महासङ्घ भवनमा ‘मेकर स्पेस’

महासङ्घ भवनमा ‘मेकर स्पेस’


US 2

अमेरिकी दूतावासले टेकुस्थित नेपाल उद्योग वाणिज्य महासङ्घको भवनमा दूतावासकै सहयोगमा सञ्चालित इन्नोभेसन हबमा एक नयाँ मेकर स्पेस स्थापना गरेको छ । ‘मेकर स्पेस’ त्यो स्थल हो, जहाँ स्रोत र ज्ञान साटासाट गर्नका लागि मानिस भेला हुन्छन् र जसले अनौपचारिक तथा सिर्जनशील वातावरणमा व्यावहारिक सिकाइलाई बढावा दिन्छ ।

अमेरिकी दूतावासले प्रविधिकेन्द्रित स्थान प्रदान गरी उद्यमशीलतालाई प्रोत्साहन गर्न मेकर स्पेसको स्थापना गरेको जनाएको छ । यहाँ नेपाली युवा प्रवर्तक र उद्यमीहरूले सिर्जनशीलताको संस्कारको खोजीनिती र विकास गर्नुका साथै अनौपचारिक वातावरणमा एक–अर्काबाट सिक्न सक्छन् । थ्री डी प्रिन्टर र लेजर कटरलगायतको प्रविधियुक्त उक्त स्थानले उद्यमीहरूलाई नयाँ उत्पादन डिजाइन र निर्माण गर्ने अवसर प्रदान गर्ने विश्वास दूतावासले लिएको छ ।
अमेरिकी विदेश मन्त्रालयस्थित अन्तर्राष्ट्रिय सूचना कार्यक्रम (आईआईपी)सम्बन्धी ब्युरोका संयोजक मेकन फिलिप्स भन्छन्, ‘विश्वभरका हाम्रा अमेरिकन स्पेसहरूमा मेकर स्पेसहरू गतिशील नवसदस्य हुन् । यस स्पेसले नेपाली विद्यार्थी, उद्यमी र नागरिकहरूलाई लगभग सबै कुरा डिजाइन, निर्माण र उत्पादन गर्नका लागि आधुनिक औजारहरूमा पहुँच दिलाउनेछ, हाम्रो मेकर स्पेस प्रयोग गरेर नेपालबाट धेरै युवा उद्यमी उदाएको देख्न पाउनेछौँ भन्ने हामीलाई आशा छ ।’

राजधानीको टेकुस्थित इन्नोभेसन हब अमेरिकन स्पेसले नेपालीलाई वस्तुगत सूचनामा नि:शुल्क पहुँच दिलाउनुका साथै उद्यमीका लागि यो भेटघाट गर्ने र व्यवसायसम्बन्धी आफ्ना नयाँ विचारहरूमा काम गर्ने स्थान पनि हो । नेपालमा रहेका आठमध्ये ६ वटा अमेरिकन स्पेसहरू राजधानीबाहिर अवस्थित छन् र तिनले स्थानीय बासिन्दालाई अमेरिकी संस्कृति तथा आदर्शसँग परिचित गराउने स्थलको रूपमा काम गरेका छन् ।