नेवि संघको निर्वाचन २९ गते हुने

नेवि संघको निर्वाचन २९ गते हुने


Nepal Student Union

नेपाल विद्यार्थी सङ्घको ११औँ महाधिवेशनअन्तर्गत देखापरेका विवाद समाधानको क्रममा छ । नयाँ नेतृत्वका लागि आगामी २९ गते निर्वाचन हुने भएको छ । सङ्घले बिहिबार नै सबै महाधिवेशन प्रतिनिधिको नामावली सार्वजनिक गरी कार्ड, झोला र अन्य सामग्री वितरण गर्ने जनाएको छ । त्यस्तै, सङ्घको निर्वाचन गर्न पार्टीले गठन गरेको निर्वाचन समितिले बिहिबार दिनभरिमा मतदाता नामावली सूचि तयार गरी प्रकाशन गर्ने भएको छ ।

समितिले भोलि शुक्रबार उम्मेदवारी मनोनयन दर्ता, उम्मेदवारी मनोनयनउपर दाबी विरोध र उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने बताइएको छ । निर्वाचनसम्बन्धी सबै कार्यक्रम पार्टी कार्यालय सानेपामा हुनेछन् भने निर्वाचनचाहिँ यही साउन २९ गते बिहान ७ बजे राष्ट्रिय सभागृहमा गर्ने तयारी भइरहेको छ ।
नेवि सङ्घको महाधिवेशन सम्पन्न गर्न पार्टीले गठन गरेको निर्देशन समितिले विवादित ११ जिल्लाको प्रतिनिधिको मङ्गलबार राति टुङ्गो लगाएको हो । प्रतिनिधिको विवाद मिलेपनि महाधिवेशनस्थल भृकुटीमण्डपको सभाहल बुकिङ सकिएकाले बन्दसत्र कहाँ गर्ने भन्ने बारेमा अन्योलता उत्पन्न भएको बताइन्छ । सङ्घले महाधिवेशन अवधिभर साउन २३ देखि २५ गतेसम्म उक्त सभाहल बुकिङ गरेको थियो ।