
– इन्द्रबहादुर बराल
अग्रगामी राजनीतिको सङ्क्रमणकाल नेपाल र नेपालीका लागि रिक्तता र तिक्ततापूर्ण रहिरहेको अनुभव गरिँदै छ । मुलुकले साँच्चैको काँचुली फेर्ला र जनताले शान्ति र समृद्धिको सास फेर्ने अपेक्षा अझै पूर्ण हुन सकिरहेको छैन । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०७२ जारी गरेसँगै जातीय र क्षेत्रीय दृष्टिकोण विभाजित नेपालीलाई एउटै सूत्रमा बाँध्न सफल नेपालीको चाहनामा अन्धराष्ट्रवादको दम्भले फेरि तुषारापात हुने खतरा विद्यमान देखिन्छ । लगभग पहिलो संविधानसभाको कार्यकाल नेपालीका लागि कालरात्रि नै ठान्नुपर्ने हुन्छ । किन कालरात्रि ठानिएको हो भने उक्त संविधानसभा कार्यकालमा नेपाली समाजलाई जातीय र क्षेत्रीयताको घिनलाग्दो खेलले गाँजेको थियो । तथापि असैद्धान्तिक र अपरिपक्व अति तुच्छ राजनीतिलाई पन्छाउँदै सचेत नेपाली नागरिक बिग्रन–भत्कन लागेको जातीय एवम् क्षेत्रीय सद्भावलाई जोगाउन सफल भएकै हुन् । कतै मधेस एक प्रदेश त कतै मगरात, तमुवान, लिम्बुवान र खुम्बुवान राज्यका अस्वस्थ खेलले समय र राज्यको स्रोतको व्यापक दुरुपयोग हुन पुग्यो । भलै ढिलै भए पनि रुवाण्डा र बुरुण्डीको दर्दनाक पीडा नेपालीले भोग्नुपरेन ।
यसर्थ चाहे मधेसी जनता हुन् वा आदिवासी/जनजाति सबैले अन्तत: खस समुदायले उठाएका उचित र जायज तर्कलाई अङ्गीकार गर्दै जातीयता र क्षेत्रीयताका मुद्दालाई छोडेर अधिकारका विषयमा केन्द्रित भई सामाजिक एवम् क्षेत्रीय सद्भावको गाँठोलाई बलियो बनाउने काम भयो । तर, संविधान जारीपछि निर्माण भएको ओली नेतृत्वको सरकारले चाहे आदिवासी/जनजाति हुन् वा मधेसी जनताले उठाएका आवाजलाई संवैधानिक हिसाबले सम्बोधन गर्न–गराउनभन्दा मधेसी जनतालाई भारतीय चस्माले हेर्न थाल्यो । परिणाम आदिवासी/जनजातिलाई साथमा लिएर मधेसीले काठमाडौं उपत्यकालगायत मुलुकलाई आर्थिक नाकाबन्दीको चपेटामा राख्ने काम भयो । जुन कार्य आफैँमा सर्वस्वीकार्य थिएन र आफ्ना जायज माग पूरा गराउने त्यस्तो विधि र प्रक्रियाको सर्वत्र निन्दा हुन थाल्यो ।
त्यसैको मौका छोपी पूर्वप्रधानमन्त्री ओलीले आफूले विगतमा भारतीय पृष्ठपोषणको आरोप खेपिराखेको अवस्थाबाट महान् राष्ट्रवादी बन्ने अवसरको रूपमा भारतविरोधी देखिने गरी नाकाबन्दीको सामना गरेको देखाउन खोजे । एक हदसम्म त्यस खेलबाट चतुर ओली आफ्नो हात बलियो बनाउन सफल भए । यस पृष्ठभूमिमा मधेसी जनताले देखाएको देशप्रेम र अन्धराष्ट्रवादी दम्भबीचको सूक्ष्म विश्लेषण हुन आवश्यक छ ।
