लोनियाको हत्याले सुस्तामा हलचल

लोनियाको हत्याले सुस्तामा हलचल


बुटवल/ नवलपरासी सुस्तामा बसोबास गर्दै आएका एक व्यक्तिको रहस्यमय ढङ्गबाट भारतीय भूमिमा हत्या भएको छ । सुस्तामा बसोबास गर्दै आएका १८ वर्षीय प्रभु लोनियाको गत असार १४ गते भारत बिहारको नौरंगिया जङ्गलमा रहस्यमय ढङ्गबाट हत्या भएको सुस्ता प्रहरीले जानकारी दिएको छ ।
भारतभूमिमा लोनियाको रहस्यमय हत्यापछि बिहार पुलिसले हत्याको आरोपमा सुस्ताका १९ व्यक्तिको नाममा वारेन्ट जारी गर्दै भारतभूमि प्रवेश गर्दा उनीहरूलाई गिरफ्तार गर्ने निर्देशन दिइएको बुझिएको छ । सुस्ताका १९ निर्दोष व्यक्तिलाई भारतीय सुरक्षाकर्मीद्वारा वारेन्ट जारी भएपछि सुस्ताका आरोपी व्यक्तिले भारतमा आवतजावत बन्द गरेको सुस्ता बचाउ अभियानका अध्यक्ष गोपालप्रसाद गुरुङले बताए । सुस्तानिवासी लोनिया हत्याको बहाना बनाएर सुस्ताका १९ सर्वसाधारणलाई फसाउने र सुस्ता समस्यालाई जटिल बनाउने प्रपञ्च भारतीय सुरक्षा निकायको रहेको गुरुङको दाबी छ ।

सुस्तामा घर भएका मृतक लोनियाको सुस्तादेखि करिब २५ किलोमिटर दक्षिणतर्फको भारतीय जङ्गलमा कसले, किन हत्या गर्‍यो भन्ने प्रश्न जटिल बन्दै गएको छ । पछिल्लो समय सुस्तामा उत्पन्न अवस्थाबारे जानकारी लिन प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद चौधरीले मृतकका परिवारजन र सुस्तावासीसँग बृहत् छलफल गरेका छन् । उपरीक्षक चौधरीले सुस्तामा नेपाली राष्ट्रियता बलियो बनाउन सबै पक्ष लाग्नुपर्ने बताए । मृतक लोनिया केही समयदेखि अवैध कार्यमा संलग्न रहेको र भारतीय सुरक्षाकर्मीको निम्ति सुराकीको कामसमेत गर्ने गरेको कतिपय स्थानीयको आशङ्का छ । लोनियाकी पत्नी कौशिल्या देवी र बाबु नथुनी लोनियाले गत शुक्रबार प्रहरी पोस्ट सुस्ता पुगी हत्यामा आरोपित व्यक्तिहरू निर्दोष रहेको जिकिर गरेका थिए ।

यस प्रकरणसँगै कहिले अतिक्रमण त कहिले हत्या आरोपको बहाना बनाएर सुस्तावासीको मनोबल गिराउने कार्य भारतीय पक्षबाट हुँदै आएको आक्षेप सुस्तावासीले लगएका छन् । सुस्तादेखि नेपालकै पकलीहवा गाविसको ठाडीघाटसम्म झोलुङ्गे पुल शिलान्यास अन्तिम चरणमा पुगेको अवस्थामा भारतीय पक्षको विरोध गरिएकै कारण शिलान्यास कार्यमा ढिलाइ भएकोसमेत सुस्तावासीले अड्कल काटेका छन् ।

नवलपरासी सुस्ता