विभिन्न व्यक्तित्वले चारपटक धर्मशालाको शिलान्यास गरेका थिए, जसमा शङ्कराचार्य जयेन्द्र सरस्वती र तत्कालीन राष्ट्रिय सभाका अध्यक्ष बेनीबहादुर कार्कीलगायत थिए । यसपटक नेपालका लागि भारतीय राजदूत रणजित रायले पनि निर्माणकार्यमा चासो लिइरहनुभएबाट तोकिएको अवधिमा धर्मशाला निर्माण सम्पन्न हुने विश्वास लिइएको छ ।

यसैबीच नेपालले तेस्रो मुलुकसँग आयात–निर्यात गर्न विशाखापटनम बन्दरगाह सहज हुने भएकाले यसमा आइपरेका समस्या समाधान गरिनुपर्नेमा सरोकार पक्षले जोड दिएका छन् । वाणिज्य मन्त्रालयले गत साता आयोजना गरेको छलफल कार्यक्रममा नेपाल र भारतका अधिकारीहरूले यस विषयमा जोड दिएका हुन् । छलफल कार्यक्रममा मुख्यसचिव डा. सोमलाल सुवेदीले आयात–निर्यातमा करको दर बढी भएको, समयमै सामान आयात निर्यात हुन नसक्नेलगायत समस्या देखिएकाले आपसी छलफलद्वारा समस्या समाधान गर्न सकिने विश्वास व्यक्त गरे भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव चन्द्रकुमार घिमिरे, वाणिज्य मन्त्रालयका सचिव ङइन्द्रप्रसाद उपाध्याय, नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष शेखर गोल्छा, नेपाल उद्योग परिसङ्घका अध्यक्ष हरिभक्त शर्मा, भारतीय राजदूतका प्रतिनिधि विनयकुमार, कलकत्ता बन्दरगाहका ट्राफिक व्यवस्थापक गौतम गुप्तालगायतका वक्ताले आयात–निर्यातमा आइपरेको समस्या समाधान गर्न कार्यक्रम सफल हुनेमा जोड दिएका थिए ।

फाउन्डेसनको वेबसाइट सार्वजनिक
26 pr 5
बीपी कोइराला भारत–नेपाल फाउन्डेसन र सूचना पत्रिका सारांशका लागि भारतीय दूतावासले एक वेबसाइट सार्वजनिक गरेको छ । गत शुक्रबार तारागाउँ सङ्ग्रहालयमा आयोजित कार्यक्रममा नेपालका लागि भारतीय राजदूत रनजित रायले बीपी कोइराला फाउन्डेसनको औपचारिक वेबसाइट www.bpkforg.np सार्वजनिक गर्नुभएको हो । फाउन्डेसनअन्तर्गतको सूचना तथा कार्यक्रमहरूबारे यो वेबसाइटबाट जानकारी प्राप्त गर्न सकिने दूतावासले जनाएको छ ।
सो कार्यक्रममा राजदूत रायद्वारा सूचना पत्रिका सारांशको पहिलो अङ्कसमेत सार्वजनिक गरिएको थियो । भारतीय दूतावासका विभिन्न निकायद्वारा गरिएका गतिविधिको जानकारीलगायतका विषय समावेश गरी सारांश द्वि–मासिक प्रकाशित हुने जानकारी राजदूत रायले दिनुभएको थियो । सारांशमा भारतीय दूतावासका गतिविधिसम्बन्धी जानकारी समावेश हुने भएकाले यससम्बन्धी रुचि राख्नेहरूका लागि यो उपयोगी हुने पनि राजदूत रायले बताउनुभयो ।