सबै नेपाली बाढी, पहिरो र वर्षाले आक्रान्त भइराखेको बेला हालै सप्तरीको तिलारी गाउँका जनताले देखाएको राष्ट्रप्रेम अनुपम उदाहरणीय बनेको छ । त्यहाँका जनताको साहसी कदम र देशप्रेमको जतिसुकै प्रशंसा गरे पनि कमै हुन्छ । तर, मधेसी जनतालाई भारतीय चस्माले हेर्ने केपी ओलीको राष्ट्रवाद प्रथम विश्वयुद्ध हुनुका कारणमध्येको एक अन्ध र आक्रामक राष्ट्रवाद थियो भनेजस्तै होइन र ? होइन भने सप्तरीको दशगजा क्षेत्रको एकपक्षीय (भारतीय) तटबन्ध निर्माणकार्य रोक्नमा कुन पहाडीया राष्ट्रवादीले टाउको फुटाए वा लाठो–मुङ्ग्रो खाए ? तसर्थ, जब मानिस कुनै लालसामा एकोहोरो रूपले चुर्लुम्म डुब्छ अनि उसले आफूबाहेक अरू कसैलाई योग्य या सक्षम देख्दैन । भारतीय नाकाबन्दीको समयमा लिएको अडानका कारण एकाएक राष्ट्रवादी बन्न पुगेका केपी शर्मा ओलीले त्योभन्दा पहिले गरेको भारतीय ताबेदारीको कालोमैलो पखाल्ने अवसर पनि पाए र त्यस अवसरको भरपूर फाइदा लिँदै राष्ट्रवादी नेता कहलिए । ओली सरकारको प्रमुख घटक माओवादी केन्द्र बाहिरिएपछि त्यही राष्ट्रवादको अस्त्रले सत्तामा टिकिरहने झिनो प्रयत्न नभएको पनि होइन ।
त्यसैक्रममा स्वत:स्फूर्त केही युवा जमातले ओलीमा उनको राष्ट्रवादलाई अन्धो र आक्रामक बनाउन बल पुर्याएको रहेछ कि भन्ने अनुमान गर्न सकिन्छ । जसरी र अन्ध र आक्रामक राष्ट्रवादले प्रथम विश्वयुद्ध निम्त्यायो त्यसरी नै मधेसी जनतालाई अराष्ट्रवाद बनाउने खोजिँदै गर्दा सप्तरी तिलारी घटनाले मधेसी जनता महान् देशभक्ति र राष्ट्रवादी भएको प्रमाण दिँदैन र ? होइन भने देशको सीमा क्षेत्रमा भारतीय पक्षको एकपक्षीय ज्यादतीको प्रतिकारमा ओलीको राष्ट्रवाद कहाँ हराएको थियो, यस जिज्ञासा र कुलकुती मेटिने गरी जवाफ पाइन्छ कि ? तसर्थ व्यवहारमै देशभक्ति र प्रेमको सन्देश दिएका मधेसी जनता राष्ट्रवादी कि भारतीय दलाल ? त्यसको जवाफ स्वघोषित महान् राष्ट्रवादी पूर्वप्रम केपी शर्मा ओलीले दिनुपर्ने कि नपर्ने ? मधेसी जनताको राष्ट्रप्रेम र देशभक्तिमाथि अनुचित आशङ्का र आरोप थुपारेर आफू महान् राष्ट्रवादी बन्ने खोक्रोवाद ढाकछोप कहिलेसम्म हुने हो, त्यो त प्रतीक्षाकै विषय हो ।
सबैलाई थाहा भएकै कुरा हो निर्दलीय पञ्चायत व्यवस्थामा पनि राष्ट्रवादका चर्का नाराहरू घन्किएकै हुन् र स्व. राजा महेन्द्र पनि आफूलाई महान् राष्ट्रवादी भएको दम्भ देखाउँथे । नेपालमा राष्ट्रवादी भनेको भारतविरोध हो भन्ने अर्थमा बुझ्ने गर्दथे । यसै सन्दर्भमा प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाले व्यक्त गरेको विचार मननयोग्य छ । बीपीले भन्नुभएको वाक्यांश यस्तो थियो, ‘नेपाल इज एन एडमिनिस्ट्रेटिभ युनिट नट ए नेसन’ अर्थात् नेपाल एउटा प्रशासनिक इकाइ हो, राष्ट्र होइन ! यसो भनेपछि पञ्च र तत्कालीन कम्युनिस्टहरूले एउटै स्वरमा बीपीलाई घोर अराष्ट्रवादी भन्दै आफू राष्ट्रवादी बन्ने दौडलाई तीव्रता दिएका थिए । तर, बीपीका ती उद्गारलाई शब्दमा मात्र बुझ्नेहरूले सारमा बुझ्ने कुरै भएन ।
निर्दलीय पञ्चायत व्यवस्थामा पनि राष्ट्रवादका चर्का नाराहरू घन्किएकै हुन् र स्व. राजा महेन्द्र पनि आफूलाई महान् राष्ट्रवादी भएको दम्भ देखाउँथे । नेपालमा राष्ट्रवादी भनेको भारतविरोध हो भन्ने अर्थमा बुझ्ने गर्दथे । यसै सन्दर्भमा प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाले व्यक्त गरेको विचार मननयोग्य छ । बीपीले भन्नुभएको वाक्यांश यस्तो थियो, ‘नेपाल इज एन एडमिनिस्ट्रेटिभ युनिट नट ए नेसन’ अर्थात् नेपाल एउटा प्रशासनिक इकाइ हो, राष्ट्र होइन ! यसो भनेपछि पञ्च र तत्कालीन कम्युनिस्टहरूले एउटै स्वरमा बीपीलाई घोर अराष्ट्रवादी भन्दै आफू राष्ट्रवादी बन्ने दौडलाई तीव्रता दिएका थिए । तर, बीपीका ती उद्गारलाई शब्दमा मात्र बुझ्नेहरूले सारमा बुझ्ने कुरै भएन ।
राष्ट्र हुनका लागि चाहिने तत्त्वहरू त्यसबेला अर्थात् पञ्चायतकालीन राष्ट्रवादका हिमायतीहरूले या त बुझेका थिएनन् या बुझपचाएका थिए । भनिराख्नुपर्ने कुरा होइन, पञ्चायत जीवित हुन्जेल फरक मत वा भिन्न विचार राख्नेलाई प्रशासनिक बलमा थिचेर राखिन्थ्यो र मानिसको वाक तथा प्ेरस स्वतन्त्रतामाथि प्रतिबन्ध लगाइएको थियो । जनताका विचारहरू स्वतन्त्र रूपले राख्ने वा बोल्न अधिकार वञ्चित गरिएको थियो । त्यसकारण निर्दलीय पञ्चायती व्यवस्था फरक मतलाई बलपूर्वक दबाएर राखिएकाले पञ्चायतकालीन नेपाल पूर्ण राष्ट्र बनेको थिएन । जहाँ जनताले आफ्नो मौलिक अधिकारको प्रत्याभूति भएको पाउँछन् त्यही राष्ट्र हो, अन्यथा प्रशासनिक दमनको भरमा चलेका देशहरू राष्ट्र हुन सक्दैनन् भन्ने सन्दर्भमा निर्दलीय पञ्चायतलाई ढाल्ने अस्त्रको रूपमा प्रयोग गरिएको वाक्यलाई अन्ध र आक्रामक राष्ट्रवादको आवरणमा आफ्नो निरङ्कुशता टिकाइरहने वा बन्ने गोटी मात्र थियो त्यसबेला । तिनै महेन्द्रकालीन राष्ट्रवादको आवरणमा आफ्नो निरङ्कुशता टिकाइरहने वा बन्ने गोटी मात्र थियो त्यसबेला । तिनै महेन्द्रकालीन राष्ट्रवादको छाया अहिले ओलीमा देखिएको छ । सप्तरीका जनताले देखाएको अभूतपूर्व साहस र वीरताको अगाडि रत्नपार्क र माइतीघरमण्डलामा देखिने स्वत:स्फूर्त ओलीको राष्ट्रवादको भजन गर्नेहरू सप्तरीको तिलाठीमा भारतीय पक्षसँग कुस्ती खेलेको भए वास्तविक राष्ट्रवादको प्रमाण दिन सकिने थियो होला, तर त्यस्तो देख्न–सुन्न पाइएन ।
यस घटना अर्थात् सप्तरीको दशगजा घटनाबाट मधेसी जनताको देशभक्ति वा प्रेमको इमानदारीमाथि भारतीय चस्मा हेर्नेहरूको चस्मा उघारिदिएको छ । अब पनि आफैँ मात्र राष्ट्रवादको आवरणमा सत्तामा टिकिरहने खेल सार्थक हुने देखिँदैन । कुनै एउटा घटनाविशेषलाई मात्र आधार बनाएर राष्ट्रवादको अपव्याख्या गर्नु राष्ट्रवादलाई कमजोर बनाउनु हो । सबै नेपाली आफ्नो राष्ट्रप्रति त्यत्तिकै सजग र सचेत छन्, नेपालीको चेतना अब धेरै परिष्कृत छ, शङ्का गरिरहनुपर्दैन, अनि शङ्काको लाभ लिने तुच्छ खेल छोड्नुपर्छ । भलै सरकार छोड्नुपर्दाको पीडा र छटपटीका अभिव्यक्ति किन नहुन्, सबै नेपालीको साझा र सामूहिक भावनाको समष्टि रूप हो राष्ट्रियता । मधेसी, आदिवासी थारू आदिका असन्तुष्टि यथावत् छन् । त्यसैले राष्ट्रवादका नाममा मधेसीलगायतका असन्तुष्टिलाई संविधानको संशोधनमार्फत सम्बोधन गर्न सकेनौँ भनेर अन्ध र आक्रामक राष्ट्रवादकै शैलीमा प्रस्तुत भइराख्यौँ भने हामीले असल राजनेताको कुरै छोडौँ सामान्य नागरिकको व्यवहार पनि पूरा गरेको ठहर्दैन ।
तसर्थ, चरम राष्ट्रवादको शिखरमा आफूलाई उभ्याउने कोसिसमा लागेका ओलीले अरूलाई राष्ट्रवादीको आँखाले हेर्ने कोसिस गरे अवश्य देख्न सकिन्छ, यहाँ सीके राउत मात्रै छन् भनिठान्नु महाभूल हो भन्ने प्रमाण सप्तरीको तिलाठीमा मधेसी जनताले देखाएको देशप्रेम नै काफी छ । यो सत्यलाई अब हत्केलाले छेकेर छेकिँदैन । त्यसकारण मधेसीको देशप्रेममा शङ्का नगरौँ, अन्ध र आक्रामक राष्ट्रवादको दम्भले मुलुकले खोजेको शान्ति, स्थिरता र आर्थिक समृद्धि सम्भव त छैन नभनौँ, तर धेरै पछाडि धकेलिने निश्चित छ । मधेसलाई भारतीय चस्मा लगाएर नहेरौँ, नेपाली आँखाले हेरौँ । अन्धो र आक्रामक राष्ट्रवादका कारण आन्तरिक राष्ट्रिय एकता र राष्ट्रवादलाई कमजोर बनाउने गरी दम्भ नगरौँ, अन्यथा मुलुकलाई पर्ने दूरगामी प्रतिकूल असरको जवाफदेही अन्धो र आक्रामक राष्ट्रवादका अहंकारी नै हुनेछन् ।
प्रतिक्रिया